जाजरकोट- शरीर हेर्दा उमेर परिपक्क जस्तो। तर जवाफ सुन्दा ठिक उल्टो। ‘हुन्छ-हुँदैन वा हो-होइन (एस-नो),’ प्रश्नको जवाफ यो भन्दा फरक आउँदैन। मुन्टो भुइँँतिर घोप्टिन्छ। खुट्टाको बुढी औंलाले माटो कोतर्न सुरु हुन्छ।
दुई हातले कम्मरमा च्यापेको सात हप्ते शिशु देख्दा परिपक्क तर जवाफ सुन्दा बालिका नै रहेको भान भएपछि उनीमाथि अर्को प्रश्न तेर्सियो, ‘अनि उमेर चाहिँ कति भयो नि?’
उनको बोली फुटेन, मुन्टो झनै घोप्टियो। के गरौं कसो गरौं भएर होला बच्चा ढाकेको मिलिराखेको बर्को झनै मिलाएझैं गर्छिन्। सायद उनीसँग जवाफ छैन। छेउबाट महिलाको स्वर आयो, ‘जम्मा १५ वर्ष भयो सर।’
‘१५ वर्षकै उमेरमा आमा?,’ अर्को उत्सुकता सहितको प्रतिप्रश्न तेर्सियो।
जवाफ आउँछ, ‘यहाँ त यस्तै हो।’
यी १५ वर्षीया सुत्केरी आमा हुन्, जाजरकोटको नलगाड नगरपालिका–१२, दामचौर घर भएकी सुशीला विक। शिशु च्यापेर उनी भदौ २६ गते नलगाड नगरपालिका–१२ औलगुर्तास्थित भगवती स्वास्थ्य चौकीको प्रसूति केन्द्र पुगेकी थिइन्, जहाँ उनी सात हप्ता पहिला सुत्केरी भएकी थिइन्।
भर्खर सुत्केरी भएकी सुशीलालाई आफ्नो विवाह कहिले भयो ठ्याक्कै यकिन छैन। उनी सम्झिन्छन्, ‘त्यस्तै डेढ वर्षअघि भयो होला।’
सुशीलाको भनाइ अनुसार करिब साढे १३ वर्षको उमेरमा उनले अमर विकसँग भागी विवाह गरेकी थिइन्। ‘उमेर सानै, केही पनि थाहा भएन, पढाइ पनि खासै नार्इं। मन परापर भएपछि भागेर विवाह गरेको हो,’ कक्षा ४ सम्म अध्ययन गरेकी विकले स्वास्थ्य खबरपत्रिकासँग भनिन्।
कलिलैमा आमा बनेकी सुशीलाको अहिले पनि योनीबाट रगत बगिरहने समस्या छ। कमजोर महसुस हुने र शरीर एकै छिनमा गल्ने, दुख्ने समस्या हुने गरेको उनी बताउँछिन्।
सुशीलासँगै एकै दिन भदौ ४ गते सुत्केरी भएकी कलाशा सिंह पनि भर्खर १९ वर्षमा टेक्दिैछिन्। कक्षा ११ को परीक्षा दिएपछि आमा बनेकी कलाशालाई १२ कक्षाको पढाइको चिन्ता छ। अध्ययन गर्दागर्दै सुत्केरी भएपछि अब परीक्षा दिन मात्रै स्कुल जाने उनको योजना छ।
उनी मात्रै होइन, यो बर्थिङ सेन्टरमा बच्चा जन्माएका ८ जनामध्ये पाँच जना त ‘अन्डर एज’ (कम उमेर समूह)का छन्।
एसिसन कोरनेलको आर्थिक सहयोग तथा केयर नेपालद्वारा पहाडी क्षेत्र विकास अभियान जाजरकोटसँगको साझेदारीमा ५५ लाखभन्दा बढी लागतमा निर्माण भएको भगवती बर्थिङ सेन्टर साउन १ गतेदेखि नै सञ्चालनमा आएको छ। जहाँ भदौ २० गतेसम्म ८ जनाले बच्चा जन्माइसकेका छन्। तीमध्ये पाँच जना २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ।
उक्त बर्थिङ सेन्टरको तथ्यांक अनुसार सुशीला विक सहित कलशा सिंह, मीना केसी, दिलमाया परियार र सपना शाहीको उमेर २० वर्षभन्दा कम छ। २० वर्ष पुगेपछि मात्रै विवाह गर्न मिल्ने कानुनी प्रावधान भएकाले छिट्टै बच्चा जन्माउँदा पनि महिलाको उमेर कम्तीमा २१ वर्षको हुनुपर्ने हुन्छ। तर करिब २ महिनाको अवधिमा यो बर्थिङ सेन्टरमा सुत्केरी भएका ८ जना महिलामध्ये ५ जना महिला कम उमेरको रहेको खुलेको छ।
विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।
‘विकट गाउँहरु छन्। शिक्षा पनि राम्रोसँग पाउन सक्ने अवस्था छैन। जनचेतनाको कमी लगायत कारणले होला कम उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या यहाँ धेरै छ,’ रावतले स्वास्थ्य खबरपत्रिकासँग भने।
विशेषगरी दलित समुदायमा कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने समस्या रहेको छ। केटा–केटी मन पराएर आफूखुसी मात्रै नभएर अभिभावककै सल्लाह र योजना अनुसार पनि कम उमेरमा विवाह हुने चलन रहेको रावतले बताए।
कम उमेरमै विवाह गर्ने र आमा बन्ने समस्या डरलाग्दो देखिएपछि स्वास्थ्य खबरपत्रिकाले नलगाड नगरपालिका–१२ का वडाध्यक्ष मोहनबहादुर खत्रीसँग पनि यसबारेमा सोधपुछ गरेको थियो। उनले आफ्नो क्षेत्रमा यो समस्या व्याप्त रहेको स्वीकार्दै अबका दिनहरुमा समस्या समाधान गर्न प्रतिबद्ध रहने बताए।
‘कम उमेरमै विवाह गरेर बच्चा जन्माउने चलन अझै व्याप्त छ। अशिक्षा, जनचेतनाको कमी, गरिबी लगायत समस्याका रुपमा देखिएका छन्। आगामी दिनहरुमा यसलाई रोक्न हरसम्भव प्रयास गर्छाैं। अन्डर एज म्यारिज विरुद्ध हातेमालो गरेर काम गर्न तयार छौं,’ वडाध्यक्ष खत्रीले भने।
समग्रमा घट्यो, अशिक्षितमा बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच–पाँच वर्षमा नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) गर्दै आएको छ। सन् १९९६ गरिएको एनडीएचएसको तथ्यांकअनुसार अहिले तुलना गरेर समग्रमा हेर्दा नेपालमा कम उमेर अर्थात् किशोरावस्थामै गर्भाधारण गर्ने किशोरीकोहरुको संख्या घटेको देखिन्छ।
२० वर्षभन्दा कम उमेर समूहका किशोरीको गर्भाधारण प्रतिशत सन् १९९६ मा २३ दमशलव ९ प्रतिशत थियो। यसको २६ वर्षपछि सन् २०२२ मा घटेर १३ दशमलव ६ प्रतिशतमा झरेको छ। यो २६ वर्षको अवधिमा कम उमेरमै गर्भाधारण गर्ने किशोरीको संख्या १० प्रतिशतले घटेको एनडीएचएसको तथ्यांकले देखाउँछ।
गर्भाधारण भएका महिलाहरुमध्ये किशोरावस्थामा गर्भाधारण गर्ने किशोरीको प्रतिशत सन् २००१ मा २१.४ प्रतिशतमा झरेको थियो। त्यसैगरी सन् २००६ मा १८.५ प्रतिशत, सन् २०११ मा १६.७ प्रतिशतमा झरेको देखिन्छ। सन् २०१६ मा भने सन् २०११ कै यथावत् १६.७ प्रतिशत रहेको छ। सन् २०२२ मा भने १३.६ प्रतिशतमा झरेको छ।
किशोरी अवस्थामै गर्भाधारण गर्नेको संख्या सन् २०२२ सम्म आइपुग्दा १० प्रतिशतले घट्नु सन्तोषजनक तथ्य भए पनि यसको अर्को पक्ष अशिक्षित किशोरीहरु गर्भाधारण हुने प्रतिशत भने उकालो लागेको छ।
सन् १९९६ को एनडीएचएसको तथ्यांक अनुसार १५ देखि १९ वर्ष उमेर समूहका अशिक्षित किशोरी गर्भाधारण हुनेको प्रतिशत ३१ दशमलव ८ थियो। यसको २६ वर्षपछि सन् २०२२ मा यो प्रतिशत घट्नुको साटो झनै बढेको देखिन्छ। ३१ दशमलव ८ प्रतिशतबाट सन् २०२२ मा यो प्रतिशत बढेर ३२ दशमलव ७ मा मा पुगेको छ।
अशिक्षित किशोरीहरु गर्भाधारण हुनेको प्रतिशत ३१.८ बाट सन् २००१ मा ३१.५ पुगेको थियो। यो पाँच वर्षको अवधिमा अशिक्षित किशोरीहरुमा गर्भाधारण हुनेको संख्या एकदमै न्यून मात्रै घटेको थियो।
तर, सन् २००१ बाट सन् २००६ मा आइपुग्दा भने फेरि बढेर ३२.७ प्रतिशत पुगेको थियो। त्यसछि सन् २०११ मा ३१.६, सन् २०१६ मा ३२.६ र सन् २०२२ मा फेरि ३२.७ पुगेको एनडीएचएसको तथ्यांक छ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मात्रै एक आर्थिक वर्षमा १८० जना किशोरी अवस्थामै सुत्केरी भएको तथ्यांक छ। आर्थिक वर्ष २०७९/८० मा १८० जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु सुत्केरी भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखामा लामो समय काम गरेका जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल यो तथ्यांकलाई ‘लो ह्याङगिङ फ्रुट’ अवधारणसँग तुलना गरेर विश्लेषण गर्छन्।
‘लो ह्याङगिङ फ्रुट अर्थात् रुखमा फलेको फल हातले भेटेसम्म टिप्ने, नभेटिने त्यसै छाड्ने जुन प्रचलन छ, त्यही अवधारण अनुसार नै अहिले बालविवाह न्यूनीकरण अभियानको काम भइरहेको छ,’ डोटेलले स्वास्थ्य खबरपत्रिकासँग भने।
अहिले दुर्गम क्षेत्र, अशिक्षित गरिबहरुसम्म यो कार्यक्रम पुग्न सकेको छैन। शिक्षित र सुगमका क्षेत्रहरुमा मात्रै फोकस भएर काम गर्दा गरिब, दलित, तथा दुर्गम क्षेत्रहरुमा बालविवाहको दर घट्न नसकेको उनको बुझाइ छ।
बालविवाहको कुरा स्वास्थ्यसँग मात्रै नजोडिएर सामाजिक पनि भएकाले स्कुल, शिक्षक, घरपरिवार, समाजको भूमिका मुख्य हुने हुँदा त्यसमा फोकस भएर काम गरे मात्रै न्यूनीकरण गर्न सकिने सुझाव डोटेलले दिए।
अर्कोतर्फ, एनडीएचएसको तथ्यांकलाई हेर्दा दलित समुदायमा बढेको देखिन्छ। त्यसको कारणमध्ये एउटा उमेर हद हो। पहिला कम उमेर अर्थात् १८ वर्षमै विवाह गर्न सकिने कानुनी प्रावधान थियो भने अहिले कम्तीमा पनि २० वर्ष उमेर बढाइएको छ। बालविवाहबारे काउन्सिलिङ राम्रोसँग नहुने र विवाहको उमेर हद भने २० वर्ष पुगेपछि बनाइएको तथ्यांक बढेको देखिनु स्वभाविक हो।
मुस्लिम र दलितमा बढी समस्या
जातीय क्लस्टर अनुसार भने किशोरी अवस्थामै गर्भाधारण हुने समस्या विशेषगरी मुस्लिम र दलित समुदायमा बढी रहेको देखिन्छ भने सबैभन्दा कम क्षेत्री–बाहुनमा देखिन्छ। एनडीएचएसको सन् २०२२ को तथ्यांक अनुसार १९ वर्षभन्दा कम उमेरमै गर्भाधारण भएकामध्ये २२ प्रतिशत मुस्लिम समुदायका किशोरीहरु छन्।
कम उमेरमै विवाह गर्दा दाइजो कम दिनुपर्ने जस्ता कारण यो समुदायमा कम उमेरमै विवाह गर्ने चलन बढी रहेको केयर नेपालकी कन्ट्री डाइरेक्टर मोना शेर्पाको बुझाइ छ।
