म विसं २०४७ सालदेखि परोपकार स्त्री रोग अस्पतालमा नर्सका रुपमा कार्यरत्त छु। पेशागत जीवनको सुरुवातका समय घर परिवारसँग जमघट हुनुपर्ने तथा चाडपर्व मनाउनुपर्ने बेला ड्युटीका लागि हिड्नुपर्दा नरमाइलो लाग्थ्यो। विस्तारै ती सबै कुरालाई बिर्सिएर बिरामीको सेवामा नै आफूलाई समर्पित गराउन पाउँदा रमाइलो लाग्ने गरेको छ। विस्तारै आफ्नो पेशासँग सन्तुष्ट हुँदै गएपछि भने पेशागत जीवनसँगै खुसी मिलेको छ।
यसपालिको तिहारमा पनि मेरो पुरै दिन बिदा छैन। ड्युटी र पारिवारिक समयबीच सन्तुलन राख्दै यस वर्षको तिहार मनाउने मेरो सोचाइ छ। पूर्णरुपमा पारिवारिक सपोर्ट तथा आफ्नो कठिन मेहनतका कारण म आज यो पेशामा रहेको छु। मेरो दाई र आमाले मलाई नर्स नपढ्न धेरै पटक भन्नु भएको थियो। तर म आफ्नै इच्छामा नर्स बनेको हुँ।
एसएलसी सकिएपछि दुई वर्ष नर्सिङ नपढी म आर्टस् पढेर बसें। दुई वर्षको आर्टस् अध्ययनपछि म आफ्नै ढिपीले नर्सिङ पढ्न थालें। मेरो घर भक्तपुरको कटुन्जे हो। मैलै विसं २०४० सालमा एसएलसी पास गरेको हुँ। पहिला पहिला नेपाली समाजमा छोरी बिग्रे नर्स भन्ने चलन भएकोले नै एसएलसी पछिका दुई वर्ष मैले आर्टस् पढेर र बिताए। त्यसपछि भने आफ्नै ढिपीले नर्सिङ पढ्न थालें।
अहिले नर्स बन्न पारिवारिक समर्थन हुन्छ
नर्स पढ्नकै लागि परिवारसँग संघर्ष गर्नुपर्ने अवस्था अहिले छैन। तर यस क्षेत्रमा बेरोजगारीको समस्या वर्तमान समयमा व्याप्त रहेको छ। सरकारी अस्पतालमा नर्सको तलब तथा सेवा सुविधा केही राम्रो भएतापनि निजी स्तरमा भने राम्रो छैन। पिसिएल नर्सिङ पढाउने धेरै कलेजहरु हाल बन्द छन्। सञ्चालन भइरहेका कलेजहरुमा समेत विद्यार्थीहरु एकदमै कम रहेको अवस्था छ। धेरै नर्सहरु विदेशिने क्रममा छन्।
यसरी कलेजहरु बन्द हुँदै जाने तथा भएका नर्सहरु विदेशिने क्रम जारी रहने हो भने नेपालमा केही वर्षपछि नर्सहरु पाउन ज्यादै नै कठिन हुने अवस्था छ।
परिवारबाट कहिल्यै गुनासो आएन
मनबाटै कुनै काम गर्छु भनेर लागेपछि त्यसका लागि जसरी पनि समय व्यवस्थापन गरिँदोरहेछ। म आफू चाँडै उठेर घरको काम सकेर अफिसका लागि तयार हुने गर्छु। घरको सम्पूर्ण काम बिहान उज्यालो हुँदा मैले सकिसकेको हुन्छु। मेरो घरबाट अफिस टाढा भएपनि चाँडै उठेर घरायसी काम सकेर अफिसका लागि तयार हुने गर्छु।
मेरो ४ जना सन्तान छन्। जसमध्ये २ जना विदेश गइसकेका छन्। अफिसबाट नै छोराछोरीको शिक्षादेखि लिएर सम्पूर्ण जीविका गर्नुपर्ने परिवारलाई थाहा भएकोले पनि होला परिवारका लागि समय नमिलेको भन्नेमा कहिल्यै पनि गुनासो आएन। छोराछोरी सानो छँदा समेत परिवार तथा अफिसलाई सन्तुलनमा राखेर पेशागत जीवन अगाडि बढाएँ।
नयाँ पुस्ताका नर्सहरुप्रति किन आए जनगुनासो
नयाँ पुस्तामा छोराछोरीहरु हाम्रो पालाको भन्दा सुखको वातावरणमा हुर्किने गरेका छन्। त्यसकारण उहाँहरुलाई संघर्ष त्यति थाहा छैन। नयाँ र पुराना पुस्ताबीचमा रहेको जेनेरेसन ग्यापका कारण पनि नयाँ पुस्ताले बिरामीहरुप्रति गर्ने व्यवहारमा जनगुनासाहरु आउने गरेका होलान् भन्ने मलाई लाग्छ। जुन वातावरण घर परिवारबाट पाए त्यही व्यवहार उनीहरुले बिरामीहरुप्रति गरेको पाइएको छ। यद्यपि हामीले नयाँ पुस्तालाई सम्झाउने गरेका छौं।
- (परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीकी नर्सिङ सुपरभाइजर इन्दिरा ढुंगेल चालिसेसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)