शनिबार राती सुतिरहेका थियौं। भंकम्पले एक्कासी घर हल्लायो। सबै ढोकाहरु बन्द भए,घरका ढुंगाहरु शरीरमा खस्दै गरेको अवस्थामा बल्लतल्ल हामी ढोका खोलेर बाहिर निस्कियौं। छोराछोरी अर्कै कोठामा थिए। जेठी छोरी बाहिर निस्केपनि कान्छी छोरीलाई भने च्यापिएको अवस्थामा बाहिर निकाल्यौं।
घर पूर्णरुपमा क्षतिग्रस्त भई बस्नै नसक्ने अवस्थामा छ। भूकम्पमा परि छोरी घाइते भएपछि हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याइयो। छोरीको एक खुट्टाको हड्डी दुई र अर्को एक ठाउँमा भाँचिएको रहेछ। हिजो मात्रै चार पाँच घन्टा लगाएर चिकित्सकहरुले उनको सफल शल्यक्रिया गरेका छन्।
छोरीको खुट्टा चाँडै नै सन्चो हुनेमा आशावादी छु। भूकम्प आउँदै गरेको अवस्थामा खाट तथा ढोकाको आडमा बस्न खाेज्यौं। तर जब घरका भित्ताहरु भत्कन थाले हामी भागेर बाहिर निस्कयौं।
मेरो १३ वर्षिया कान्छी छोरी सम्पदा सिंह पनि घाइते भएर उपचारका क्रममा रहेकी छन्। उनी ९ कक्षामा अध्ययनरत्त छिन्। मेरो छोरा काठमाडौंमा स्नातक तहमा अध्ययनररत्त रहेका छन्। भूकम्प आउँदा दशै तिहार बिदा भएकोले उनी जाजरकोटमै थिए। उनले घर भत्किन थालेपछि सिरक ओढेर ढुंगाको प्रहार खपी दुई बहिनीहरुलाई बचाए।
भाग्यवंश भनौ छोरालाई अलि अलि चोट लागेपनि उनी खतरामुक्त रहेको अवस्था छ। अन्य व्यक्तिगत समस्याहरु भएपनि उपचारका लागि भने कुनै प्रकारको समस्या हामीले सामना गर्नुपरेको अवस्था छैन।
वास्तविक पिडित, घाइते तथा मृत्तक परिवारप्रति सम्मानजनक तरिकाले सरकारको राहत कार्यक्रम पुगोस् भन्न चाहन्छु। बारपाक भूकम्प पश्चात् पुननिर्माण भएजस्तै हाम्रो क्षेत्रमा पनि पुननिर्माणका कार्यक्रम सञ्चालन होस्।
जाजरकोट बारेकोट गाउँपालिकाका सिंहसँग स्वास्थ्यखबरले गरेको कुराकानीमा आधारित