म पनि नसर्ने रोगको बिरामी हुँ। मलाई मुटुरोग होला जस्तो कहिल्यै लागेन। ममा घमन्ड थियो- मलाई पनि मुटु रोग होला र? भन्ने। पहिले-पहिले पनि मुटु दुखेजस्तो महशुस हुन्थ्यो। ग्यासट्राइटिसको औषधिको झोलले सन्चो हुन्थ्यो।
तर, केही समयअघिको मुटु दुखाइमा ग्यासट्राइटिसको झोलले निको गरेन। त्यसपछि वीर अस्पताल पुगें। त्यहाँ इसीजी र इको गर्दा दुवै सामान्य देखियो। म तीनघन्टा त्यहाँ बस्दा सन्चो महशुस गरिसकेको थिएँ र डिस्चार्ज हुने प्रयास गर्दै थिएँ।
मुटुरोग विशेषज्ञ साथीहरुले मुटुरोग हुनसक्ने आंकलन गरिसक्नुभएको थियो। उहाँले अस्पतालबाट फर्किन दिनुभएन। मुटुको एकातिर ७० प्रतिशत र अर्कोमा १०० प्रतिशत नै ब्लक रहेछ। उपचार गराएँ। दुवै ब्लक खुल्यो। अहिले त म झन् फुर्तिलो महशुस गरिरहेको छु। म नियमित औषधी सेवन गर्छु, त्यो मलाई थाहा छ। तर, अरुका अघि त्यस्तो देखिन्नँ।
बिरामी भएपछि औषधि त बाँच्न भात खाएजस्तै हो नि। भात खाएपछि चिनिरोग हुन्छ भनेर खान छाड्ने हुन्छ त? म पनि ८ वटा औषधि नियमित सेवन गर्छु। यस्तो किन भनेको भने ब्लड प्रेसर बढेको बिरामीलाई औषधि चलाउन खोज्दा भन्छन्- 'म घटाउँछु, औषधि पर्दैन, सुगर बढेकाले खान नखाएर भएपनि घटाउँछु' भन्छन्। त्यस्तो गर्नुहुँदैन। यदि डाक्टरले औषधि खानुपर्ने अवस्था छ भनेर दिएको छ भने खाइदिनुपर्छ। जुन बाँच्नका लागि नियमित खाना खाए सरह हो भन्ने बुझ्नुपर्छ।
म आफैं पनि क्लिनिसियन हुँ। अहिले पनि बिरामी जाँच्न छाडेको छैन तर जिम्मेवारीले गर्दा नियमित जाँच्दिन। भ्याएको बेला मात्रै नियमित फलोअपमा भएका बिरामीलाई हेर्छु। बिरामीका मर्का सुन्छु। म स्वास्थ्य सचिव छु। त्यही बिरामीको मर्का सुनेर स्वास्थ्य क्षेत्रमा बजेट बढाउन पहल गर्न खोज्छु।
जम्मा बजेटको १० प्रतिशत बनाउन जोड गरिन्छ तर अहिल पनि हामीले पाउने ४.८ प्रतिशत हो। ८३ अर्ब बजेट भनेर पन्छाइन्छ। स्वास्थ्यमा लगानी र दरबन्दी दुवै बढाउन पहल गरिरहेकै छौं। स्वास्थ्य सेवामा २२ वर्ष भयो। हुम्लादेखि काठमाडौंसम्म काम गरेको छु। समस्या सुनेको छु । काम गर्ने कोशिस गरिरहेकै हुन्छु तर यहाँहरुले गर्ने गुनासो पर्याप्त घटाउन सकिएको छैन।
(नेपाल एनसीडी अलायन्सले काठमाडौंमा आयोजना गरेको 'नथिङ अस, विथआउट अस' वर्कसपमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले साझा गरेको अनुभूतिको अंश)