काठमाडौं– खाद्य तथा कृषि संगठनले सन् २०३० सम्ममा कृषि उत्पादनका जोखिमका कारण विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान गरेको छ।
जसले ठूलो भोकमरी निम्त्याउने र भोकमरी उन्मुलनका लागि ठूलो चुनौतीको संकेत गरेको नेपाल कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताइन्।
४३ औं विश्व खाद्य दिवसका लागि गरिएको पत्रकार सम्मेलन बोल्दै पण्डितले नेपालको चालु १५ औं योजनाले नेपालमा २१ प्रतिशत जनसंख्या अझै पनि पर्याप्त खाद्यान्न पहुँच नभएको उल्लेख गरेकोसमेत बताइन्।
यस्तै सन् २०२२ को संयुक्त राष्ट्र संघको विश्व पानी दिवस (वर्ल्ड वाटर डे) अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसहरु अझै पनि सुरक्षित पानीको पहुँचबाट वञ्चित रहेको अनुमान गरिएको उनले बताइन्।
‘राष्ट्रिय जनगणना २०५८ का अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ। त्यसै गरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गामध्ये सिँचाइ सुविधा भएको जग्गाको क्षेत्रफल ५४.४ प्रतिशत रहेको छ,’ उनले भनिन्।
विकासोन्मुख देशहरुमा बस्ने किसानका लागि पूर्वाधारको अभावका कारण छेवैमा रहेका जलाशयसमेत उपयोग गर्न नपाउँदा सहरीकरणका कारण सहर र कृषिबीच ताजा पानीका लागि प्रतिस्पर्धा बढ्दो रहेको उनको भनाइ छ।
जसका लागि सहरी पानीको माग सन् २०५० सम्म ८० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको उनले बताइन्। जलवायु परिवर्तनका कारण अवस्था प्रतिकूल र भयावह हुँदै जाने देखिएको उनले बताइन्।
नेपालमा खाद्य सुरक्षाका लागि सरकारी तथा गैर सरकारी संसस्थाले पहल गरिरहेको उनले बताइन्। सन् २०३५ सम्ममा नेपाललाई खाद्यदान्नमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषि विकास रणनीति कार्यन्वायनमा ल्याइएको उनले बताइन्। दिगो विकास लक्ष्य अन्तर्गत ‘जेरो हंगर’को नीति नेपालले पनि अनुशरण गरेको उनको भनाइ छ।
जसका लागि विश्व खाद्य कार्यक्रम सार्क खाद्यान्न बैंक, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका विभिकन्न परियोजना सञ्चालित रहेको उनको भनाइ छ।
यस्तै कृषि जैविक विविधताको दीगो संरक्षणका लागि विसं २०७९ लाई कृषि जैविक विविधता वर्ष घोषणा गरी खाद्य सुरक्षालाई पूर्णता दिन पहल भइरहेको उनको दाबी छ। कृषि क्षेत्रका प्रमुख जोखिम न्यूनीकरण गर्न सरकारले बाली तथा पशुधनको बीमा, न्यूनतमसमर्थन मूल्य निर्धारण ,खाद्य आपूर्ति तथा व्यापार अर्थात बजार प्रवर्द्धनको व्यवस्था कार्यान्वयन भइरहेको उनले बताइन्।
‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने मूल नाराका साथ संयुक्त साष्ट्र संघको खाद्य तथा कृषि संगठनले यस वर्षको खाद्य दिवस मनाउने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको खाद्य दिवस नेपालमा अक्टोबर १२ अर्थात् असोज २५ गते मनाउने भएको जानकारी दिइएको छ।
विश्वव्यापी रुपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेता जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्ने कार्यलाई प्रवर्द्धन गर्नु तथा सबैका लागि स्वास्थ्य हाहार सुनिश्चित गर्न ध्यानाकर्षण गर्ने उद्देश्यकासाथ दिवस मनाउँदै आइरहेको छ।