जाजरकोट- गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार अस्पताल प्रमुख डा प्रतिक्षा भारतीको नेतृत्वमा उपचारको काम भइरहेको छ।
खत्रीका अनुसार अस्पतालको क्षमताभन्दा बढी घाइते उपचारका लागि आएका कारण व्यवस्थापनमा भने कठिनाई भइरहेको छ। उनले नेपली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट मेडिकल टोली आइसकेका कारण उपचारमा केही सहजता भएको छ।
'अहिले स्थिति एकदमै गम्भीर छ। हामीले कति घाइते आए भन्ने गणाना भन्दा पनि फटाफटा उपचार गरिरहेका छौं। सामान्य घाइते कति भन्ने संख्या थाहा छैन। गम्भीर अवस्थामा भने १० जनाभन्दा बढी छन्,' उनले भने, 'अस्पतालमा मृतकको संख्या ३१ पुगिसकेको छ। ७ जना गम्भीरलाई रेफर गर्नपर्ने अवस्था छ। उपलब्ध स्रोत र साधनले भ्याएसम्म उपचार सेवा दिइरहेका छौं।'
उनका अनुसार अस्पताल आकस्मिक कक्षमा रेड जोन, ग्रिन जोन र एल्लो जोन र प्यासेजहरुमा समेत घाइतेको उपचार भइरहेको छ।
उनले नजिककै भेरी नगरपालिकाबाट केही पारामेडिक्स र नर्सहरु आएर सेवा दिइरहेको समेत जानकारी दिए।