चितवन- नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पु¥याउनुपर्ने भएको छ। आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ।
भरतपुर आँखा अस्पतालका कम्युनिटी अप्थाल्मोलोजिष्ट प्रा डा सोनु दुलाल सहरी क्षेत्रमा राम्रा अस्पताल र चिकित्सक भएका तर धेरैजसो आँखाको समस्या दूरदराजको ग्रामीण क्षेत्रमा रहेको बताउँछन्।
उनले भने, “नेपालमा डाक्टर हुनुहुन्छ, उहाँहरु सहरमै बस्नुहुन्छ, सहरमै अस्पताल बन्छ। आँखाको सेवा लिनुपर्ने जनसमुदाय सहरबाट टाढा दूरजराजमा बस्नुहुन्छ।” नेपालको मात्रै नभएर संसारमै यही अवस्था रहेको उनको भनाइ छ।
आँखाको विषय त्यति जटिल नलागे पनि अन्धोपनको समस्या विकराल रहेको भन्दै उनले धेरैजसो देशमा सरकारले आँखाको उपचार सेवा दिन नसक्ने अवस्था रहेको बताए।
उनले भने- “जुन रोगबाट मानिसको तुरुन्त मृत्यु हुन्छ, त्यस्ता रोगको उपचारमा सरकारको प्राथमिकता हुँदोरहेछ। त्यसैले सरकारले आँखाको उपचारमा ध्यान दिन सक्दा रहेनछन्।” गैरसरकारी संस्थाले नै आँखा उपचार सेवा समुदायसम्म पुर्याउने चलन धेरै देशमा रहेको उनको भनाइ छ।
उनले भने, “नेपालमा पनि यही नै चलन छ।” विश्वस्वास्थ्य सङ्गठनले जारी गरेको तथ्याङ्क उद्धृत गर्दै उनले थपे, “विश्वमा दुई अर्ब २० करोड मानिसलाई आँखाको समस्या छ, त्यसको आधा अर्थात् एक अर्ब १० करोड मानिस आँखा उपचार सेवाबाट बञ्चित छन्।”
नेपालमा नेपाल नेत्रज्योति सङ्घ स्थापनाकालदेखि नै आँखा उपचारको सेवा दिँदै आएको भन्दै उनले अहिले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत देशभरमा २८ वटा अस्पताल र एक सय ६० भन्दाबढी आँखा उपचार केन्द्र रहेको जानकारी दिए। ती अस्पताल र आँखा उपचार केन्द्रमार्फत समुदायमा गएर आँखा उपचार सेवा दिँदै आएको उहाँले बताए।
नेपालमा आँखा रोग विशेषज्ञको सङ्ख्या राम्रो उत्पादन भएको भन्दै प्रा डा दुलालले भारतमा भन्दा नेपालमा नेत्र रोग विशेषज्ञ सङ्ख्या राम्रो रहेको बताए। उनले भने, “नेपालमा एक लाख जनसङ्ख्यामा एक जनाभन्दा बढी अर्थात् एक लाख जनसङ्ख्यामा १.२ डाक्टरको अनुपात (रेसियो) छ। भारतमा एक लाख जनसङ्ख्यालाई एक जना नेत्ररोग विशेषज्ञको मात्र व्यवस्था छ।”
अन्धोपनको प्रमुख कारण मोतियाविन्दु भएको भन्दै प्रा डा दुलालले भने, “मोतियाविन्दु हामीले नेपालभरिमा शल्यक्रिया ग¥र्यौं भने अब सिद्धियो भन्ने हुँदैन। अर्काे वर्ष नयाँ मोतियाविन्दुका बिरामी भेटिन्छन्।”
सहर र आसपासमा हुनेहरु अलिअलि मोतियाविन्दु हुँदा नै उपचार पहुँचमा हुने भन्दै उनले, “जो मानिस ग्रामीण इलाका छन्। उनीहरुको आँखा एकदमै कमजोर हुँदा पनि उपचारका लागि जान सक्दैन।” अन्धोपन निवारणका लागिराज्यले नै स्वामित्व लिनुपर्ने प्रा डा दुलालले सरकारले सहजीकरण गरिदिनुपर्ने बताए।
नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ग्रामीण क्षेत्रमा शिविरमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए। आँखाका बिरामी गाउँमा धेरै रहेका स्वीकार गर्दै उनले सबै पालिकामा आँखा उपचार केन्द्र वा अस्पताल सञ्चालनका लागि सङ्घले काम गरिरहेको बताए।