मुस्लिम समुदायपछि सबैभन्दा बढी कम उमेरमै विवाह गर्नेमा दलितहरु पर्छन्। कम उमेरमै विवाह गरेकामध्ये २०.७ प्रशित किशोरीहरु दलित रहेको पाइएको छ। यो समुदायका किशोर–किशोरीले चाँडै विवाह गर्नुको मुख्य कारण भने गरिबी र अशिक्षा जोडिएको छ।
त्यसपछि मधेसी समुदायमा १३.५ प्रतिशतले कम उमेरमा विवाह गरेको पाइएको छ। जनजातिमा १२.९ र क्षेत्री–बाहुनमा भने ७.८ प्रतिशतले कम उमेरमा विवाह गरेको एनडीएचएसको तथ्यांक छ।
‘कम उमेरमै गर्भाधारण’ बारेमा स्थलगत रिपोर्टिङ गर्न स्वास्थ्य खबरपत्रिका टिम जाजरकोटको नलगाड नगरपालिका पुगेको थियो। नलगाड नगरपालिका–१ अनापानी बर्थिङ सेन्टरमा २ जना र वडा नम्बर १२ को भगवती बर्थिङ सेन्टरमा ८ जना गरी पछिल्लो २ महिनामा १० जना सुत्केरी भएका थिए।
तीमध्ये ३ जना मात्रै २० वर्षभन्दा बढी उमेरका थिए। बाँकी ७ जना २० वर्षभन्दा कम उमेरका थिए। कम उमेरमै बच्चा जन्माएका ७ जनामध्ये ४ जना दलित समुदायका किशोरी थिए।
किन कम उमेरमै विवाह गर्नुभयो भन्ने प्रश्न गर्दा प्रायःजसोको एउटै जवाफ थियो– यहाँको चलन नै यस्तै हो। घरपरिवारकै सल्लाह तथा योजनामा बालविवाह हुने तथा कतिपय अवस्थामा भने केटा–केटी मन पराएर आफूखुसी कलिलैमा विवाह गर्ने चलन रहेको उनीहरुको भनाइ थियो।
कानुनमा अपराध, जनप्रतिनिधिको रोहवरमै बालविवाह
संविधानले बालविवाहलाई निषेध गरेको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ११ मा विवाह सम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ। दफा १७३ मा बालविवाह गर्न नहुने उल्लेख छ। बालविवाहलाई फौजदारी अपराधको रुपमा लिइन्छ।
अपराध संहिताको दफा १७३ को (१) मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नमिल्ने उल्लेख गरिएको छ।
‘२० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन,’ ऐनमा उल्लेख गरिएको छ। ऐनमा उल्लेखित प्रावधान विपरीत भएको विवाह स्वतः बदर हुने भनिएको छ। त्यस बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था समेत उल्लेख गरिएको छ।
मुलुकी अपराध संहिता अनुसार बालविवाह फौजदारी अपराध मानिए पनि कर्णाली प्रदेशका विकट जिल्लाहरुमा भने खुल्लमखुला जनप्रतिनिधिकै रोहबरमा बालविवाह हुँदै आएको छ।
आफ्नै वडामा भएका बालविवाहका हरेकजसो घटनामा जनप्रतिनिधि जानकार छन्। बालविवाह भएको वा हुन लागेको भन्ने जानकारी हुँदा समेत जनप्रतिनिधिले त्यस्ता घटनालाई रोक्न सकेको देखिँदैन।
बर्थिङ सेन्टर उद्घाटनको अतिथि बनेकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहले भने आफू बालविवाहको विरुद्धमा कटिबद्ध भएर लागेको दाबी गरिन्। ‘हामीले बालविवाह गर्नु हुँदैन भनेर सम्झाइरहेका छौं। तर पनि समस्या समाधान भएको छैन। केही समयअघि कम उमेरमै मन पराएर विवाह गर्न लागेका केटाकेटीलाई प्रहरी कार्यालयमा लगेर हामीले सम्झाएर अभिभावकको जिम्मा लगाएका थियौं,’ उपमेयर सिंहले भनिन्।
