२०८० साल कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर भूकम्पका कारण १५४ ले ज्यान गुमाए, जसमा रुकुम पश्चिमका पनि परे। राति सुतेका मानिसले अकालमा ज्यान गुमाए। दुवै जिल्लाका गरी ६० भन्दा बढी बालबालिकाको दुःखद निधन भयो। यस्तै यस्तै खबर सुन्दा सुन्दा मनमा अनेक कुरा खेल्न थालेको थियो। मौका पाएको भए त्यो दुखेको घाउमा मलम लगाउन पाए हुन्थ्यो भन्ने बेला बेलामा मन मनै खेलिरहन्थ्यो। संयोग नै भनौं, नभन्दै साँझको खाना खाने समयमा मलाइ हाम्रो अस्पताल प्रमुखज्यूले रुकुम पश्चिमको भुकम्पले धेरै प्रभावित क्षेत्रमा जान सल्लाह दिनुभयो। त्यसपछि अर्को दिन बिहानै जाने निदो गरियो।
२०७२ को भूकम्पको बेला म फिलिपिन्समा प्रीमेड अध्ययन गर्दै थिएँ। त्यतीबेला धेरै मानविय क्षति गरे पनि मलाई प्रत्यक्ष असर भने गरेन, जति २०८० कात्तिक १७ मा गएको भूकम्पले गरेको थियो। ०७२ सालमा म भर्खर फिलिपिन्स गएको थिएँ, त्यतीबेला मेरो मानस पटलमा पढ्नुपर्छ भन्ने बाहेक केही थिएन। आमा बुवाको सपना थियो छोरा डाक्टर बनेर मात्र फर्कियोस्। त्यही भएर होला सायद त्यतिबेला भुकम्पले त्यति मलाई असर नगरेको। खासैं मन सधैको झै शान्त त थिएन के गरौ कसो गरौ भइहेकै थियो, त्यसैमा अग्रज दाईहरुको सरसल्लामा भुकम्प पिडितहरुको लागि फन्ड जम्मा गर्नुपर्छ भन्ने सल्लाह भयो, पिडामा परेको नेपाललाई केही राहत मिल्छ कि भनेर, काठमाडौंको फन पार्क जस्तै त्यहाँको एउटा पार्कमा गएर फन्ड जम्मा गरेको पनि हिजैँ जस्तो लाग्छ।
जसरी अस्पताल प्रमुखले सल्लाह दिनुभएको थियो, त्यही अनुसार बिहान सायद ८ बजे तिर झोला बोकेर गाडी भएको ठाउँ निर लागेँ। गाडी अस्पतालको गेट निर आइसकेको रहेछ। म आफ्नो झोला बोकेर गाडीमा पसे। म संगै जनस्वास्थ्यका दुई जना स्टाफ पनि जाने रैछन, मलाई थाहा थिएन बल्ल गाडी चढेपछि मात्र थाहा भयो। विस्तारै गाडी हिंड्न थाल्यो। बाटो धेरै टाढा नभएपनि राडिजिउलामा रहेको आठबीसकोट नगरपालिकाको नगर अस्पताल हुँदै फेरि यता घेत्मा जानूपर्ने भएकाले त्यहाँको यात्रा गर्दै घेत्मा स्वास्थ्य चौकी करिब बेलुकाको ५:०० बजे तिर पुगियो। गाडीमा बजेका ति रमाइला रमाइला गित सुन्दै सुन्दर वातावरणको दृष्य हेदै म अर्कै दुनियाको कल्पनामा डुब्न थालेछु। गाडीको गित बन्द भयो गाडी रोकियो अनि म झस्किएँ हामी झर्ने बेला भएछ। म गाडीबाट ओर्लिएँ, ओर्लन के पाको थिएँ मान्छेको भिड भाड कोलाहल हल्लाले मेरो मनमा एक किसिमको डर पैदा भयो। त्यसपछि एक पाइला अघि के सारेको थिएँ एक जना बुवाले मेरो घाटिँ दुखिरहेको छ हेर्दिन आग्रह गर्नुभयो। उहाँ मदिराको तालमा हुनुहुदो रैछ अलि नजिक पुगेर गन्ध आए पछि थाहा पाएँ। यो कुराले मलाई झन सोच्न बाध्य बनाइदियो। किनकी स्वास्थ्य चौकी जस्तो संवेदनशील ठाउँमा यसरी बिरामी रक्सिको तालमा आउँदा भोलि आफ्नो सुरक्षाको पनि डर हुने आशंका लाग्न थाल्यो। भोलि आफैलाई केही परिहाल्यो भने प्रहरी प्रशासन पनि नजिक छैन। यस्तै यस्तै सोच्दै थिए त्यहाँका जनस्वास्थ्य अधिकृतज्यूले बिरामी ओपिडिमा आउनु भाको छ सकिन्छ भने हेर्दिन आग्रह गर्नुभयो। म पनि त्यतिकै बस्न सकिन पुगेको १०/१२ मिनेट मै बिरामी हेर्न थालेँ। त्यो दिन लगभग १२ जना जति बिरामी हेरेँ। बिरामी हेरी चेक जाँच गरेपछि औषधि पनि लेखे तर भनेको जति औषधि स्वास्थ्य चौकीमा नपाउने रहेछ। त्यसपछि म र देव सरले चाहिने औषधिको लिस्ट बनाएर नगर स्वास्थ्य शाखा प्रमुख प्रेम प्रकाश रोकायलाई अनुरोध गरि लिस्ट पनि पठाइयौं। औषधि पनि भनेको भोलि दिउँसो नै आइपुग्यो अनि हामी खुसी भयौं। यति औषधि भएपछि गाउँमा डाक्टर आएको जस्तो हुने भयो नत्र डाक्टर भएर मात्र के नै हुन्छ र?
