मनमा छटपटी बढेको झण्डै महिना दिन बित्यो, जति जति समय बित्दै छ, उति नै मनमा औडाहा बढ्दो छ। छोरीले एसइई परीक्षा दिइसकिन्, अब पो झन् मेरो मन भतभती पोल्न थालेको छ। तपाईं ठान्दै हुनुहोला, उनको परीक्षाको परीणामको चिन्ताले पोल्यो होला भनेर। तर, त्यो बिल्कुलै होइन्। हिजो भर्खरै एक साथीले फेसबुकमा स्टाटस हालेका थिए। उनको पनि झण्डै मेरो जस्तै जलेको मन पोखिएको थियो। टीका लगाएर विमानस्थलमा अष्ट्रेलिया उड्न लागेको छोरासँग उनी उदास मन लिएर जबरजस्ती अनुहारमा हाँसो भर्न विवश मनले सोचिरहेको थियो, अध्ययनका लागि हिँडेको यो मुटुको टुक्रा उच्च शिक्षापश्चात् स्वदेशमै फर्कियोस्। तथापि उनको भावमा, भाषामा शङ्का पनि मिसिएको थियो। राष्ट्रलाई सच्चा रूपमा माया गर्ने उनी न त कुनै नेता हुन्, न त उच्च पदस्थ कर्मचारी नै। सामान्य म जस्तै आमनागरिक मध्येकी एक। जसमा राष्ट्रभक्ति नशा नशामा उम्लिरहेको थियो। देश बनाउनको लागि तल्लीन हुँदै गरेको अवस्थामा आएको हिजोको फेसबुकको स्टाटसले एक्कासी मेरो मन पनि खिन्न भएको छ।
यसैले आज सबै काम छोडेर कलम चलाउन बाध्य भएकी छु। अरू क्षेत्रका संवेदना अरूले लेख्लान्, मात्र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित, युवा जमातको कथा म लेख्दै छु। उनीहरूका कथाभित्रका व्यथा अभिभावकहरूले समयमानै नबुझ्ने हो भने, यदि राज्यले आँखा चिम्लने हो भने युवा पिँढी बर्बादीको दहमा भासिन बेर लाग्ने छैन। आफू बिरामी पर्दा नेताहरू राज्यको ढुकुटी रित्याएर, कर उठाएका पैसाले भए पनि विदेशमा उपचार गर्लान्। तपाईं, म, हामी अनि ती लहलहाउँदा युवाहरूको कारुणिक व्यथाको उपचार कसले गरिदेला? कतिपयसँग विदेशबाट छोराछोरीले पठाएका डलर त होलान् तर स्वास्थ्य सेवा प्रवाह गर्ने जनशक्ति कहाँ खोज्न जानू? अस्पतालमा रोगी भरिएलान् तर उपचार गर्ने स्वास्थ्यकर्मी कहाँ भेटिएलान्? मैले देखेका केही प्रसङ्गहरू र उत्पन्न अनुभूतिहरू यहाँ जोड्दै छु। यसप्रति तपाईंहरूको धारणा र प्रतिक्रियाको आशा पनि गरेकी छु।
नर्सका कथा व्यथाः
मसँगै स्कुल पढेकी साथीको वर्षौंपछि म्यासेज आयो। शनिबारको दिन यसो साथीभाइ भेटघाट गरौं न। जसरी भएपनि आउनु ल! व्यस्तताका बाबजुत म पनि समय निकालेर पुगें साथीभाइसँग रम्न। त्यो दिन त मेरी साथी सन्ध्याको फेरवेल अर्थात् बिदाई कार्यक्रम पो रहेछ। यसो हेरें, एकातिर अष्ट्रेलियाको झन्डा र अर्कोतिर नेपालको झन्डा भएको केकमा ‘मिस यु नेपाल, लभ यु अष्ट्रेलिया’ लेखिएको थियो। उनी निकै खुसी मुद्रामा थिइन्। मात्र अब उनमा ग्रीन कार्डको धोको थियो।