उनले एउटा घटनामा सम्झाएर पठाएको बताए पनि सरकारी आँकडाले भने बालविवाह हुने क्रम जारी रहेको देखिएको छ। कानुनी रुपमा बालविवाहलाई अपराध मानिए पनि त्यस्तो विवाह बदर भएको र विवाह गराउने व्यक्ति कानुनी दायरामा आएर जेल गएको घटना भने अपवादको रुपमा मात्रै रहेको छ।
बालविवाहलाई फौजदारी अपराधको रुपमा लिएपछि यसलाई कार्यान्वयन गर्ने मुख्य जिम्मा प्रहरीकै हो। कर्णाली प्रदेश प्रहरी कार्यालय पनि बालविवाहको विरुद्धमा अग्रसर भएर काम गरिरहेको यस प्रदेशका प्रमुख तथा डीआईजी भीम ढकाल बताउँछन्।
‘हामीले अहिले कर्णाली प्रदेशमा घरघरमा स्टिकर अभियान सञ्चालन गरेका छौं। जहाँ एउटा टिमले स्टिकर टाँस्ने गर्छ भने अर्को टोलीले बालविवाहको अवस्था के कस्तो छ, अन्य अपराधिक घटना लगायतको बारेमा जानकारी लिने काम गरेका छौं,’ डीआईजी ढकालले स्वास्थ्य खबरपत्रिकासँग भने।
प्रहरीकहाँ पुग्दैन घटना
बाल विवाहको दर उच्च रहे पनि प्रहरीसम्म यस्ता घटनाहरु पुग्दैनन्। घरपरिवार तथा गाउँ–समाजकै रोहबरमा बालविवाहका घटनाहरु कर्णाली प्रदेशमा हुने गरेकाले पनि यस्ता घटना प्रहरीकहाँ नपुगेको पाइन्छ।
कुरा नमिल्दा, रिसइबी तथा जातका कारण मात्रै बालविवाहका घटनाहरु प्रहरीकहाँ आउने गरेको कर्णाली प्रदेशका डीआईजी ढकालले बताए। ‘जब दुई (केटा–केटी)बीच कुनै कुराहरु मिल्दैनन्। वा, कुनै रिसइबी हुन्छ अनि मात्रै यस्ता घटना हामीकहाँ आइपुग्छन्,’ ढकालले भने।
कर्णाली प्रदेश प्रहरीको तथ्यांकले पनि बालविवाहका घटनाहरु न्यून रुपमा मात्रै प्रहरीकोमा पुग्ने गरेको देखिन्छ। कर्णाली प्रदेशका १० जिल्लामा पछिल्लो ६ आर्थिक वर्षमा ८० वटा बालविवाहका घटना प्रहरी कार्यालयमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ।
यसमा सबैभन्दा बढी दैलेख जिल्लामा भएका बालविवाहका २९ वटा घटना प्रहरी कार्यालयमा पुगेका थिए। दैलेखमा आर्थिक वर्ष २०७४/७५ मा ३, २०७५/७६ मा ७, २०७६/७७ मा १, २०७७/७८ मा ७, २०७८/७९ मा १ र २०८९/८० मा ६ गरी २९ वटा बालविवाहका उजुरी प्रहरीकहाँ आएका थिए। चालु आर्थिक वर्षमा भने कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट बालविवाहको उजुरी प्रहरीकोमा नपरेको डीआईजी ढकालले जानकारी दिए।
पछिल्लो ६ आर्थिक वर्षमा दैलेखबाट सबैभन्दा बढी २९, सुर्खेतबाट २१, जाजरकोटबाट १, सल्यानमा १५, रुकुम ३, जुम्ला २, कालिकोट ६, हुम्ला ३ गरी ८० उजुरी प्रहरीमा परेको देखिन्छ।
डोल्पा र मुगुमा भने पछिल्लो ६ आर्थिक वर्षको अवधिमा एउटा पनि बालविवाहको उजुरी प्रहरीमा परेको रेकर्ड छैन। यो तथ्यांकबाट पनि बालविवाहका घटनाहरु परिवारकै सल्लाहमा तथा योजनामा हुँदै आएकाले प्रहरीसम्म नपुगेको पुष्टि हुने केयर नेपालकी डाइरेक्टर मोना शेर्पा बताउँछन्।
