के हो न्यूरोजेनिक ब्लाडर?
केन्द्रीय वा परिधीय तन्त्रिका तन्त्र अर्थात् नसासँग सम्बन्धित रोगको कारण पिसाब थैलीले राम्रोसँग काम गर्न नसक्नु, पिसाब भण्डारण वा पिसाब फेर्ने समस्या वा दुवै प्रकारका समस्यालाई न्यूरोजेनिक ब्लाडर भनिन्छ। पिसाबको संक्रमणका कारण मूत्रमार्गको घात र मृगौलाको कार्यक्षमतामा नै विफलता ९पष्मलभथ ाबष्गिचभ० जस्ता जटिलताहरू उत्पन्न हुनसक्दछ।
रोगभाग दरः
यो समस्या शरीरमा अन्य कुनै रोगको कारणले देखापर्दछ। सामान्यतया पार्किन्सन्स रोग भएका ३८—७१%, त्यस्तै मल्टिपल स्क्लेरोसिस भएका ४०—९०% बिरामी, स्पाइनल कर्डको समस्या भएका ७०—८४% र मस्तिष्कघात तथा मधुमेह भएका १५% बिरामीहरूमा न्यूरोजेनिक ब्लाडरको समस्या पाइन्छ।
उपलब्ध उपचारविधिः
न्यूरोजेनिक ब्लाडरको उपचारको लागि एन्टिकोलिनेर्जिक औषधि, बोटक्स सुई, एन्टिबायोटिक्स, विभिन्न प्रकारका क्याथेटरको प्रयोग रोगको अवस्था र आवश्यकता अनुसार गरिन्छ। पिसाब भण्डारणसँग सम्बन्धित समस्यामा एन्टिमुस्केरिनिक औषधिहरूको प्रयोग भएतापनि यसले बिरामीको मुख सुख्खा हुने, टाउको दुख्ने, दिसा कडा हुने, चक्कर लाग्ने, पिसाब रोकिने, चेतनास्तरमा फेरबदल, अनुभूति परिवर्तन, मुटुको चाल बढ्नु जस्ता पाश्र्वप्रभावहरू देखिन्छन्। त्यस्तै गरी बोटक्स सुई, न्यूरोमोडुलेसन जस्ता उपचार पद्धतिहरू प्रभावकारी भएता पनि महंगो शुल्क र दीर्घकालीन पुनारावृत्तिको आवश्यकता पर्ने हुँदा बिरामी पक्षको सहज पहुँचमा छैनन्।
पिसाब फेर्ने समस्याको व्यवस्थापनको लागि बिरामीले आफै प्रयोग गर्नसक्ने सफा पटक—पटक प्रयोग गरिने क्याथेटर (ऋक्ष्ऋ) मुख्य उपचार मानिएता पनि शौचालयको सुलभ र सहज पहुँच नहुँदा बिरामीहरूले सहजै पिसाब व्यवस्थापन गर्न सक्दैनन्। अर्कोतर्फ यस्ता बिरामीहरूमा पिसाबको संङ्क्रमणका साथै दुखाई जस्ता जटिलताहरू देखा पर्छन्। उल्लेखित उपचार पद्धति हुँदाहुँदै पनि न्यूरोजेनिक ब्लाडरका बिरामीहरूले पूर्ण रूपमा प्रभावकारी र सन्तुष्ट परिणाम प्राप्त गर्न सकेका छैनन्। त्यसैले पछिल्लो समयमा न्यूरोजेनिक ब्लाडरको उपचारको लागि अकुपञ्चर चिकित्सा लोकप्रीय बन्दै गएको छ।
यसै सन्दर्भमा नेपालमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुसन्धानको लागि अनुमति लिएर अनुसन्धानात्मक शोधकार्य गरिएको थियो। सन् २०२२ अप्रिल देखि सन् २०२३ मे सम्म आएका न्यूरोजेनिक ब्लाडर समस्या भएका ६० जना बिरामीहरू लिइएको थियो र उनीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। दुवै समूहका बिरामीहरूलाई मूत्राशयको कार्यको आधारमा मूत्राशय अति सकृय र निष्किृय गरी दुई खण्डमा विभाजन गरिएको थियो।
पहिलो समूहलाई केस समूह र दोश्रो समूहलाई कन्ट्रोल समूह नाम दिइएको थियो। प्रत्येक समूहमा तीस तीस जना बिरामीहरू रहेका थिए। दुवै समूहका बिरामीहरूलाई मूत्राशयको अवस्था अनुसार एलोपेथिक औषधि, क्याथेटरको प्रयोग गरिएको थियो भने केस समूहका बिरामीलाई भने हातखुट्टा, टाउको, पेट र कम्मरको तल्लो भागमा अवस्थित विशेष अकुपोइन्टमा अकुपञ्चर गरिएको थियो। पेट र ढाडका अकुपोइन्टमा भने ३० मिनेटको लागि न्यून फ्रिक्वेन्सीमा करेन्ट प्रवाह गराइएको थियो। दुवै समूहमा उपचार सुरु गर्नुभन्दा अगाडि र एक्काइस दिन पछाडि पिसाब सम्बन्धि लक्षणमा आएको परिवर्तनलाई न्यूरोजेनिक ब्लाडर सिस्टम स्कोरमा परिर्वतन हेरिएको थियो।
के देखियो त परिणाम ?
