मनहरी- मकवानपुरको हेटौँडा अस्पतालमा उपचारका लागि २५ शैय्यासहित मनोचिकित्सा वार्ड सञ्चालन हुने भएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौँडा अस्पतालमा मङ्गलबार २५ शय्याको मनोचिकित्सा वार्डसहित ओपिडी सेवा सुरुवात हुने जनाएको छ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले तीन चिकित्सक सम्मिलित टोलीले उपचार गर्ने बताए। अस्पतालमा सेवा पुनःसञ्चालनपछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने उनले बताए।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचन, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटालगायत सहभागी थिए।