पेरिस- गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ।
उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ। इजराइली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ।
उक्त हमलाप्रति यहाँ केही प्रमुख प्रतिक्रिया छन् :
संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टिनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भयभीत भएको बताउनुभयो। उहाँले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भर्त्सना गर्नुभयो।
अमेरिका
अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटबाट आफू आक्रोशित र अत्यन्त दुःखी भएको भन्दै विस्फोटबाट जीवनको भयानक क्षति भएको बताउनुभयो।
उहाँले उक्त खबर सुन्नेबित्तिकै आफूले तुरुन्तै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग कुराकानी गरेको जानकारी दिनुभयो।
इजिप्ट
राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजराइली बमबारीको कडा शब्दमा भर्त्सना गर्नुभयो। उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयाँै निर्दोषको मृत्यु भएको उहाँले बताउनुभयो।
उहाँले नियोजितरूपमा भएको बमबारीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन हो भन्नुभयो।
साउदी अरेबिया
क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजराइलको निरन्तर हमलाको निन्दा गरेको छ। उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको स्पष्ट उल्लङ्घन हो भनेको छ।
जोर्डन
जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजराइलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ।
त्यसपछि अम्मानले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा गर्यो र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गर्नुभयो।
अम्मानस्थित इजराइली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए।
युरोपेली युनियन
युरोपेली युनियनको विदेशमामिला प्रमुख जोसेप बोरेलले खेद प्रकट गर्दै एकपटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताउनुभयो।
“यो अपराधको जिम्मेबारी स्पष्टरूपमा स्थापित गर्नुपछ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ”, उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ।
इरान
इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गर्नुभयो। उहाँले अस्पतालमा भएको हमलाको बदला इजराइल र उसको सहयोगी अमेरिकाविरुद्ध हुने बताउनुभयो।
“गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि आज साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्”, राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले भनेको छ।
राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए। आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए।
इराक
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट ‘तत्काल समाधान’ का लागि आह्वान गर्नुभयो।
इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ।
टर्कीए
टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजराइली आक्रमणको पछिल्लो उदाहरण हो भन्नुभयो।
सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ, “गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु।”
फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताउनुभयो। “गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न”, उहाँले भन्नुभयो।
हेजबोल्लाह
इरान समर्थित लेबनानको हेजबोल्लाह मुभमेन्टले मङ्गलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’का रूपमा आह्वान गरेको छ। उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजराइललाई दोषी ठहर गरेको छ।
“बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो”, हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ,। उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ।
बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो। प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दाबाद’ र ‘अमेरिका मूर्दाबाद’ भन्ने नारा लगाएका थिए।
अरब लिग
अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताउनुभयो। “हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्”, उहाँले चेतावनी दिँदै भन्नुभयो।
अफ्रिकी युनियन
अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाउनुभयो। “सयौँ मानिस मारिने गरी आज गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरारूपमा शब्द नै छैन”, इजराइलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उहाँले भन्नुभयो।
कतार
कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र “रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध” भनेको छ। एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई “अन्तर्राष्ट्रिय कानूनका प्रावधानहरूको गम्भीर उल्लङ्घन” र “भिडन्तका क्रममा भयानक वृद्धि” भनेको छ।
ट्युनिसिया
मङ्गलबार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए। ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएको थिए।
प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास हुनुहुन्न भन्ने नारा लगाएका थिए।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ। “अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भर्त्सना गर्दछ”, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिकरूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ।”
आइरीआरसी
इन्टरनेसनल कमिटी अफ दि रेड क्रस (आइसीआरसी) ले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ।
एमएसएफ
मेडिकल च्यारिटी डक्टर्स विथआउट बोर्डर्स (एमएसएफ) ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ। “गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भयभीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए”, एमएसएफले भनेको छ।एएफपी