तराईमा तिहारको रौनक नै भिन्ने प्रकारको हुने गर्छ। झिलीमिली बतीहरु बाल्नेहरु तथा पटका पड्काउनुले तिहारमा विशेष रौनक थप्ने गर्छ। साथीभाइहरुसँगको जमघटमा तास खेल्ने तथा रमाइलो गर्नुले तिहारलाई अझै विशेष बनाइदिने गर्छ। विशेष गरी तिहारको समय तराईमा विशेष नै हुनेगर्छ। बाल्यकालमा तिहारमा गरिएको रमाइलो अविस्मरणीय नै छ मेरा लागि। तर पढाइ तथा पेशागत जिम्मेवारीपछि कहिल्यै पनि तिहारको आनन्द लिन सकिएन। रमाइलो महसुस हुने गरी तिहार नमनाएको १५ – २० वर्ष नै भइसकेको छ।
गत वर्षको दीपावलीको समयमा मैले बुवालाई गुमाउनु परेको थियो। त्यसले मेरो जीवनमा ठूलो दुखको अवस्था सृजना गरेको छ। गत वर्षको दीपावलीकै दिनमा हामीले बुबालाई उपचारका लागि अस्पताल लगेका थियौं। दीपावलीको दिनभर बुबालाई घरमै स्याहार गरेर बसेका हामीले साँझ अस्पताल लगेका थियौं। यो वर्षको दीपावली कसरी मनाउने भन्ने चिन्ताले मलाई सताइरहेको छ। कतै बुबाको सम्झनामा यस वर्षको दीपावलीको दिन मेरो आँखा ओभानो हुँदैन कि भन्ने चिन्ताले मलाई सताइरहेको छ।
मैलै आफ्नो मनलाई बुझाउँदै स्वर्गीय पिताको सम्झनामा किताब लेखेर उक्त दुखलाई सुखमा बदल्ने निर्णय गरें। त्यसैले स्वर्गीय पिताकै सम्झनामा यस वर्षको दिपावली बाल्यकाल बितेको मेरो गाउँमा गएर मनाउने निधो गर्दै गाउँ जाँदैछु। सायद चिकित्सक भएर काम गर्न थालेको करिब १५ – २० वर्षपछि दीपावलीको लागि भन्दै म गाउँ जान लागेको हुँ।
उमेर बढ्दै जाँदा चाडपर्वको महत्व घट्दो रहेछ
उमेर बढेसँगै चाडपर्वको महत्व घट्दै जाने रहेछ। हामी अभिभावक भइसकेपछि आफ्नो बाल्यकालको अनुभूती आफ्ना बालबालिकाहरुमा खोज्ने गर्छाै। त्यसैले यस वर्ष दीपावलीमा गाउँ जाँदा मैले छोरीलाई पनि लिएर जाने भएको छु। यस वर्षको दीपावलीमा १० दिन आफ्नो पेशागत जीवनबाट टाढा रहेर मैले दीपावली गाउँमा मनाउने निर्णय गरेको हुँ।
गाउँमा मुटु रोगसम्बन्धी स्वास्थ्य शिविर गर्दैछु
दीपावलीको अवसरमा मैले आफू जन्मेको जिल्ला महोत्तरीको धमौरा भन्ने स्थानमा मुटु रोगीहरुका लागि विशेष स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छु। यो मेरो तर्फबाट डा ओममूर्ति अनिल फाउन्डेसनको पहिलो सुरुवात भएकोले पनि यो शिविर मैले गाउँमा नै आयोजना गर्न लागेको हुँ। पहिलो सुरुवात आफ्नै ठाउँबाट गरौं भन्ने लागेकोले उक्त शिविर यहाँबाट नै आयोजना गरेको हुँ। उक्त शिविरबाट एक जनाले करिब ७ हजार बराबरको स्वास्थ्य सेवा शिविरबाट पाउनेछन्।
मुटु रोगसम्बन्धी इको, इसीजी लगायत सम्पूर्ण तथ्यांकसहितको सेवा दिइने छ। दुई दिनसम्म टिमका अन्य चिकित्सकहरुले हेर्ने भएपनि अन्त्यमा भने म आफैले हेर्नेछु।उक्त शिविर ३ सय जनाको लागि प्याकेजका रुपमा सञ्चालन हुनेछ। यस पटकको तिहारमा आमा, साथीभाईसँग तथा स्वास्थ्य शिविरमा बिरामी हेरेर बित्नेछ।
चिकित्सक पेशामा रहँदाको चाडपर्व खासै रमाइलो भने हुँदैंन। आवश्यकताअनुसार जुनसुकै समयमा पनि बिरामीको सेवामा खट्नुपर्ने भएकोले पनि यो पेशामा लागेका मानिसहरु चाडपर्वका अन्य पेशामा जस्तो रमाउन सक्दैनन्। राम्रो कामको सुरुवात आफ्नै घरबाट गरौं भन्ने लक्ष्यका साथ मैले स्वास्थ्य शिविरको सुरुवात गृह जिल्लाबाट नै गरेको हुँ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममुर्ति अनिलसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)