काठमाडौं- धनगढी उपमहानगरपालिकाले त्यहाँस्थित अस्पतालमा आउने विपन्न , असहाय र बेवारिसे बिरामीका लागि छुट्याउनु पर्ने १० प्रतिशत निशुल्क शय्या कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नगर भित्रका १२ वटा निजी अस्पताललाई ध्यानाकर्षण गराउँदै उपमहानगरले १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने नियम कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ।
उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो।
मायामेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालि, सीपी अस्पताल प्रालि, ओम आशा अस्प्ताल प्रालि, नोभा अस्पताल प्रालि, सारथी अस्पताल प्रालि र धनगढी नेत्रालय प्रालिलाई पत्र लेख्दै उपमहानगरले त्यस्तो चेतावनी दिएको छ।