सबै रमाइलो गरिरहँदा मेरो मन भने कटक्क भयो। फुत्त लौ बधाई छ! भन्न पनि सकिनँ। किनकी उनी नेपाललाई बिर्सदै थिइन्। साँच्चै नै त्यतिबेला मेरो मन मस्तिष्कमा राष्ट्रभक्ति भरिदिएर मेरा बा आमाले त मलाई बिगारेछन् भन्ने सोचें। मैले उनलाई मलिन स्वरमा भनें – पढाइसकेपछि त अलि वर्ष बसेर नेपालै फर्क है साथी। उतै सेटल नहौ है। पैसा र सीप लिएर स्वदेश फर्कनु पर्छ भन्न नभ्याउँदै अरु साथीहरू ममाथि खनिए। विदेश जान पाएपछि केको अब नेपाल फर्कने? के छ र नेपालमा? तिमी राष्ट्रभक्तको गाना गाइरह, नेतासँग मिलेर तिनीहरूका आसेपासेले देश खोक्राएको हेरेर बस, निरीह नागरिक भएर हेर्न सकिन्न। कति बोल्यौ, कति लेख्यौ, केही चलेन। बरु तिमी पनि समयमै विदेश पास व्यवस्थित बनेर बस। तिमीसँग यति राम्रो डिग्री छ, अनुभव छ, तिम्रा कामको भरपुर सम्मान हुन्छ विदेशमा। तिमी जस्तालाई फ्याँकेर काम चोरलाई नाताका भरमा कहिल्यै उत्कृष्ट भनी छानिदैन सिस्टमले चलाएको हुन्छ देश। बहुत संवेदनशील कुरा भन्दै थिए उनीहरू। यति नै बेर आइसक्रिम खाँदै, रम्दै, नाच्दै गरेको करिब ५ वर्षीय छोरालाई चुप्प गालामा म्वाँई खाँदै आँखा भरि आँसु पारेर सन्ध्या सुक्क सुक्क गर्न थालिन्।
मन त कहाँ छ र साथी, मेरो मुटुको टुक्रालाई छोडेर जाने। तर उसैको भविष्यको लागि जानैप¥यो। पन्ध्र सोह्र लाख खर्च गरेर उत्साह बोकी नर्सिङ पढियो तर जागिर जम्मा दश पन्ध्र हजारको। त्यसमाथि पनि रातदिन डाक्टर, अस्पताल सञ्चालक अनी बिरामी पक्षको गाली खाँदा वाक्क भइयो। मान्छे नै पो गन्दैन्न त हामीलाई। न त पैसा छ न त इज्जत नै। विदेशिन विवश भएँ म। नर्सिङ पेशा अस्पतालको मेरुदण्ड हो। देशमा पुग्दो नर्सिङ जनशक्ति छैन्। चिकित्सा शिक्षा ऐन आएपछि निश्चित मापदण्ड नपुग्दा ७४ भन्दा बढी नर्सिङ कलेजहरु बन्द छन्। हाम्रो देशमा एक त नर्सप्रति हेपाहा प्रकृति देखियो। अर्को नर्सका हक अधिकारको कुरा उठाएर अधिकारको कुरा गरेर देशमा टिकाउनु त कता हो कता नर्सलाई बेलायत, अष्ट्रेलिया आदि मुलुक पठाउन सरकार नै उद्यत देखिन्छ। त्यसैले साथी म जस्ता नर्सहरु नविदेशीएर के गरुन्? गएपछि म पनि अब फर्कन्न। प्रकृया पुर्याएर ग्रीन कार्ड लिई उतै जम्दछु जे पर्ला पर्ला!
फिजियोथेरापिष्टका कथाव्यथाः
म एउटा नशा रोगसम्बन्धी गोष्ठीमा गएकी थिएँ। त्यहाँ बाइस-चौबिस वर्ष उमेर समूहका फिजियोथेरापिष्ट भाइबहिनीहरु पनि उपस्थित थिए। हेर्दा राम्रा फुर्तिला चिटिक्क परेका स्मार्ट खालका उनीहरुमा निकै उत्सुकता देखिन्थ्यो। उनीहरु गोष्ठीमा प्रस्तुत कार्यपत्रहरू सुन्दै थिए। मसँग बसेकी एक जना फिजियोथेरापिष्ट बहिनीलाई मैले सोधेंः बहिनी! तिमी कहाँ काम गर्छौ? उनीले दिक्दारिदै भनिन् “कहाँ हुनु नि यसो एउटा पुनस्र्थापना केन्द्रमा झुण्डिदै छु। बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म खट्नुपर्छ। तलब जम्मा १५ हजार मात्र छ। कुरा सुन्दा म पनि दिग्दारिए विचरा!
