काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर डाक्टर, नर्ससहित स्वास्थ्यसम्बन्धी विषय पढ्नका लागि विदेश जानुपर्ने अहिलेको बाध्यता हटाउने दाबी गरे।
मन्त्री बस्नेतले भने, ‘वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो। जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ। अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै प्रयाप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने शुनिश्चित हुनेछ।’
चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रिपरिषद् र राजनीतिक दलहरुका नेतासमेत सहमत रहेको बताउँदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौं विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गरे।