काठमाडौं– शनिबार बिहान प्यालेस्टायनी उग्रवादी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको छ।
इजरायलस्थित नेपाली राजदूतावासले उक्त आक्रमणमा इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, दार्चुलाका दीपेश राज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन्।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ बताइएको छ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि डिस्चार्ज भएका छन्।
त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन्। मृतक १० जनाको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।