आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि विभिन्न स्थानमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्दै दिवस मनाइन्छ। दिवसका अवसरमा रिदम न्यूरो साइक्याट्रिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा रिका रिजालसँग स्वास्थ्यखबरले कुराकानी गरेको छ:
मानसिक स्वास्थ्य के हो र किन महत्वपूर्ण छ?
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि मानिसले समाज तथा कार्यस्थलमा पूर्णरुपमा तनावमुक्त भएर काम गर्न सक्ने अवस्थालाई मानसिक रुपमा स्वस्थ भएको अवस्था भनेर बुझ्ने गरिन्छ। मानसिक रुपमा स्वस्थ नभएको मानिसले राम्रोसँग काम गर्न सक्दैन। यदि कुनै मानिसलाई पर्याप्त मात्रामा निन्द्रा नपुगेको अवस्थामासमेत त्यसले मानसिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ। मानसिक रुपमा ठीक नभएको मानिसले दैनिक कार्यसम्पादन सही रुपमा गर्न सक्दैन। मानसिक स्वास्थ्यको महत्व दैनिक रुपमा बढ्दै गइरहेको छ।
मानसिक रोगको कारण के हो?
मानसिक रुपमा स्वस्थ हुनका लागि तीनवटा पक्ष महत्वपूर्ण छन्। जसमा वंशाणुगत तत्वहरुको भूमिका महत्वपूर्ण मानिन्छ।सिजोफ्रेनिया भन्ने मानसिक समस्या वंशाणुगत कारणले हुन्छ भन्ने विभिन्न अध्ययनबाट पत्ता लागेको छ। यदि गर्भवती अवस्थामा आमाले बढी तनाव लिएमा, धूम्रपान तथा मद्यपान गरेमा त्यसले बच्चाको मानसिक स्वास्थ्यमा असर गर्छ। यी सबै बायोलोजिकल फ्याक्टर अन्तर्गत पर्ने गर्छन्।
दोस्रोमा साइकोलोजिकल फ्याक्टर पर्ने गर्छन्। यसमा मानिसको स्वभाव कस्तो छ भन्ने कुरा महत्वपूर्ण मानिन्छ। कसैको एकदमै आत्तिने,कसैको सरसफाइमा एकदमै ध्यान दिने, शंका गर्ने, तनावहरुलाई सजिलै व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ। मानिसमा निहित स्वभावका कारण पनि उसलाई मानसिक समस्या आउँछ या आँउदैंन भन्ने निर्धारण गर्छ।
तेस्रो पक्षमा सोसल फ्याक्टर पर्छ। जसमा मानिस कुन वातावरणमा बसेको छ भन्ने कुराहरु पर्छन्। यदि कुनै व्यक्ति बेरोजगार छ भने त्यसले पनि मानसिक समस्या ल्याउन सक्छ। त्यसैले यी तिनै पक्षहरुका कारण कुनै मानिसमा मानसिक समस्या आउन सक्छ।
नेपाली समाजमा मानसिक रोगबारेको जनचेतना कत्तिको पाउनुहुन्छ?
विगत १० वर्ष अगाडिको अवस्था र अहिलको अवस्थालाई तुलना गर्ने हो भने धेरै नै फरक पाइन्छ। काठमाडौं लगायत देशमा विभिन्न भागमा मानसिक समस्याका लागि धामीझाँक्री कहाँ जाने प्रचलन अझै पनि छ। कतिपय बिरामीहरु धामीझाँक्रीको उपचारपश्चात् मात्रै साइक्याट्रिक्स कहाँ उपचारका लागि आइपुग्ने गरेका छन्। धेरै छलफल तथा सल्लाहपछि मात्रै मानिसहरु साइक्याट्रिक्ससँग उपचारका लागि आइपुग्ने गर्छन्।
उदासीपन जोसुकै मानिसको जीवनमा हुनसक्छ। जसरी एक सिक्कामा दुई भाग रहेका हुन्छन्, त्यसैगरी जीवनमा उदासी र खुसीपन हुने गर्छ। यदि हरेक दुई-दूई हप्तामा दुखी हुने रुन मन लाग्ने, खानामा रुचि कम हुने, तौल घट्दै जाने,निन्द्रा बिग्रने तथा सुसाइट गरौं गरौं लाग्ने जस्ता सोचाई बारम्बार आउनु तथा कामसमेत असर पुग्ने अवस्था आएको अवस्थालाई मात्र डिप्रेसन भन्न मिल्छ।
मानसिक रोगले मस्तिष्कमा कस्तो असर पार्दछ?
