काठमाडौं- सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
उनीहरुले सरकारले डा आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्।
सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुसंग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भुमिका समेत नलिएको गुनासो गरे। आगामी अक्टुबर ३० देखि दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दील्लीमा निर्वाचन हुँदैछ। दक्षिण पूर्वी एशियामा नेपाल सहित बंगलादेश, भूटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन्। आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गरेको अनुभव छ। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन्। उनीहरुले नेपाल सरकारले डा आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गरे। अधिकारकर्मी कनकमणी दिक्षितले सरकारले डा आचार्यलाई औपचारीक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए। उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पछाडी हट्न खोजेको हो की? भन्दै प्रश्न गरे।
दिक्षितले भने, ‘क्षेमतावान उम्मेद्वार अन्तर्राष्ट्रिय पोष्टको लागि नेपालले बिरलै पेश गर्न पाउँछ। विश्व स्वास्थ्य संगठन जस्तो टेक्निकल, नन पोलिटिकल पोजिसनमा सहभागी हुन पाउनु धेरै गौरवको विषय हो। नातावाद, कृपावादपनि नेपालको क्यान्डीडेटमा लागू हुँदैन। सार्क देशमा बंगलादेश र नेपालबीच निकै सौहार्दपूर्ण सम्बन्ध कायम छ। एउटा देशको सरकार प्रमुख नातावादकै कारण नेपालको आफ्नो सक्षम क्यान्डीडेटका लागि चुनौती खडा हुन पुग्यो। अब यस्तो बेलामा बंगलादेश रिसाउला की भनेर नेपाल पछि हट्ने हो त। नेपाल सरकारबाट डा.शम्भुु आचार्यलाई औपचारीक अनुमोदन त छ। तर, एक हदसम्म पछाडी हट्न चाहेको हो की। क्यावीनेटले नै डा.आचार्यलाई उम्मेदवारीमा प्रस्ताव गरेको हो। बर्तमान परराष्ट्र मन्त्री एनपी साउद पछाडी हट्न खोजेको मैले बुझेको छु। सदनमा डा.शम्भु आचार्यको उम्मेदवारी सम्बन्धी प्रश्न उठाउँदाखेरी हाम्रो परराष्ट्र मन्त्रीको प्रतिकृया के रह्यो भनेदेखि किन त्यसरी बोल्न परेको? यसले नै चिसो पस्ने भयो की हाम्रो मुटुमा। कसैले उहाँमाथी दबाब पारेर यो व्याक हुनुपर्छ भन्ने लगाको हो की भन्ने कुरा। हामीलाई थाह छ वर्तमान सरकार कम्फरटेबल सरकार हो। बंगलादेश र भारतबीचको सम्बन्ध र सम्पर्क दुई सरकार प्रमुखबिचको हामिलाई थाह छ। त्यो भएपछि भारतपनि रुष्ट होलाकी भन्ने हिसाबले नेपालले क्यान्डीडेटबाट पछाडी हट्छ की भन्ने चिन्ता जाग्नु स्वभाविक नै हो। किनभने अरु हिसाबले देखिएकै छ। हाम्रै सरकारले अलिकति खुट्टा लरबराएको हो की अलिअलि तर्सेको हो की अलिअलि ईशारामा चल्न खोजेको हो की जस्तो देखिएको छ।’
जनस्वास्थ्यविद् प्राडा रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन्। डा थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आवद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वभाविक रहेको बताइन्। उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताइन्।