काठमाडौं– ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।
चिकित्सकको सल्लाहअनुसार उनले आज सामान्य हिँड्डुलसमेत गरेका छन्। सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका छन्।
वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाको जानकारी लिएका थिए। त्यसक्रममा उनले पेकिंङ अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिइएको समेत जानकारी दिए।
बेइजिङ बाहिर रहेका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुगेका गिए। चिनियाँ परराष्ट्रमन्त्रीले पनि फुलको गुच्चा पठाउँदै प्रतिनिधिमार्फत् श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका थिए।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)'मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फ्रक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखा'मा अवरोध देखिएको अस्पतालले जनाएको थियो। उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत अस्पतालले जनाएको थियो।