सामान्यतया मेडिकल भाषामा अर्ग्यानिक तथा फङसनल गरी दुई कारणमा यसलाई विभाजन गरिएको छ। कहिलेकाहीँ मस्तिष्कमा ट्युमर तथा अन्य समस्या भएको अवस्थामा पनि मानसिक समस्या आउन सक्छ। यदि कसै कसैलाई दिमाखमा चोट लागेको अवस्थामा पनि मानसिक समस्या आउन सक्छ। डिप्रेसन, एन्जाइटी जस्ता कारणले पनि मानसिक समस्या आउन सक्छ। यसमा दिमागमा भएको एउटा केमिकलमा भएको असन्तुलनका कारण मानसिक समस्या आउने गर्छ।
मानिसलाई मानसिक समस्या हुँदा के कस्ता संकेतहरु देखा पर्छन्?
कतिपय अवस्थामा बिरामीहरुले आफूलाई भएको मानसिक स्वास्थ्य समस्याबारे थाहा पाएर आफैं त्यसबाट छुटकारा पाउने गर्छन्। जस्तै डिप्रेसन, निन्द्रा नलाग्ने, खानामा रुचि कम हुने जस्ता समस्या भएको अवस्थामा बिरामीले आफैं मानसिक समस्याको पहिचान गर्न सक्छन्। कहिलेकाही बिरामी आफैंले मानसिक समस्या भएको पहिचान गर्न सक्दैन यस अवस्थामा परिवारका सदस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ। यदि मानिस एक्लै बस्न रुचाउने, शंकास्पद गतिविधीहरु गर्ने, एकदमै रिसाउने जस्ता समस्या भएको अवस्थामा परिवारले त्यसलाई पहिचान गरेर उपचारको प्रक्रियामा ल्याउन सक्छन्। डिप्रेसन तथा एन्जाइटीका धेरैजस्तो बिरामीहरु आफैं समस्या पहिचान गरी उपचारका लागि आउने गर्छन्।
मानसिक रोगबाट कसरी बच्न सकिन्छ?
मानसिक रोग अन्य रोग जस्तै जुनसुकै समयमा जसलाई पनि हुनसक्छ। यसलाई पूर्णरुपमा रोक्न नसकेपनि यसबाट बच्नका लागि केही उपायहरु अपनाउन भने सकिन्छ। दैनिक रुपमा गरिने शारीरिक अभ्यास, योगा तथा विभिन्न प्रकारका ध्यानले यसलाई कम गर्न सकिन्छ। नियमित रुपमा औषधि सेवन गरेको अवस्थामा डिप्रेसन तथा एन्जाइटीका बिरामीहरु पूर्णरुपमा निको हुन सक्छन्। त्यस्तै सिजोफेनियाका बिरामी भने औषधि सेवन गर्दा पनि पूर्ण रुपमा निको नहुन सक्छ। यस्तो समस्या हुँदैमा बिरामीले दैनिक गतिविधि नै सञ्चालन गर्न नसक्ने भने हुँदैंन।
के औषधि बिना पनि मानसिक समस्याबाट छुट्कारा पाउन सकिन्छ?
यो धेरै मानिसहरुको जिज्ञासा हो। केही मानसिक रोगहरु साइकोथेरापीबाट पनि निको पार्न सकिन्छ। जस्तैः माइल डिप्रेसन, तथा एन्जाइटी। यदि मानसिक समस्याका कारण मानिसको दैनिक क्रियाकलापमा असर पर्छ भने औषधि सेवन अनिवार्य हुन्छ।
आत्महत्याको प्रयास गर्नेहरुमा मानसिक समस्या हुन्छ भनिन्छ के यो सत्य हो?