घेत्मा स्वास्थ्य चौकीमा डाक्टर केही दिन भए पनि त्यहाँ बसेको म पहिलो रहेछु। त्यहाँका जनस्वास्थ्य अधिकृत देव बहादुर चन्द र त्यहाँका केही स्थानीयबाट थाहा पाएँ। यो कुरा सुन्दा खेरि एक किसिमले अनौठो पनि लाग्यो अनि खुसी पनि लाग्यो। अनौठो यो किसिमले लाग्यो की आजसम्म नेपालका कतिपय दुर्गम बस्ती बस्तीहरुमा डाक्टरले पाइला समेत टेकेका छैनन्। अनि खुशी यो कुरामा कि, म पहिलो भएपनि केही दुखेको घाउमा मल्हमपट्टि लगाउन पाएकोमा। स्वास्थ्य चौकीको नयाँ भवन बनेको रैछ तर भुकम्पले गर्दा पुरै चर्केको रहेछ। त्यहाँ सुत्न त के कुरा त्यहाँ जान पनि डर लाग्थ्यो। कर्मचारीको लागि क्वाटर त रैछ त्यो पनि भुकम्पले गर्दा भत्किएको गुनासो जनस्वास्थ्य निरीक्षक ( अधिकृत छैटौं ) देव बहादुर चन्द र अन्य स्टाफहरुले गर्नुभयो। स्वास्थ्य चौकीको अगाडि एउटा सानो किराना पसल रहेछ,त्यही किराना पसलको भुइँमा पहिलो रात देव बहादुर चन्द सरसँग रातीको दुई बजे सम्म बफ गर्दै, दोस्रो र तेस्रो रात घेत्मा स्वास्थ्य चौकीमै कार्यरत सि.अ. हे.व रबिन्द्र केसी सरसँग रातिको एक दुई बजेसम्म गफ गर्दै तीन रात त्यही किराना पसलमा कटाइयो।
जसरी मैले सुरुमा जाँदा जे सोचेको थिए त्यहाँ तीन दिन बसेपछि थाहा भयो कि मैले सोचेको भन्दा फरक रैछ। त्यहाँको वडा कार्यालय त्यही स्वास्थ्य चौकी नजिकै भएर पो मान्छेको भिड लागेको रहेछ। त्यो भिड पनि राहत लिन आएको भिड रहेछ। त्यहाँ बस्दा त्यहाँका सबै कर्मचारीदेखि त्यहाँका बासिन्दा सबै मिलनसार लाग्यो। ठाउँ पनि डाडाँमा भएकोले वरपरको दृश्य देखिने यसले मेरो मन लोभ्यायो। यस्तो रमाइलो वातावरणमा अझैँ बस्न कसलाई मन नहोला र, तैपनि दशैको बिदा समेत नपाएको म तिहारको बेला घरमा दिदिलाई, भाई तिहारमा जसरी नि आउँछ भनेर बचन दिएको थिएँ। त्यो बचन पुरा गर्न टीकाको अघिल्लो दिनको बिहानै फेरि केही समस्या भएमा तुरुन्त आउने प्रतिज्ञा गर्दै घेत्मा स्वास्थ्य चौकीको चार दिनको बसाई पछि घर तिर फर्किएँ।
अन्त्यमा, नेपालको सबै भन्दा दुर्गम मान्दै आएको कर्णाली प्रदेश हो। तर हरेक कुरामा हेर्ने हो भने कर्णाली धनी देखिन्छ। धार्मिक स्थल, पर्यटकीय र जडिबुटीको स्रोत हो कर्णाली। आज त्यहि कर्णाली रोएको छ। अझै मान्छेहरु पालमुनि बसेको र चिसोको कारणले कयौं सुत्केरी महिला ,बृद्धा तथा कलिला मुना जस्ता बालबालिकाहरुले ज्यान गुमाएको खबरले मन कटक्क खान्छ। त्यति मात्र नभई चिसोसँगै विभिन्न अस्पतालहरुमा दमका बिरामी भरिन थालेका छन्। यस्तो अबस्थामा सम्बन्धित निकाय आवश्यक स्वास्थ्य सामाग्री जुटाई समस्याको समाधान तिर चाडैं लाग्नुपर्ने देखिन्छ। अझै भन्ने हो भने कर्णाली प्रदेशका हरेक स्वास्थ्य चौकीमा एउटा मेडिकल अधिकृत हुन आवश्यक देखिन्छ। यो सम्पुर्ण जनताको प्रत्यक्ष स्वास्थ्य सेवा लिने नजिकको प्रथम संस्था हो। जो कोहि टाढाको बाटो डिड्न सक्दैन र आर्थिक अवस्था कमजोर हुन्छ, खर्च बेहोर्न सक्दैन्न अन्त्यमा ज्यान गुमाउनुपर्छ। वृद्ध बा-आमाहरु एक्लै लौरी टेक्दै सकि नसकी ओकाली ओराली गर्दै एउटा प्रेसरको, खोकीको औषधि लिन जिल्ला धाउन बाध्य छन्। सुत्केरी महिला सुत्केरी हुन नसकेर बाटोमा ज्यान गुमाउनु परेको छ। यो जतिको दु:ख मलाई अरु केहि कुरामा लागेको छैन। यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस्।