चार वर्ष लगाएर विदेश गई पढरे फर्किइन्, तिनको सम्मान यति नै हो त। अझ उनि थप्दै थिइन् – “हामीले काम गर्दिएर महिना लाखौ कमाउछन् ती पुनस्र्थापना केन्द्रहरु तर हाम्रो तलब भने भाडा र खाजालाई नै पुग्दैन। “ल तपाईं नै भन्नु त डाक्टर, म डेरामा बसेकी छु। अरुले ठान्छन् डाक्टर हो। राम्रै तलब होला तर सोचे जस्तो छैन दुनियाँ। मैले के खाने? के ले भाडा तिर्ने? सन्तान कसरी पढाउने? चाडवाड, साथीभाई, रमाईलो त कता हो कता। आफुलाई व्यवहारीक सन्तुलन मिलाएर हिड्न पनि गाह्रो छ। हाम्रो दुखदायी आवाजहरु कसले सुनिदिने खै भन्दै उनले मसँग प्रतिप्रश्न गरिन्। म अक्कनवक्क भएँ। तैपनि केहि सोधे, तिमीहरुका एसोसियसन पनि होलान् नि? न्यायिक आवाज उठाउदैनन् त बहिनी? मेरो कुरा नसक्दै उनी कुर्लीन। के आवाज उठाउँछन् उनीहरु? एसोसियसनमा संलग्न सबैको आ–आफ्नो अस्पताल क्लिनिक, पुनस्र्थापना केन्द्र छन्। हाम्रा बारेमा वकालत गरेर कसरी उनीहरूको संस्था नाफामुलक बन्छ त? डुबिहाल्छ नि। त्यसैले अब त बुझ्नु भयो नि म्याम एक वर्षको अनुभब लिएर म पनि क्यानाडाको लागि प्रयास गर्ने हो। अहिले मैले काम अनुसारको तलब पाउने हो भने मेरो प्यारो देश छोडेर जान्न थिएँ। के गरौं त म। टिक्नै नसकिने भएर पो दिमाग भौतारीएको हो। अहो नि त! उनका कथाव्यथाले मलाई स्तब्ध बनायो। ममा मनभरि कुरा उमाल्नु भन्दा केही उपाय थिएन।
एलोपेथीक डाक्टरका कथाव्यथाः–
आशिष मेरो मामाको छोरा हो। सानैदेखि दिदी म त डाक्टर बन्ने हो आफ्नै देशमा अशक्त, गरिब, दीनहिन रोगीहरुको सेवामा जम्ने हो भन्दथ्यो। नभन्दै ऊ राम्ररी पढ्थ्यो। उसले डाक्टर बन्ने सपना पनि पूरा गरिछाड्यो। वर्षौपछि हिजो बल्ल हाम्रो भेट भयो। के गर्दैछस् भाई आज भोलि पेशामा रमाएका छौ नि हैन भनी सोधे? ऊ पनि बिगतको सोचाई बिर्सिएर आफ्ना कथाव्यथा ओकल्न थाल्यो। के गर्नु दिदी? एमबीबीएस सकिएपछि बल्ल सोर्स लगाएर एउटा प्राइभेट अस्पतालमा काम पाइयो। महिना भरि उत्साह बोकेर काम पनि गरियो। काम अनुसारको तलब पाईएन। पर्दा चौबिस घण्टे ड्युटी गर्यो न त निद्रा पुरा छ, न त भोक प्यास नै, महिनौ भयो बिदा पनि नबसेको। अब यु.यस.एम.एल.ई. को तयारी गर्दैछु। के हुन्छ पर्खौ, हेरौं। मैले त अमेरिका जाने सोच बनाएको छु। देशमा टिक्नै समस्या पर्यो। आमाबुबा त भन्नुहुन्छ, देशमा बस।
मलाई पनि सरकारी जागिर खाने धोको थियो। लोकसेवा नखुलेको वर्षौ भयो। काठमाण्डौमा भएको घडेरी बेचेर झण्डै साठी लाख खर्च गरेर डाक्टर बनियो अहिले व्यवहार चलाउनै धौ छ। अस्पताल घर गर्न सजिलो होला भनी लोनमा गाडी किनियो। पेट्रोल धान्न नसक्ने अवस्था आयो। हाम्रो देशमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चिकित्सक पुगेका छैनन्। झन दुर्गम क्षेत्रका नागरिकले त दक्ष स्वास्थ्यकर्मीको अनुहार सम्म पनि देख्न पाएका छैनन्। म जस्ता धेरै बेरोजगार चिकित्सकहरु छन्। सरकारले व्यवस्थापन गर्न सकेको छैन। देखिन मैले स्वास्थ्य क्षेत्रको सुधार गर्छु भन्ने दुरगामी सोच भएका नेतृत्व पङ्तिहरु पनि। हाम्रो सम्मान सरकारीपक्षले गरोस् तब पो हामी पनि विश्वस्त भई रम्छौं त।