‘जबकि बालविवाहको दर ५० प्रतिशतभन्दा बढी छ तर घटना भने बाहिर आउँदैन। त्यहाँ पारिवारिक सल्लाह र योजना अनुसार नै बालविवाह गरेको भन्ने बुझिन्छ,’ शेर्पाले भनिन्।
बाल विवाहको एक कारक ‘शक्तिहीन सुसूचित’
मोना शेर्पा (कन्ट्री डाइरेक्टर, केयर नेपाल)
‘चाइल्ड म्यारिज’ (बालविवाह) लाई चाहिँ ‘चाइल्ड फोर्स अर्ली म्यारिज’ भनेर बुझ्ने गर्छु। चाइल्ड म्यारिज हुनुका पछाडि विभिन्न कारण छन्। आमा–बाबुको प्रेसरदेखि सामाजिक कुराहरु जोडिएर आएका हुन्छन्।
विशेषगरी बाल विवाहमा दुई वटा कुरा देखिन्छन्, गरिबी र सामाजिक सोच। सामाजिक सोच धर्मसँग जोडिएको हुन्छ। दाइजोका कुराहरुसँग जोडिएको हुन्छ। लैंगिक भूमिका अर्थात् जेन्डर रोलसँग जोडिएको छ।
हाम्रो समाजमा यौन सम्बन्धलाई हेर्ने तरिका, परिवारको इज्जत महिलामा केन्द्रित गराएको अवस्था लगायत कारणहरु पनि बालविवाहमा जोडिएर आएका छन्। कतिपय ठाउँहरुमा त खुलेर यहाँ चाइल्ड म्यारिजको कुप्रथा छँदैछ भनेर भनिराखिएको हुन्छ।त्यो चाहिँ देखिएको कुरा मात्रै हो। चाइल्ड म्यारिज किन छ भनेर अलि भित्र छिरेर हेर्दा के देखिन्छ भने, घरमा कोही बिरामी भयो काम गर्ने मान्छे चाहिएको छ, त्यसपछि के गर्ने? विवाह गरेर बुहारी ल्याउने। अझ जति सानो उमेरको ल्यायो उति काम लगाउन सजिलो हुन्छ। घरको पारिश्रमिक बिनाको सेवामुलक कार्यमा बालविवाह भएको देखिन्छ। तराईमा भने उमेर बढी भयो भने दाइजो बढी दिनुपर्ने अवस्थामा बालविवाह भएको पाइन्छ।
अर्को भनेको गरिबी हो। घरमा खान छैन, अब के गर्ने? बुहारी ल्याउँदा उसले केही रकम ल्याउँछ र परिवार पाल्न सजिलो हुन्छ भन्ने सोच पनि छ। अर्को भनेको अन्धविश्वास हो। जति चाँडो आफ्नी छोरीलाई विवाह गरे पठाइदियो, त्यति धेरै पुण्य कमाइन्छ भन्ने अन्धविश्वासका कारण पनि चाइल्ड म्यारिज भएको देखिन्छ।
तर, अहिले रिसेन्ट टाइममा चाहिँ के पनि देख्न थालिएको छ भने, छोरीहरुलाई लामो समयसम्म घरमा राखिराख्यो भने भागेर पो विवाह गर्छन् कि, गतिछाडा पो हुन्छ कि, यसले गर्दा परिवारको इज्जतमा खलल पो हुन्छ कि भन्ने डर पनि चाइल्ड म्यारिजको कारक बनेको देखिन्छ।
परिपक्वता नभएको, युथको बेलाको हर्मोनल चेन्जसँग जोडिएर त्यो प्रेममा पर्यो भन्ठानेर अथवा परेरै त्यसको सामाधान विवाह गरेर हुन्छ भन्ठानेर कलिलैमा भागी विवाह गरेको पनि देखिन्छ।
तर, त्यहाँनेर केटा र केटी पनि साथी हुन सक्छन् है, उनीहरु साथी हुँदैमा परिवारको इज्जत जाँदैन है, त्यो किशोरीको इज्जत जाँदैन है भन्ने खालको बुझाइ हुन्थ्यो भने सायद उनीहरु कलिलैमा भागेर विवाह गर्दैनथे होलान्। भनेपछि कहिले हाम्रो समुदाय त्यो विचारले ओपन हुने? हाम्रा आमा–बुवाहरुले कहिले किशोर–किशोरीलाई त्यो हिसाबले ओपन रुपमा बाँच्न दिने?