सामान्यतया मानिसले जीवनमा केही गर्न नसकेको अनुभव गर्छ। त्यसले मानिसलाई आत्महत्याका लागि प्रेरित गर्छ। त्यसैले आत्महत्या गर्नुका पछाडि कुनै न कुनै मानसिक समस्या अवश्य नै हुनेगर्छ।
मानसिक स्वास्थ्यबारे सचेतनाका लागि संचार माध्यमहरुको भूमिका कस्तो रहन्छ?
समाजमा जनचेतना फैलाउनका लागि संचार माध्यमहरुको भूमिका एकदमै महत्वपूर्ण रहन्छ। संचार माध्यमहरुले मानसिक स्वास्थ्यका बारेमा सकारात्मक सन्देशहरु समाजमा दिन सक्छन्। मानसिक स्वास्थ्यसम्बन्धी रहेका नकारात्मक धारणाहरुको खण्डन गर्दै विभिन्न प्रकारका लेख, रचनाहरु प्रकाशित गरेर संचार माध्यमहरुले मानसिक स्वास्थ्य सम्बन्धि सचेतना समाजमा फैलाउन सक्छन्। जसले समाजमा सकारात्मक सन्देश जान सक्छ।
पछिल्लो समय नेपालमा मानसिक समस्याको अवस्था कस्तो छ?
नेपालमा २०७२ सालमा आएको भूकम्प तथा विभिन्न चरणमा आएको कोरोना महामारी दुवै नेपालीहरुलाई तनावपूर्ण समय थियो। यसले डिप्रेसन, एन्जाइटी लगायत विभिन्न प्रकारमा मानसिक समस्याहरु बढाएको छ।
विगत १० वर्षयता नेपाली समाजमा पनि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढिरहेको छ। कोरोना महामारी, बेरोजगारी, प्रविधिको अत्याधिक प्रयोग जस्ता कारणहरुले पनि नेपाली समाजमा मानसिक रोगीहरुको संख्या बढिरहेको छ। यसको वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको नारा मानसिक स्वास्थ्य, मानव अधिकारको विषय भन्ने किन राखिएको हो?
प्रत्येक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिएको छ। यस वर्षको नारा विश्व स्वास्थ्य संगठनले 'मानसिक स्वास्थ्य, मानव अधिकारको विषय' भन्ने राखेको छ। जसरी मानिसले खाने/लाउने आवश्यकता पुरा गर्नका लागि फरक फरक स्थानमा धाउनुपर्ने अवस्था छैन, त्यसरी नै मानसिक स्वास्थ्य समस्या भोगेका मानिसहरुले पनि यसको उपचार सुविधा सजिलै पाउन सकून भन्नका लागि यस वर्षको नारा यो राखिएको हो।
मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु के-के छन्?
नेपालको सन्दर्भमा भन्नुपर्दा सन् २०२० मा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वे विभिन्न प्रदेशमा गरिएको थियो। जुन सरकारको तर्फबाट मानसिक स्वास्थ्यका सम्बन्धमा गरिएको महत्वपूर्ण कार्य हो।
नेपाल सरकारले सरकारी अस्पतालहरुमा मानसिक स्वास्थ्य सेवा बढाउनका लागि साइक्याट्रिक्सहरुको दरबन्दी बढाउनुका साथै यस क्षेत्रमा बजेट बढाउन सकिन्छ। हरेक प्रदेशमा मानसिक अस्पतालहरुको संख्या बढाउनुका साथै प्रदेश तथा स्थानीय सरकारसँग मिलेर मानसिक स्वास्थ्यका क्षेत्रमा विभिन्न सचेतनामुलक कार्यहरु सरकारी स्तरबाट गर्न सकिन्छ।
भिडियो: