काठमाडौं- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्।
भारतको लेकसोर अस्पतालका डा शिल्भा कुमार नागानाथमको सहयोगमा शुक्रबार भएको शल्यक्रियामा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोली थियो। केन्द्रमा शुक्रबार भएको प्रत्यारोपणसहित कुल १४ जनाको कलेजो प्रत्यारोपण भएको छ।
केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो । सोही केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको थियो। डा श्रेष्ठले स्थापनाको ११ वर्षको अवधिमा यस केन्द्रबाट देशमा सबैभन्दा धेरै १ हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको बताए।
त्यसो त कलेजो प्रत्यारोपणलाई संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने गरिएको छ। निर्देशक डा श्रेष्ठले सेवामा वृद्धि संगै केन्द्रले स्वदेशी चिकित्सकको दक्षता अभिबृद्धी गर्दै आएको बताए।
अहिले केन्द्रमा कलेजो प्रत्यारोपण कम्तीमा १५ लाखमा रुपैयाँमा हुने गरेको छ।
केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए।
केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समते अनुरोध गरेको छ।