जाजरकोटकै कुरा गर्ने हो भने त्यहाँ अरु अप्सन पनि छैन। स्कुल जाम, पढौं भन्यो भने घर नजिक ५ कक्षासम्म मात्रै स्कुल छ। पढ्नका लागि कि खलंगा, सुर्खेत कि नेपालगञ्ज गएर डेरा लिएर बस्नुपर्ने अवस्था छ। घरमा बस्दा घरको काम बाहेक अरु के गर्ने? इन्गेज हुने माध्यम पनि देखिँदैन। अनि घरमै अर्थात् आँखै अगाडि उनीहरुले बालविवाह भएको देख्छन्। सरकारबाट चलाउनुपर्ने बालविवाह विरुद्धको अभियान पनि म्यासिभ रुपमा भएको हुँदैन।
प्रभावकारी म्यासेज गएको छैन। अनि हिजो जे देख्यो, त्यही कुरा न सिक्ने हो। अनि त्यही बाल विवाहको परम्परालाई निरन्तरता दिइएको देखिन्छ। यो निकै दुःखदायी घटना हो। चाइल्ड म्यारिज कहाँ बेसी हुन्छ भनेर हेर्यो भने त्यहाँ, गरिबी, दुर्गम, दलित समुदायहरु जोडिएर आउँछन्।
अर्कोतर्फ, हामीले सुसूचित गराइराखेकै छौं तर किन घटेन चाइल्ड म्यारिज भन्छौं। सुसूचित हुनु मात्रै समाधान होइन।
हिजोका दिनबाट आजको दिनमा तुलना गर्यो भने पक्कै धेरै फरक छ। बालविवाह गर्नुहुँदैन, यसले गर्दा विभिन्न असर गर्छ भनेर सुसूचित भएको देखिन्छ। तर त्यतिले मात्रै बालविवाह घटनाउन पर्याप्त हुँदैन।
सुसूचित भएको व्यक्तिलाई सपोर्ट गर्ने किसिमको सामाजिक संरचना हुनुपर्छ। यसमा परिवार, छर–छिमेक, समुदाय तथा राज्यको भूमिका जोडिएर आउँछ।
सानो उमेरमा विवाह गर्नु हुँदैन भनेर कोही सुसूचित छ तर शक्तिवान छैन। उसको बाबु–आमाले सुसूचित हुँदाहुँदै पनि हाम्रो धार्मिक कारण, समाजिक कारणले गर्दा विवाह गर्नुपर्छ भनेर मलाई फोर्स गर्छ भने म शक्तिविहीन सुसूचित मान्छेको विवाह गर्नुको विकल्प हुन्छ र? सुसूचित तर शक्तिहीन भएका कारण पनि बालविवाह भएको देखिन्छ।
जसका कारण सुसूचित भएर मात्रै पुग्दैन, समाजको हरेक तह र तप्काले आफ्नो भूमिका अनुसार कमिटेड भएर कलेक्टिभ्ली काम गर्नुपर्ने मुद्दा हो यो।