मैले धेरै रोगसँग संघर्ष गरेकी छु । आस्थमा अर्थात् दम भएपछि धेरै रोगले मलाई सतायो। अहिले मैले आफैंलाई काममा व्यस्त राखेकी छु । जात्रा नामक ट्राभल एजेन्सी चलाइरहेकी छु। तर, मैले यो अवस्थासम्म पुग्न धेरै संघर्ष गर्नुनुर्यो।
मैले सवैभन्दा धेरै संघर्ष रोगको पहिचान गर्नका लागि गरेकी छु । उमेरले १६ वर्षकी थिएँ । मलाई ज्वरो आउने र बान्ता हुने समस्या देखियो। ममीले अस्पताल पुर्याउनुभयो। डाक्टरले सिभिएर निमोनिया भनेर औषधि दिनुभयो । मलाई खोकी लाग्ने, रुघा लाग्ने र छाति दुख्ने देखिदै गयो।
वर्षमा दुईचारपल्ट अस्पताल भर्ना हुनुपर्थ्यो। औषधी लिइरहन्थें। समस्या उस्तै थियो। २४ वर्षको उमेरमा एलर्जी हुने समस्या थपियो। अस्पताल गयो, औषधी लियो र केही समयलाई बिसेक भयो। मैले धेरै डाक्टरसँग परामर्श लिएँ । कसैले पनि मलाई दम भनेर पत्ता लगाउन सक्नुभएन।
मलाई २४ वर्षको उमेरदेखि धेरै गाह्रो हुन थाल्यो । सास फेर्न नै मुश्किल पर्न थाल्यो। लाग्थ्यो- कसैले मलाई सास देओस्। उपचारका लागि इमर्जेन्सीमा गएँ। एन्टिबायोटिक्स र अन्य केही औषधी चलाउनुभयो। म कमजोर हुँदै गएँ। पढाइमा बाधा आउन थाल्यो। साथीहरु निकै अघि गइरहेको र म पछि परिरहेको महशुस हुन थाल्यो।
मलाई हिम्मत दिने भाइ (डा गम्भीर श्रेष्ठ) सानै थियो। तर, उसले सक्दो सहयोग गर्योा। रोग निदान नभएर अनेक समस्या झेल्दै म ३० वर्ष पुगें । म बिरामी हुन्थें। औषधी चलाइन्थ्यो । त्योबेला एलर्जीको औषधी यति चलाइए छ कि अहिले त काम गर्न नै छाड्यो।
भाइ चिकित्सा क्षेत्रतिर लाग्यो र उसको र एकजना सरको सिफारिसमा मैले डा रमेश चोखानीको नाम थाहा पाएँ। तर, मलाई चिकित्सा र डाक्टरप्रति विश्वाेस उठिसकेको थियो । लाग्थ्यो- जहाँ गएपनि त्यस्तै हो!
एकपल्ट प्रयास गरिहेर्न उहाँलाई जँचाउन खोजें। तर, उहाँकहाँ यति भीड थियो कि ७-८ महिनापछि मात्रै मैले पालो पाएँ । म कुरेर बसें। उहाँले भन्नुभयो- तपाईंलाई दम छ। उहाँले काउन्सिलिङ गर्नुभयो। औषधी दिनुभयो।
मेरो दम अहिले नियन्त्रणमा छ तर पूर्ण निको भएको छैन। फेरि फलोअपमा जानुपर्नेछ तर डा चोखानीसँग समय लिन मुश्किल छ। कोरोना कालदेखि प्रयास गरिरहेकी छु, अहिलेसम्म जाँच गर्न पाएकी छैन । बेलामौकामा दमले अट्याक गरिरहेको छ।
मलाई स्वास्थ्य समस्या भएको छरछिमेक साथीहरु सवैलाई थाहा थियो । वरीपरिकाले भन्थे- रोगी छ के गर्ली? यसको त बिहे पनि हुँदैन । न काम गर्न सक्छे, नराम्री पढ्न। यस्तै-यस्तै सुनिरहें। परिवार पनि बिहे गरेर नपठाउने कुरा गरिरहनुहुन्थ्यो।
मेरो भाइले एकदिन समस्या नियन्त्रणमा आउँछ भन्थ्यो। अहिले म जहाँ छु, उसैको कारण हो । मलाई परिवारमा भेदभाव भएन। मलाई भन्दा गाह्रो परिवारलाई हुन्थ्यो। बिराम निको हुन परिवारको सहयोग मुख्य हो। परिवारले छिछि दूरदूर गरेको भए म यो अवस्थामा हुन्नथें। म बिरामी हुँदा मलाई भन्दा बढी तनाव परिवारले लिन्थ्यो।
यही क्रममा मैले पढाइ पूरा गरें। मैले कल्चर, आर्कोलोजी र एन्थ्रोपोलोजीमा स्नातकोत्तर गरें। आफ्नै ट्राभल एजेन्सी खोलें। बिहे पनि गरें। बिहेपछि धेरैलाई लाग्थ्यो- यसले बच्चा् पाउन सक्दिनँ । मैले हिम्मत हारिनँ । अहिले अहिले मेरो छोरी छ । ऊ स्वस्थ भएरै जन्मी।
रोगलाई आफ्नो बशमा राख्यो भने सवै सम्भव हुन्छ भन्ने लागिरहेको छ। म यस्तो हुँदा-हुँदै पनि केही गर्ने भोक छ । त्यसैले म काम गर्न थालेकी हुँ। अहिले मलाई मजस्तै समस्या भएका दूरदराजका बिरामीको बारेमा चिन्ता हुन्छ । किनभने उनीहरु आफैंलाई के भएको भनेरसम्म थाहा छैन।
यता मैले चाहेर पनि राम्रो उपचार पाइरहेकी छैन। डा चोखानीकहाँ फलोअप गर्न जान पाएकी छेन। औषधी के गर्ने भनेर सोध्न पाएको छैन। त्यस्ता चिकित्सकको कमी छ वा बिरामी बढी छन्? यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ। उपचारका लागि वातावरण बन्नुपर्छ।
(नेपाल एनसीडी अलायन्सले काठमाडौंमा आयोजना गरेको 'नथिङ अस, विथआउट अस' वर्कसपमा नसर्ने रोगसँग लडिरहेका र जितेर अघि बढेका केही 'योद्धा'ले आफ्ना अनुभूति राखेका थिए। उनीहरुका भोगाइ अरुका लागि प्रेरणा र सरोकारवालाका प्रश्न स्वरुप हामीले शृंखलाबद्ध प्रस्तुत गरिरहेका छौं।)