भूकम्प आएको समयमा म रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थिएँ। भूकम्प आउँदा खाना खाइसकेर सुतिसकेको थिएँ। मस्त निन्द्रामा रहेको बेला भूकम्पले घरहरु भत्किन थाले। सबैजना भागाभागको स्थिति भयो। भूकम्पका कारण घरहरु भत्किने तथा गाईभैंसी मर्ने स्थिती आएपनि चौरजहारी नगरपालिकामा भने मानवीय क्षति हुन पाएन। मानवीय क्षति नभएपनि त्यहाँ भौतिक संरचना भने प्रयोग गर्न नमिल्ने गरी चर्किएको अवस्था छ।
मेरो कार्यक्षेत्र जाजरकोट अस्पताल थिएन। तर म त्यहाँ गएर सेवा गर्नुपर्छ भनेर त्यता तर्फ लागेँ। भूकम्म गएको भोलिपल्ट बिहान ९ बजे म जाजरकोट अस्पताल पुगें। म अस्पताल पुग्दा बाहिरबाट कुनै पनि मेडिकल टिम तथा हेलिकप्टर समेत जाजरकोट अस्पताल पुगिसकेको अवस्था थिएन। अस्पताल पुग्नासाथ जाजरकोट अस्पतामा कार्यरत स्वास्थ्यकर्मी साथीहरुसँगै म पनि भोलेन्टिएरको रुपमा काम गर्न थालें।
सुरुमा जाजरकोट जिल्लाको भेरी नगरपालिका, रुकुमको आठबिसकोट नगरपालिका जस्ता नजिकका बिरामी आउन सुरु भए। दिउँसो १२-१ बजेपछि मात्रै भूकम्पको केन्द्रबिन्दु मानिएका स्थानका घाइते बिरामीहरु आउन थाले।
जाजरकोट अस्पताल पुग्दाको कहालीलाग्दो अवस्था
भूकम्प गएको भोलिपल्ट शनिबार बिहान ९ बजेतिर जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था कहाली लाग्दो थियो। घाइतेहरु छट्पटएको अवस्था, स्वास्थ्य सामग्री तथा जनशक्तिको अभावका कारण घाइतेहरुको उपचार गर्न नसकेर निरीह भइ बस्नुपरेको अवस्थामा म जाजरकोट अस्पताल पुगेको थिएँ।
बेड अभावका कारण भुईंमा त्रिपाल ओच्छ्याएर बिरामीहरुको उपचार गर्नुपर्ने अवस्था थियो। अत्याधिक भिडभाडका कारण जाजरकोट अस्पतालको स्वास्थ्य सामग्री तथा जनशक्तिले उपचार धान्न हम्मे हम्मेको थियो। कुन घाइतेलाई पहिलो प्राथमिकतामा राखी उपचार सुरु गर्ने भन्दै स्वास्थ्यकर्मीहरु समेत आत्तिएको अवस्थामा म जाजरकोट अस्पताल पुगेको थिएँ।
भागदौडका क्रममा सामान्य तथा गम्भीर घाइते भएकाहरु अस्पतालमा आए। हिजोसम्म पनि आउने क्रम जारी नै छ। हिजोबाट उद्दार कार्य सकिएपछि अस्पताल आउने क्रम रोकिएको अवस्था छ।
हाल जाजरकोट अस्पताललाई स्वास्थ्य सामग्री जनशक्ति लगायतका सहयोग देश तथा विदेशबाट प्राप्त भइसकेको अवस्था छ। जाजरकोट अस्पतालमा सामान्य प्रकारका चोटपटक भएका घाइतेहरुमात्रै उपचार भइरहेको छ। अहिले जाजरकोट अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मी पर्याप्त मात्रामा रहेको अवस्था छ।
गम्भीर प्रकारका घाइतेहरुको उपचार प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज तथा काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ।
अझै स्थिति सामान्य भएको छैन
भूकम्पपश्चात् अझै पनि स्थिति सामान्य नभइसकेको अवस्था छ। मृतक परिवारका सदस्यहरुमा मानसिक डर तथा भयको स्थिति कायमै रहेको छ। वडा कार्यालयमा राहत सामग्रीहरु थुप्रिएपनि अझै पनि पीडीत समक्ष ती सामग्रीहरु नपुगेको अवस्था छ।
पीडीतहरु अझै पनि खुला आकाश मुनि नै रात काटिरहेका छन्। जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्रीहरु पुगेपनि अझै पनि स्वास्थ्य चौकीहरुमा भने भएको स्वास्थ्य सामग्री सकिएको र अझै स्वास्थ्य सामग्री नपुगेको अवस्था छ। दूषित पानी तथा चिसोका कारण पखाला, हैजाजस्ता महामारी फैलन सक्ने सम्भावना छ। गाउँ-गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्रीहरुको स्टक कम छ।
-स्वास्थ्यकर्मी पुरन केसीले स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंसँग साटेको अनुभव