एउटा चलनचल्तीको भनाई छ कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा राम्रो नुनले। यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ। नुन रासायनिक पदार्थ हो। यसको रासायनिक नाम सोडियम क्लोराइड हो। यो सोडियम र क्लोराइड नामक अणुहरु मिलेर बनेको हुन्छ।
तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो। प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्याधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ।
सामान्यतया एक लिटर समुन्द्री पानीमा ३५ ग्राम नुन पाइन्छ। मृत सागरको पानीमा सबैभन्दा धेरै नुन हुन्छ जसले गर्दा त्यहाँ कुनै पनि जीव बाँच्न सक्दैन। नुनले खानाको स्वाद बढाउँछ। मान्छेको रगतमा नुन हुने भएको रगतको स्वाद नुनिलो हुन्छ।
बाघ,भालु जस्ता जंगली जनावरले एकपल्ट मान्छेको मासु आयो भने मिठो स्वादका कारण त्यो पल्किन्छ र बराबर मान्छेकै शिकार गर्न खोज्छ। नुनको व्यवसायिक उत्पादन चट्टानहरुमा रहेका नुन खानीहरु र समुन्द्री पानीको वाष्पिकरणबाट गरिन्छ। वर्षैनी विश्वमा २० करोड टन नुनको उत्पादन हुन्छ। जसमध्ये ६ प्रतिशत मान्छेको खाद्यान्नमा प्रयोग हुन्छ। यसको मतलब वर्षमा करिब १ करोड टन नुन मानिसहरुले खान्छन्।
अरु बाँकी नुन उद्योगहरुमा प्रयोग हुन्छ। मान्छेले खाने ढिक्के नुन, प्रशोधित नुन र आयोडिन मिसाएको नुनको रुपमा प्रयोग गरेको पाइन्छ। यस्तै प्रकारले उच्च हिमाली चट्टानमा रहेका नुन खानीहरुबाट सिधे नुन र वीर नुनको पनि उत्पादन हुन्छ। यो नुन नेपाल,भारत,पाकिस्तान,बंगलादेश लगायतका हिमाली क्षेत्रहरुमा पाइन्छ।
मानव शरीरमा नुनले नसाहरु र मांसपेशीहरुको कार्य सञ्चालनमा सहयोग गर्छ। यस्तै प्रकारले नुनले कोशिका भित्र पानीको मात्राको सन्तुलन मिलाउँछ। शरीरमा नुन कम भयो भने दिमाग सुन्निएर मान्छे बेहोस हुन्छ। त्यस्तै शरीरमा नुनको मात्रा बढी भयो भने रक्तचाप बढेर मुटु लगायतका अन्य अंगहरुमा नकारात्मक असर पुर्याउँछ। त्यसैले नुन मात्रा मिलाएर खानुपर्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् एक चिया चम्चा नुनको आवश्यकता पर्छ। यो भनेको २३०० मिलिग्राम सोडियम हो। नेपालीहरुले सरदर दैनिक १० ग्राम नुन खाने गरेको अध्ययनले देखाएको छ। जुन चाहिनेभन्दा दोब्बर हो।
नुन ठिक मात्रामा खानुपर्छ। धेरै खाँदा र थोरै खाँदा दुवै अवस्थामा उत्तिकै खतरा हुन्छ। नुन धेरै खाँदा मुटु रोगको जोखिम बढ्छ भने थोरै खाँदा दिमागको रोग लाग्ने सम्भावना रहन्छ। शरीरमा नुन कम हुने समस्या एक गम्भीर प्रकारको स्वास्थ्य समस्या हो।
झाडापखाला हुँदा,पसिना धेरै जाँदा,पिसाब गराउने औषधि खाँदा, नुन कम खाँदा यस्तो अवस्था आउन सक्छ। ब्लड प्रेसर घटाउने केही औषधिहरुले पनि शरीरमा नुनको मात्रा कम गराउन सक्छ। बुढेसकालमा यस्तो समस्या बढी आउने गर्छ। यस्तो हुँदा टाउको दुख्ने,चक्कर लाग्ने,लठ्ठ पर्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छन्। नुन ज्यादै कम हुँदा मान्छेको मृत्युसमेत हुन सक्छ। नेपालमा ४ प्रकारको नुन प्रयोगमा रहेको पाइन्छ। ढिक्के अप्रशोधित नुन, प्रशोधित आयोडिनयुक्त नुन,सिधे नुन र बीरे नुन।
-स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईं सँगको कुराकानीमा आधारित