धरान- बायो–इथिक्स दिवसको अवसरमा धरानमा विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिएको छ।
बायो–इथिक्स नेपाल एकाईको आयोजनामा भएको चेतनामुलक कार्यक्रम शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन गरिएको हो। कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको थियो।
‘भावी पुस्ताको संरक्षण’ अवधारणामा विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए। नेपाल एकाईका प्रमुख तथा नेपालका लागि कार्यक्रम संयोजक प्राडा धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर तथा फोटोहरुको प्रतियोगिता भएको थियो।
प्राडा रविराम श्रेष्ठ, डा रविन मास्के, डा अशोक ऐर र बसन्त गेलाल निर्णायक रहेको फोटोग्राफी प्रतियोगीतामा सुरजा शाक्य, आसु झा र शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भए।
त्यस्तै प्राडा रविराम श्रेष्ठ, डा रविन मास्के, डा सरुन कोइराला, डा किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य, प्राडा रविराम श्रेष्ठ, डा रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली, प्राडा धनरत्न शाक्य, खेम सुबेदी र डा रिता खड्का निर्णायक रहेको निबन्धमा सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्राडा धनरत्न शाक्य, डा अशोक ऐर, डा किशोर गुरुङ र डा रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भए।
नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएको छ।
कार्यक्रम संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिक रोग विभागका प्रमुख प्राडा धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हँुदै जाने बताए। उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, निति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निर्णय लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे। प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई दिए।
कार्यक्रम बायोइथिक्स संकायका अक्षता वस्ती र क्रिस आचार्यले सञ्चालन गरेका थिए। कार्यक्रममा डा गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी प्रस्तोता ओमकुमारले प्रस्तुति राखे। विद्यार्थी सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोलेका थिए।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो। सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ। युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ।