काठमाडौं- निजी स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको सदस्य बनाउने खोजिएको भन्दै डा गोविन्द केसीले आपत्ति जनाएका छन्। छनोट प्रक्रियामा देखिएको अन्योलप्रति ध्यानाकर्षण जनाउँदै स्वार्थ बाझिने गरी छनोट नगर्न भनेका हुन्।
'सिफारिस समितिले आवेदन दिएका इच्छुकहरुमध्येबाट योग्यतम व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौं उम्मेदवारहरुलाई सर्टलिस्ट गरेको छ । एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । त्यसमा हाम्रो गम्भीर आपत्ति छ,' उनले भनेका छन्।
आफूले बारम्बार चेतावनी दिइरहँदा पनि खुलेआम त्यस्तो सिफारिस भएको बताउँदै सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागवण्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको उल्लेख गरेका छन्।
आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल आफूलाई स्वीकार्य नहुने उनले बताए। 'छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा रहनु हुँदैन र स्वार्थको द्वन्द्व नहुने योग्य उमेदवारहरु मात्रै छनोट गरिनुपर्छ । त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं,' उनको चेतावनी छ।