काठमाडौं– शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको हो।
यस्तै जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्।
रुकुमपश्चिमबाट उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० र जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४५० जना प्रहरी परिचालन गरिएको छ भने कर्णाली प्रहरी गण सुर्खेतबाट ३६ जनाको टोली जाजरकोटका लागि हिँडेको छ।
चौरजहाजरी बेस क्याम्पबाट १० जना रुकुम पश्चिम र १० जना जाजरकोटका लागि खटिएको छ।
यस्तै डीआजीपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली र नेपाली सेनाको लेफ्टिनेन्टको कमाण्डमा ११ जनाको उद्धार टोली एमआई–१७ हेलिकोप्टर बिहान ७ बजेर ५७ मिनेटमै जाजरकोटका लागि टेकअफ भएको थियो।
मध्यराति गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका धेरै घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ। यस्तै बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।