काठमाडौं- सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो वर्षपनि विश्वभरी नै विश्व दृष्टि दिवस मनाइएको छ।
यस वर्क्ष ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मुल नारासहित विभिन्न कार्यक्रम गरि मनाइएको छ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन फर द ब्लाइन्डनेसले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज अक्टोवर १२ तारिख (असोज २५ गते)का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।
नेपाल नेत्रज्योति संघले विगतमा जस्तै यो वर्षपनि आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ। संघ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको आँखा जाँच सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाइएको हो।
संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने काठमांडौको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरुमा समेत जनचेतना मुलक भिडियो प्रसारण गरिरहेको छ।
दृष्टि दिवसका अवसरमा आयोजित टिकटक प्रतियोगितामा पौडेल प्रथम
दृष्टिदिवसका अवसरमा नेपाल नेत्रज्योति संघले आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन्। संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन।
त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतिय भएकी छन्। संघले एक कार्यक्रमको आयोजना गरि विजेतालाई पुरस्कृत गरिनेछ। प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिनेछ।
संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे।