काठमाडौं– आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ। सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।
यस वर्ष ‘हाम्रो हात, हाम्रो भविष्यज्ञ !’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो। सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो। जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो।
विभिन्न अध्ययनले कीटाणुबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपायका रुपमा साबुनपानीले हात धुनु रहेको निष्कर्ष निकालेका छन्। साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ।
सफा हात स्वस्थ जीवनका लागि अति नै आवश्यक छ। सरुवा रोग फैलिन नदिन हातको सफाई महत्त्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।
रोग फैलन नदिन सहि तरिकाले हात सफा गर्नुपर्छ। साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनुपर्छ। विभिन्न संक्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु नै सबैभन्दा सर्वसुलभ, सजिलो र महत्त्वपूर्ण उपाय भएको चिकित्सकहरु बताउँछन्।
स्वस्थ्य जीवनका लागि स्वच्छ हात महत्त्वपूर्ण हुन्छ। त्यसैले त भन्ने गरिन्छ– तपाईंकै हातमा छ तपाईंको जीवन!