माओवादीको वडा इन्चार्ज थिए। डीएसपीले कुटेर मेरो ढाड भाँचिदियो। त्यसपछि ३ वर्ष थला परेँ। ठिक भएपछि फेरि पार्टीमा सक्रिय भएँ। अहिले पनि काम गरिरहेको छु।
संकटकालमा मेरो जिम्मेवारी बुढापाका, अन्य पार्टीका कार्यकर्ताहरुलाई माओवादीमा आबद्ध गर्ने थियो। मैले उनीहरुलाई माओवादीमा ल्याउँथे। गाउँघरमा पनि मलाई राम्रो मान्थे। गाउँमा बनाएका जाँड फाल्थें, जुवातास खेल्नेलाई कारबाही गर्थें।
म आउँदैछ भनेपछि उनीहरु पहिले नै सतर्क हुन्थे। मैले भन्थें– खाए पनि आफ्नो हिसाबले खाने, हल्ला-सल्ला गर्ने होइन भन्थें। हल्ला गर्यौ भने मार खान्छौं भन्थें।’
मलाई ‘हुन्छ सर’ भन्थे। त्यसपछि यता माओवादी पार्टीमा आउ भन्थें। बन्दुकको धुवाँ र खुकुरीको धारबाट मन्त्रालय, सत्ता ल्याउने हो भन्थें। माओवादीले सत्ता ल्यायो पनि।
कालिबहादुर मल्ल, एक जना मगर थिए नि। नन्दकिशोर पुन पासाङसँग पनि भेट भएको थियो। अरु ठूला–ठूला नेतासँग पनि भेट भयो। उनीहरुलाई त ३/४ जना गार्ड हुन्थे। उनीहरु आएपछि परसम्म पुर्याएर, छोडेर आउनुपर्ने। एक ठाउँदेखि अर्को ठाउँसम्म एउटा, त्यसपछि अर्को टिमले पुर्याउँथे।
मार्लान् भन्ने डर थियो। कतिखेर घेरामा पर्ने थाहा हुन्थेन। म पनि घेरामा परें। पाँचकट्टीको घेरामा परेको थिएँ। अर्चनेको घेरामा पनि परेँ। बोहराको घेरा पनि परेको थिएँ। मर्नु भनेको रैनछ मरिएन। बाल–बाल बाँचियो।
एउटा घेरामा परेको थिएँ ‘एई कहाँ हँ?’ भनेर पुलिसले सोध्यो।
त्यतिबेला म टीबीको औषधि खान्थें। ‘औषधि, पूर्जा देखाएर टीबीको औषधी लिन हिँडेको हुँ’ भनें।
‘लौरो ल्या भन्दै लौरो निकालेर तँ माओवादीको सीआईडी होइन?’ भनेर पुलिसले भन्यो।
मैले भनें, ‘नाइँ होइन सर। म त माओवादीको सीआईडी नि होइन, केही पनि होइन सर। म त टीबीको औषधि लिन हिँडेको हुँ।’
त्यसपछि प्रहरीले यहाँ बस भुइँमा भन्यो। म बसें।
‘अनि के गर्छस् तँ?,’ प्रहरीले भन्यो।
‘औषधि खान्छु, घर गइहाल्छु,’ मैले भनें।
‘तँ सीआईडी होस्, हामीलाई मार्न आएको होला’ भन्दै प्रहरीले केरकार गर्यो।
‘नाइँ–नाइँ सर, कोही मार्ने मान्छे होइन म। जनता पनि मार्दिनँ, माओवादी पनि मार्दिनँ, तपाईंहरुलाई मार्ने मान्छे होइन म,’ मैले भनें।
त्यसपछि डीएसपीले सोध्यो, ‘ओई के खान्छस्?’
‘केही खान्न सर चुरोट खान्छु। याक चुरोट खान्छु’ भनें।
त्यसपछि याक चुरोट दिए र खाएँ। अनि माओवादीकोमा नपुग्ने है मर्छस् भन्यो।
यत्रा-यत्रा हातखुट्टा भएका, तपाईंका खुट्टा जत्रा त उनीहरुका हात थिए। अनुहारभरि रौं आएको थियो। अनि उसले जा घर अब भन्यो। म घर गएँ।
त्यतिबेला १ नम्बरदेखि ९ नम्बरसम्म धेरै माओवादी थिए। म १ नम्बरको परेँ। डीएसपीले चाहिँ तँ माओवादी नै हो भन्दै धेरै केरकार गरेको थियो।
यहाँको प्रधान हामीले बनाएको भीमबहादुर प्रधान डाँडागाउँको हाम्रै ज्वाईं हो। उनले पनि यहाँ कहाँ माओवादी छर, छैन भन्यो। अनि बाँचियो।
म अझै पनि माओवादी मै छु। केही गर्लान् भन्ने अझै आश छ। ७७ वर्षको भएँ, अहिले पनि माओवादी नै हो। यता वरपर कतै माओवादीको कार्यक्रम भयो भने सकेसम्म छुटाउदिनँ। अझै १० वर्ष यो ठाउँमा माओवादी नै आउँछ। अरुले आस नगरे हुन्छ।
जुन आशा थियो त्यो चाहिँ माओवादीले गर्न सकेन। गरेन भनौं भने पनि रोड ल्याएका छन्, बिजुलीका पोल ल्याएका छन्, खानेपानी कान्लाबाट ल्याएका छन्। रोड खन्दैछन्, राम्रो पनि भकै छ।
यही क्षेत्रका मान्छे शक्ति मन्त्री बनेका छन्। प्रचण्ड प्रधानमन्त्री छन्। म घाइते मान्छे। माओवादीमा लागेर ढाड भाँचियो। मैले अहिलेसम्म २०/३० हजारभन्दा पाएको छैन। अब म मर्न लागेको मान्छे। मैले मेरो जग्गामा वडा कार्यालय राख्न दिएँ। स्वास्थ्य चौकीका लागि जग्गा दिएँ। बर्थिङ सेन्टरका लागि जग्गा दिएँ। शिलालेख र अब यहाँ हामी बुढाबुढीको प्रतिमा बनाइदिनूस् भन्छु।
(जाजरकोटको नलगाड नगरपालिका-१, अनापानीका ७७ वर्षीय कृष्णबहादुर पुनले नारायण अधिकारीसँग साटेको संकटकाल अनुभव।)