काठमाडौं– कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा छिमेकी जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्दै उपचार र राहत तथा उद्धार गर्ने निर्णय गरेको छ।
बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मुख्यमन्त्री कार्यालयका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय गरेको हो।
बिहानै कर्णाली प्रदेश सरकारले औषधिसहितको हेलिकोप्टर जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ। मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।