भरतपुर अस्पताल चितवनको प्रमुखको जिम्मेवारी केही दिन अगाडि मात्रै समाल्हेको हुँ। अस्पतालको विस्तार तथा बिरामीको चाप बढ्दै गरेको वर्तमान अवस्थामा मलाई अस्पताल प्रमुखको जिम्मेवारी दिइएको हो। यस अवस्थामा अस्पतालका विभिन्न पक्षहरु हेर्न तथा बुझनका लागि नै मेरो समय खर्च हुने भएकोले यसपालीको तिहारमा कुनै पनि प्रकारका विशेष योजना बनाएको छैन।
चितवन मेरो गृह जिल्ला पनि हो। त्यसकारण तिहारको टिका घरमा नै लगाउने योजना छ। यद्यपि कुनै दिन पनि यसपालीको तिहारमा बिदा बस्ने योजना भने मैलै बनाएको छैन। भर्खरै अस्पताल प्रमुखको जिम्मेवारी पाएको हुनाले बिरामीहरुलाई स्वास्थ्य सेवा कसरी सहज रुपमा प्रदान गर्न सकिन्छ भन्नेमा नै मेरो यसपालिको तिहार केन्द्रित रहनेछ।
चिकित्सक पनि एक सामाजिक प्राणी नै हो। उनीहरुलाई पनि परिवारसँग बसेर चाडपर्व मनाएर खुसीयाली साटासाट गर्न त मन लाग्छ नै। यद्यपि कतिपय अवस्थामा चिकित्सकीय धर्मले उनीहरुलाई त्यस्तो जीवन दिन सक्दैन। हाल म गृह जिल्लामा नै कार्यरत्त भएकोले पेशागत धर्म निर्वाह गर्दै तिहारको टिका भने लगाउने सोचमा छु।
तिहारको समयमा सबै विभागमा को-को कर्मचारीहरु कार्यरत रहने भन्ने निर्धारण हामीले गरिसकेकोले यस समयमा पनि स्वास्थ्य सेवा दिनमा कुनै बाधा भने हुने छैन। तर पनि परिवार र सेवालाई सन्तुलनमा राखेर स्वास्थ्यकर्मीहरुले अगाडि बढ्नुपर्ने हुन्छ। मेरो बहिनी चितवनमा नै भएकोले भाइटिका भने लगाउँछु तर तिहार बिदा भने लिने छैन।
अस्पतालको आकस्मिक कक्ष, इनप्यासेन्ट, आइसियू लगायतका सम्पूर्ण सेवा तिहार बिदाको समयमा पनि यथावत् नै रहनेछ। सरकारी अस्पताल भएकोले हुनाले यहाँ उच्चदेखि निम्न वर्गसम्मका मानिसहरु उपचारका लागि आउने गर्छन्। यी सबैलाई व्यवस्थापन गरी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने भएकोले अस्पताल प्रमुखका रुपमा मेरो जिम्मेवारी तिहारको समयमा समेत महत्वपूर्ण रहनेछ।
अस्पतालको ओपिडी सेवा आइतबारदेखि बिहीबारसम्म ५ दिनका लागि बन्द भएपनि आकस्मिक सेवाद्वारा अस्पतालले स्वास्थ्य सेवा दिनेगर्छ। चिकित्सक पेशामा नहुँदा सानो उमेरमा तिहार आएपछिको माहोल नै फरक लाग्थ्र्याे। जब चिकित्सक पेशामा आइयो त्यसपछिको तिहार खासै रमाइलो लाग्दैन। पेशागत जिम्मेवारीले यस्तो भएको होला।
सानो छँदा तिहारको देउसी भैलोले एकदमै रमाइलो लाग्ने मलाई आजभोली तिहार आएपनि खासै मनैदेखि रमाइलो भने लाग्दैंन। आजभोली भने अरुले गरेको रमाइलोमा नै चित्त बुझाउनुपर्ने अवस्था छ। हाल म गृह जिल्लामा नै भएकोले चाडपर्वमा छोटो समय भएपनि पारिवारिक जमघट गर्ने गर्छु। विगतका वर्षहरुमा दुर्गम क्षेत्रमा कार्यरत हुँदा तथा चाडपर्व मनाउन नपाउँदा ज्यादै नरमाइलो लाग्थ्यो। तिहारमा पनि घर नआई बिरामीको सेवामा भाइटिकाको दिन पनि खटिएको थुप्रै अनुभवहरु मसँग छन्।
(भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)