काठमाडौं– रक्षा क्यान्सर केयर सोसाईटीले भक्तपुर दरबार स्क्वायरमा स्तन क्यान्सरसम्बन्धी सचेतना र्याली निकालेकोछ।
वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य तथा वरिष्ठ गायिका मिरा राणाले संयुक्त रुपमा रिबन काटेर सुरु भएको करीब ४०० जनाको सो र्याली दरबार स्क्वायरबाट दत्तात्राय हुँदै पाचतले मन्दिरमा विशेष कार्यक्रम गरी समापन गरेको थियो।
सो कार्यक्रममा रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष डा सृष्टी श्रेष्ठ प्रजापतिले क्यान्सर जीवनको पूर्णबिराम नभई क्यान्सर पछिको जीवन पुनर्जिवन रहेको बताइन्। उनले समयमा नै क्यान्सर पत्ता लागे र सहि उपचार भएमा यो पूर्ण रुपमा निको हुने बताइन्। क्यान्सर रोग विश्वमा नै बढ्दै गइरहेको र स्तन क्यान्सर पहिलो स्थानमा रहेको उनले बताइन्। यससम्बन्धी सचेतना जगाउन सो र्यालीको आयोजना गरिएको उनले जानकारी दिइन्।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नभएको र जनचेतना नभएको कारण ज्यान गुमाउनु परेको बताए। यस्ता सन्देश विभिन्न मिडियाबाट गाउँ-घर र कुना काप्चामा पुर्याउन सके समयमा नै उपचार हुने र निको हुने बताए।
वरिष्ठ गायिका मिरा राणाले आफूलाई पनि स्तन क्यान्सर भएको र बेलायतबाट उपचारपश्चात भर्खरै नेपाल फर्केको आएको भन्दै क्यान्सरसम्बन्धी जनचेतनाको आवश्यकता रहेको बताइन्।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ प्रमुख अतिथी रहेको सो कार्यक्रममा मिस नेपाल शृच्छा प्रधान, हिडन ट्रेजररका अध्यक्ष दिवाकर राजकर्णिकार, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल समेतको उपस्थीती रहेको थियो भने गायक धिरज राई, बिरेन्द्र मालाकर तथा तिलस्मी प्रजापति समेतले साङ्गितिक प्रस्तुती दिएका थिए।