दशैंको समयमा बिरामीलाई स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको छ। गत साल दशैंको समयमा नै हजुरबुबा बित्नुभएको थियो। त्यो घटनाले मलाई दशैं आउँदा पनि नरमाइलो लागिरहेको छ। तर दशैंका समयमा बिरामी भएकाहरुको सेवा गर्न पाउँदा खुसी मिलेको छ। विशेष गरी उहाँकै सम्झनामा दशैंको बेला मैले बिरामीहरुलाई सेवा दिइरहेको छु।
आफ्नै रोजाइमा चिकित्सक बनेकोले पनि होला दशैंको समयमा पनि काम गर्नु पर्दा मलाई कुनै पनि नमज्जा लागेको छैन। जतिबेला पनि सेवा दिन तयार हुनुपर्ने हामीले त्यस्तो सोच्नु हुँदैन भन्ने मलाई लाग्छ।
दशैंमा समयमा बिरामीको सेवामा बिताउने बाहेकका खासै योजना यो दशैंमा मेरो छैन। गत वर्षको दशैंमा पनि मेरो इन्टर्नसिप थियो। दशैंको समयमा म मेरो हजुरबुबालाई एकदमै सम्झिरहेको हुन्छु। उहाँ हुँदा हाम्रो परिवारमा दशैंको रौनक नै भिन्नै थियो।
मेरो घर काठमाडौंको घट्टेकुलो हो। विगतका दशैंमा हामी परिवार, आफन्त, नातागोतासँग भेटघाटमा व्यक्त हुन्थ्यौं। यो दशै विगतका दशैंभन्दा नितान्त फरक हुँदैछ। दशैंको समयमा हामी सानो हुँदा हजुरबाले हामीलाई चंगा उडाउन प्रेरित गर्नुहुन्थ्यो। साथै पारिवारिक जमघटको महत्व पनि मैले हजुरबुबाबाट नै पाएको हुँ। लामो समयदेखि जमघट हुन नपाएका आफन्त तथा नातागोताबीच भेटघाट हुने महत्वपूर्ण चाड दशैं हो भन्ने लाग्छ।
वीरको आइसीयूमा म कार्यरत छु। पछिल्लो समय मोबाइल तथा इन्टरनेटको अत्याधिक प्रयोगले दशैंको रौनक नै घटिरहेको छ। हामी सानो छँदाको दशैं-तिहार जस्ता चाडपर्वमा किनिने नयाँ लुगा, चंगा उठाउने जस्ता कार्यले यस्ता चाडपर्वको रौनक थपिएको आभास हुन्थ्यो। आजकाल त्यस्तो रौनक कम हुँदा चाडपर्व नै फिक्का लाग्ने गरेको छ। प्रविधिको अत्यधिक प्रयोगले आजकाल मानिसहरु साथीभाइ, इष्टमित्र भेटघाटमा कमै रमाउने गरेको पाइन्छ। प्रविधिको प्रयोगले आफ्नै बुबाआमाबाट नै सन्तान टाढिएको आभास दिइरहेको छ।
-(वीर अस्पतालमा कार्यरत मेडिकल अफिसर जोशीसँग स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)