म विगत १५ वर्षदेखि नै नर्सिङ पेशामा रहेको छु। हाल भरतपुर अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत छु। नर्सिङ पेशामा लागेसँगै २४ सै घन्टा सेवाका लागि तयार हुनुपर्ने हुन्छ। अझै नर्सिङ इन्चार्जले भने निश्चित समयको ड्युटीका साथै अन्य जिम्मेवारीसमेत पुरा गर्नुपर्ने हुन्छ। नेपाल सरकारले तोकेको ७ घन्टा आफ्नो जिम्मेवारी पुरा गर्दैमा मैले ड्युटी सकियो भन्न पाउने अवस्था हुँदैंन। आवश्यक परेको अवस्थामा जुनुसुकै बेला पनि बिरामीको सेवामा खटिन तयार हुनुपर्ने हुन्छ। मेरो पेशागत जिम्मेवारीले पनि ड्युटी समय सकिएपछि आफू सेवाबाट अलग भएको मैले भन्न मिल्दैन।
पेशागत जीवनको सुरुवातको समयमा मैले कुनै चाडपर्वमा पनि बिदा बस्न पाएको अनुभव नै छैन। म परिवारको एक्लो छोरी त्यतिबेला तिहारमा दाजुभाईलाई टिका लगाउन नपाएकोमा मलाई धेरै नै नमज्जा लाग्ने गर्थ्यो। त्यतिबेला नर्सिङ पेशा नै छोड्न मन लागेर राजीनामा दिन कति दिन त म प्रशासनतर्फ पनि पुग्ने गर्थे। तर अहिले भने उमेरमा आएको परिपक्वता तथा अनुभवले पनि म यसप्रति सन्तुष्ट छु। अहिले म यस पेशासँग रमाउन थालेको छु। बिरामीको सेवा लाग्दा आजकाल त्यसले मलाई खुसी दिएको छ।
अहिले कुनै दिन त म २४ घन्टा नै बिरामीको सेवामा रहेको हुन्छु। यद्यपि त्यसले मलाई खुसी नै दिइरहेको हुन्छ। त्यतिबेला पनि मलाई अहिले आफ्नो पेशाप्रति कुनै पीडाबोध हुँदैन।
मैले तिहारको लागि आफ्नो विभागमा अनकल ड्युटी राखेर काम गरिरहेको छु। निमित नर्सिङ प्रमुखका रुपमा समेत काम गरिरहेको अहिलेको अवस्थामा मैलै इनडोर सेवालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेर स्वास्थ्य सेवा प्रवाह गर्ने योजना बनाइरहेको छु। त्यसका लागि वार्डमा विभिन्न कर्मचारीहरु व्यवस्थापन गरी ड्युटी गरिरहेको अवस्था छ। यसपालिको तिहार बिदामा नर्सिङ तर्फबाट कुनै पनि कमजोरी नहोस् भन्ने हिसाबले मैले काम गरिरहेको छु।
मेरो गृह जिल्ला गुल्मी भएपनि यसपालिको तिहारमा भने घर जाने योजना छैन। यसपालिको तिहार चितवनकै रामपुरमा मनाउने योजना मेरो छ। तिहार बिदामा पनि आवश्यक परेको जुनुसुकै समयमा पनि बिरामीको सेवामा रहने लक्ष्यका साथ यसपालिको तिहारमा स्वास्थ्य सेवा दिने मेरो योजना छ।
नर्स बन्न शिक्षकबाट प्रेरणा पाएँ
मैले मेरो विद्यालय शिक्षा गुल्मी जिल्ला कै एक सरकारी विद्यालयबाट पुरा गरें। स्कुल जीवनदेखि पढाइमा सधैं प्रथम हुने भएकोले शिक्षकहरुले मलाई नर्स बन्नका लागि सल्लाह दिने गरेका थिए। त्यसै कारण मलाई पनि नर्सिङ पेशाप्रति झुकाव बढ्दै गयो। त्यसैको प्रेरणाले पछि गएर नर्स नै बनें। यद्यपि मेरो क्षेत्रमा नर्सिङ पढेका दीदीबहिनी भने त्यतिबेला कोही पनि थिएनन्। कक्षा ४ मा पढेदेखि नै नर्स बन्नका लागि म उत्प्रेरित थिए।
विवाहपश्चात् पनि पेशागत जीवनमा खासै कठिन अवस्था भने आएन। तर जब म आमा भए।त्यसपछि नर्सिङ पेशालाई सँगसँगै लैजानका लागि विभिन्न कठिनाइहरुको सामना गर्नु परेको थियो। बच्चा जन्मिएपछि २४ सैं घन्टा सेवाका तत्पर हुनुपर्दाको अवस्थामा यो पेशा छोडौं भन्ने सोचाइ मेरो दिमाखमा पटक पटक आएको थियो। घर परिवार आफन्त तथा नजिक मानिसहरुको सल्लाहका कारण पनि मैले पेशा छोडिन। बच्चा हुर्किएपछिको समयमा भने केही सहज हुँदै गएको छ। तर पनि अझै पनि कुनै बेला बच्चाहरुका लागि समय दिन नपाउँदा भने खल्लो लाग्छ।
नर्सिङ पेशामा रहेका चुनौती
२४ सै घन्टा काम गर्नका लागि तयार हुनुपर्ने भएकोले यस पेशा धेरै चुनौतीहरु कायम भएको अवस्था छ। योग्यता तथा क्षमताअनुसारको काम नपाउँदा यस पेशामा झनै चुनौती थपिएको अवस्था छ। अस्पतालमा बिरामी तथा नर्सको अनुपात नमिल्दा विभिन्न प्रकारका अपजसहरु नर्सले खेप्नुपरेको छ। नर्सिङ पेशामा बढी मात्रामा महिलाहरु भएकोले लिंगका आधारमा विभिन्न प्रकार विभेद समेत हुने गरेको छ। अहिलेको समयमा नर्सिङ पेशामा ब्रेन डेनको अवस्थामा बढेको छ। आकर्षक कमाइ तथा सुविधाजनक जीवनशैलीका लागि नर्सहरु विदेशिने क्रम एकदमै बढेको अवस्था छ। नेपालमा नर्सिङ पेशाप्रति सन्तुष्टीको अवस्थामा धेरै नर्सहरु रहेका छैनन्।
(भरतपुर अस्पतालमा कार्यरत सिनियर नर्सिङ अफिसरसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)