रुकुम पश्चिम- रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ। कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो।
गर्भवती तथा सुत्केरी र उनीहरुका कुरुवालाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो।
‘वान हर्ट वल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण गरिएको वान हर्ट वल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए।
उक्त घर निर्माणमा रु २९ लाख ४८ हजार खर्च भएको छ। यसमा अस्पताल विकास समितिले रु चार लाख खर्च गरेको छ।
“गर्भवती र तिनका कुरुवा अब निःशुल्करूपमा यहाँ बस्न पाउने छन्”, संयोजक भने। कुरुवा घरमा चार श्ययासहित भान्साको व्यवस्था छ। गर्भवती तथा सुत्केरीलाई मापदण्डअनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ।