अछाम- पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा देशकै नमुना रहेको बताएका छन्। झुलाघाट चिवाभञ्ज्याङ यात्राको अवसरमा अछाम पुगेका ओलीले यस्तो प्रकारको अस्पताल विकास गर्नुपर्ने र यसलाई नमुना मानेर देशका अरु ठाँउमा समेत लागू गर्नुपर्ने बताए।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अछाम पुगेको अवसरमा अस्पतालको अवलोकन भम्रण पश्चातको छलफलमा बोल्दै स्वास्थ्य सेवाको अधिकार कानुनी रुपमा रहेपनि त्यो व्यवहारमा लागू गर्न नसकिएको उल्लेख गरे।
अछाममा रहेको बयालपाटा अस्पतालले मात्रै कानुनी र संबिधानत स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे। सरकारी गैरसरकारी साझेदारीको यसप्रकारको नमुनालाई देशका अरु ठाँउमा लागु गर्न सके कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने उनको भनाई थियो।
न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालबाट र समुदायमा समेत गरी दिएको स्वास्थ्य सेवा असाधारण र अनुसरणिय भएको भन्दै नेता ओलीले यसको अध्ययन गरेर यस प्रकारको मोडालिटी देशभर लागू गर्नुपर्ने बताए।
सकभर कोही बिरामी नपरोस, यदि बिरामी परे पनि बयालपाटा जस्तो अस्पताल देशका हरेक ठाँउमा भए निरोगी नेपाल बनाउन सकिने र त्यस दिशामा बयालपाटा अस्पतालले मात्रै महत्वपूर्ण काम गरेको ओलीको भनाई थियो।