मेरो इच्छा डाक्टर बन्ने थियो। तर, अहिले म डाक्टरबिना बाँच्नै नसक्ने अवस्थामा पुगेकी छु।
म प्लस टु पढ्दै थिएँ। एकदिन कलेजबाट आउँदा एक्कासी बाटोमै ढलेछु। वरीपरीकाले नजिकको अस्पतालमा पुर्याइए। त्यहाँबाट गण्डक अस्पताल वीरगञ्जमा रिफर गरियो । त्यहाँ राखेर उपचार गरिरहँदा मलाई के भएको हो भनेर धेरै सोधखोज गरें। कसैले केही पनि भनेन। बुवाआमाले धेरै समयसम्म मसँग लुकाएर राख्नुभयो ।
बुवा पढेलेखेको हुनुहुन्न। थाहा पाइ भने उसलाई गाह्रो होला भनेर लुकाउनुभएको होला। काठमाडौं चेकअपका लागि ल्याउनुभयो। गाउँकै अंकलले गंगालाल हृदयरोग अस्पताल लैजान सल्लाह दिनुभयो। त्यहाँ चेकजाँच गर्दा मुटुको समस्या रहेकाले तुरुन्तै अप्रेसन गर्नुपर्छ भनियो।
जसोतसो गरेर त्यहाँ अप्रेसन गरियो। बाँकी औषधीलले पनि निको बनाउँछ भनियो। औषधीले निको हुन्छ भनेर गाउँ गएँ। झन् समस्या बढ्न थाल्यो । सास नै फेर्न गाह्रो हुन थाल्यो। एकदिन एम्बुलेन्समा राखेर अस्पताल लगियो। पहिले भन्दा मुटु झन् बिग्रिएको भन्ने थाहा पाइयो।
डाक्टरले फेरि अप्रेसन गर्नुपर्ने बताउनुभयो। तीन महिनाअघि अप्रेसन भइसकेको थियो। फेरि गराउन परिवार तयार भएन। 'औषधी खाएर हेर जे होला' भनेर घर लगियो।
परिवारका मान्छेले हिम्मत नै हारेर बस्नुभयो। मैले आफ्नो समस्याका बारेमा अनलाइनबाट जान्ने कोशिस गरें। युट्युबमा मुटु रोगका डाक्टरका अन्तरवार्ता हेर्न थालें। त्यहीबेला डा प्रकाशराज रेग्मीको अन्तर्वार्ता हेर्न पुगें। उहाँलाई देखाउन पाए राम्रो हुन्थ्यो कि भन्ने लाग्यो। मैले त्यहीँ भेट्न चाहेको कुरा कमेन्ट गरें। नम्बर मागें। धेरै समयपछि त्यहाँबाट नम्बर पाएँ । घरमा सल्लाह गरें । घरकाले त्यहाँ (नेपाल हार्ट क्लिनिक) मा त धनीको मात्रै जाँच हुन्छ भनेर तयार हुनुभएन।
म आफैं हिम्मत गरेर १६ वर्षकी बहिनी लिएर काठमाडौं आएँ । नेपाल हार्ट क्लिनिकमा पुगें । डाक्टरले निकै सम्झाएपछि मनोबल बढ्यो। फेरि मेडिसिन सुरु गरें। फ्लोअप गरिरहेकी छु । ममा अहिले हिम्मत भने आएको छ। त्यसैले यो बीचमा ब्याचलर तहको पढाइ पूरा गरें। आफ्नै मनोबल बढाएँ।
डाक्टर साहेबले अप्रेसन गर्नुपर्ने बताउनुभएको छ। घरका मान्छे सहमत हुनुहुन्न । म छोरी भएका कारण परिवारले उपचारका लागि जोडबल नगरेको हो कि भन्ने महशुस भएको छ। हाम्रो समाजमा छोरालाई धेरै मान्यता दिने गरिन्छ । छोरी मरे नि होस् भन्ने सोच्नुभएको होला कि भन्ने लाग्छ!
बिरामीमाथि विभेद पनि हुन्छ। कलेजमा साथीहरुले तँलाई कुपोषण भएको जस्तो छ भनिरहन्थे। कोही मेरो बेस्ट फ्रेन्ड बनेको छैन । छरछिमेका मान्छेले पापी भएर यो रोग लागेको भनेको समेत सुनेको छु।
अहिले मसँग एउटै सपना छ- म बाँच्न चाहन्छु । फेरि स्वस्थ जीवन बिताउन चाहन्छु । त्यो सम्भव छ कि छैन, डाक्टर साहेबलाई थाहा होला (यही बीचमा डा प्रकाशराज रेग्मीले भने- ओपन हार्ट सर्जरी गर्नुपर्छ। निको हुन्छ)। मेरो आत्मविश्वास छ । मेरो डाक्टरमाथि विश्वास छ । भगवानमाथि विश्वास छ । म फेरि पुरानै अवस्थामा फर्किनेछु ।
(नेपाल एनसीडी अलायन्सले काठमाडौंमा आयोजना गरेको 'नथिङ अस, विथआउट अस' वर्कसपमा नसर्ने रोगसँग लडिरहेका र जितेर अघि बढेका केही 'योद्धा'ले आफ्ना अनुभूति राखेका थिए। आफ्नो भोगाइ र त्यसबाट बाहिरिन गरेका संघर्षहरु प्रस्तुत गरेका थिए। विद्यार्थीदेखि स्वास्थ्य सचिव डा रोशन पोखरेलसम्मले त्यहाँ उपचार अनुभूति राखेका छन्। स्वास्थ्यखबरको उपचार अनुभूति शृंखलामा यसपल्ट हामी त्यहीँ प्रस्तुत विचार क्रमश: राख्दै जानेछौं)