काठमाडौं- महावीर पुनकी छोरी झरना पुनलाई व्यवस्थापनको कोटामा चिकित्सा पढाउन काठमाडौं मेडिकल कलेजले पत्र लेखेको छ। मेरिट लिस्टमा ६ हजार ५१८ नम्बरमा रहेकी उनलाई एमबीबीएस पढाउने 'विशेष कोटा'का लागि काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई निवेदन दिएको हो।
आफ्नै श्रोत र साधनहरुको जोहो गरी हाल नेपाललाई नै कर्मथलो बनाई विज्ञानका क्षेत्रमा अहोरात्र खटिदै आएका राष्ट्रिय आविस्कार केन्द्रका महाविर पुनका छोरी भएकाले उक्त विशेष व्यवस्थाका लागि आग्रह गेको हो।
चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपालभरीका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेको परिस्थितिले यस काठमाडौं मेडिकल कलेजको ध्यानाकर्षण गरेकाले आफूहरुले पहल गरेको अस्पतालले जनाएको छ।
पत्रमा भनिएको छ, 'उहाँको सम्मानमा काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष माननीय डा. सुनिल कुमार शर्माज्यूको सकृयता र विशेष आग्रहमा यस मेडिकल कलेज (नोवेल मेडिकल कलेजको सहयोग सहित) उहाँको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल मध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्राबास सहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी गराउदै तहाँबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।'
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले मेरिटबाहेकबाट पढ्ने पाउने व्यवस्था कानुनमा नरहेको बताए। उनले भने, 'जोसुकै भएपनि मेरिट भन्दा बाहिर विद्यार्थी भर्ना गर्ने अनुमति हाम्रो कानुनले दिँदैन।'
विगतमा महंगो पैसा तिर्न सक्नेका छोराछोरी मेरिटमा पछि भएपनि एमबीबीएस पढ्न पाउने व्यवस्था थियो। मेडिकल शिक्षामा पैसाको मोलमोलाइको विकृति भित्रिएको भन्दै डा गोविन्द केसी अनशन बसेका थिए। त्यसपछि मेरिटमा मात्रै भर्ना लिनेगरी चिकित्सा शिक्षा आयोग गठनका साथै कानुन बनेको थियो।