अनुसन्धानमा सहभागी ६० जना बिरामीमध्ये कन्ट्रोल समूहका ३० जना बिरामीहरूमा २२ जना पुरुष र ८ जना महिला थिए। त्यस्तै केस ग्रुपमा २४ जना पुरुष र ६ जना महिला थिए। त्यस्तै केस गु्रपमा ८३% बिरामीहरूमा स्पाइनल कर्ड र १७% मस्तिष्कजन्य समस्या साथै कन्ट्रोल समूहमा ७७% स्पाइनल कर्ड र २३% मस्तिष्कजन्य समस्यासँग सम्बन्धित न्यूरोजेनिक ब्लाडरका बिरामीहरू थिए। दुवै समूहका बिरामीहरूमा उपचारपूर्व र पश्चात् दिनमा पिसाब फेर्ने पटक, प्रयोग गर्नुपर्ने प्याडको सङ्ख्या, प्याडको भिजावट, रात्रीकालीन पिसाब चुहिने समस्या, तरल पदार्थको उपभोगमाथि नियन्त्रण, छालाको समस्या, क्रियाकलापमा आएको सिमीतता, पिसाब थैली सङ्कुचनको पटक, पिसाबको तिव्रता, रात्रीकालीन पिसाबको पटक, सबैभन्दा लामो समय पिसाब नचुहाइकन बस्ने अवधि, दुखाई, पिसाबको धाराप्रवाह, पिसाब सङ्क्रमणको पटक, बिरामीको जीवनको गुणस्तरमा भएको परिवर्तन हेरिएको थियो। दुवै समूहमा उपचार पश्चात् परिवर्तन देखिएता पनि केस समूह अर्थात् अकुपञ्चर चिकित्सा पनि गरिएका बिरामीहरूमा उल्लेख्य सुधार पाइयो।
पिसाब व्यवस्थापनको कुरा गर्ने हो भने केस समूहमा उपचार शुरु हुनुभन्दा अगाडि ५६.७% बिरामीहरू युरोब्याग सहितको क्याथेटरमा थिए भने १३.३% बिरामीले आफै सफा क्याथेटर प्रयोग (CIC) गर्दथे भने ३०% बिरामीहरूले आफै पिसाब फेर्थे। ३ हप्ताको उपचार पश्चात् आफै पिसाब फेर्ने बिरामीहरू १००% पुगे जबकि कन्ट्रोल समूहमा मात्रै १७% सुधार भएको पाइयो। केस समूहका बिरामीहरू आफ्नो उपचार र सुधारप्रति खुशी र सन्तुष्ट देखिन्थे भने कन्ट्रोल समूहका बिरामीहरू भने बेखुशी र निराश नै भेटिए।
निष्कर्ष
सन् २०२२ मा गरिएको अनुसन्धानले पनि अकुपञ्चर चिकित्सा पश्चात् NGF, TrkA, P75NTR, Substancd P, CGRP जस्ता तत्वहरूको वृद्धि हुने देखाएको छ। साथै अकुपञ्चर चिकित्साले पिसाब थैलीको डेट्रुजर मांसपेशीको संकुचन क्षमता वृद्धि गर्दछ। कम्मरको तल्लो भागमा रहेका अकुपोइन्टहरूले स्याक्रल नशालाई उत्तेजित गर्दछ। अकुपञ्चर चिकित्सापश्चात् केन्द्रीय स्नायु प्रणाली तथा स्पाइनल कर्डमा न्यूरोट्रान्समिटरहरू उत्पन्न हुनुका साथै नाइट्रिक अक्साइड र रक्त प्रवाहमा वृद्धि हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाइसकेका छन्।
यसर्थ न्यूरोजेनिक ब्लाडरको उपचार एकिकृत रूपमा अकुपञ्चर चिकित्सा पद्धतिलाई समेत प्रयोग गरी गर्न सकिएमा अझ बढी प्रभावकारी हुने देखिन्छ। अकुपञ्चर चिकित्साको प्रभावकारितालाई अझ व्यापक गर्न आगामि दिनहरूमा अझ सुक्ष्म रूपमा, ठूलो समुदायमा चिकित्सकीय परीक्षण गर्नुपर्ने नितान्त आवश्यकता देखिएको छ। यसमा थप खोज र अनुसन्धान जरुरी देखिन्छ।
-(डा सत्याल अकुपञ्चर विज्ञ हुन्)