आयुर्वेद चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीका कथाव्यथाः–
अच्युत निकै प्रतिभाशाली विद्यार्थी थिए। झण्डै २ वर्षपछि मेरो भेटघाट भयो। त्यो पनि सामान्य प्रशासन मन्त्रालयमा कार्यरत। प्लस टु साइन्स उत्तीर्ण पश्चात् साढे ५ वर्ष लगाएर आयुर्वेद चिकित्सक बनेका उनले कार्यक्षेत्र नै परिवर्तन गरेको देख्दा म छक्क परें। कडा मेहनत गरेर इच्छानुसार पढेको क्षेत्र किन चटक्कै छाडे भन्नेबारे कौतुहल भयो। मनमा उब्जिएका प्रश्नहरूको उत्तर खोजें। उसले आफ्ना कथाव्यथा सुनाउन थाल्यो। डाक्टर भएको देखेर आमा निकै खुसी थिइन्। अब छोरा आत्मनिर्भर हुनेभयो, पढ्दाको ऋण तिर्ने भयो अनि म पनि सिक्री र तिलहरी हाल्छु भन्थिन्। छोराको पेशा परिवर्तन देखेर आमाको सपना चकनाचुर भयो भनेको सुनियो। अच्युतले लोकसेवा खुल्ला भन्ने आशा बोकेर तीन वर्ष बिताएको थियो। करारमा नाम निकाल्न झन गाह्रो।
करारमा प्रधानमन्त्रीदेखि मन्त्री सचिव हुँदै सरोकारवाला कर्मचारीहरुको सोर्स फोर्सका मान्छे नियुक्ति गर्नुपर्छ। हामी जस्ता सिदासादा व्यक्ति जहिल्यै वेटिङ लिष्टमा कुरेर बस्नुपर्छ। सुन्नुहोस् दिदी, केही सिप नलागेपछि पेटपाल्न मात्रै भएपनि प्राईभेट क्लिनिक धाउन थाले। बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म जम्मा तिस हजार तलबमा खटेको छु। अर्को कुरा झन संवेदनशील छ, बिरामीलाई चेकजाँच गर्यो तर औषधि र सल्लाह दिने बेलामा औषधि पसले, क्लिनिक, अस्पताल सञ्चालकलाई रिजाउनुपर्ने रहेछ। एउटै कम्पनीका लगभग उही फर्मुलाका औषधि सबैलाई लेखिदिनुपर्ने रहेछ। आफूलाई थाहा छ, मैले गलत काम गर्दैछु।
मनले पटक्कै लेख्न मान्दैन। तर वाध्यतावश रोजगारीको अवसर गुम्ने डरमा कलम चलाउनपर्ने भयो। त्यसमा पनि बिरामीलाई चाहिने जति मात्र औषधि लेख्न पाए त के थियो र? अस्ति क्लिनिक सञ्चालक आएर मसँग निकै रिसाएर गए। कस्तो डाक्टर हौ तिमी? हामीले कसरी तिमीलाई तलब खुवाउने? बिरामीको पूर्जीमा एक हप्ताको पनि औषधि नलेख्ने। ९–१० हजारको बिल उठाउनुपर्छ बिरामी भएपछि तिर्छन् नि। कहीं निको नभएर आएका बिरामीहरुलाई तिमीले जे भन्यो त्यहीं हुन्छ। म अब तपाईंहरुको रोग पूर्ण रुपमा निको पार्छु, तपाईंको रोग अब मेरो रोग भयो, मैले थुप्रैलाई ठिक पारेको छु, ल हेर्नुस् त यो भिडियो भनी बिरामीलाई देखाउनुपर्छ। दुईचार जना बिरामीलाई रोग ठिक भयो भन्दै विज्ञापन पनि गर्न लगाउनुपर्छ। यसका लागि तपाईंलाई कम्तिमा पनि तिन महिना उपचार गर्नुपर्छ भन्दै शुरुमै समयभरिका लागि पुग्ने औषधि लेख्नुपर्छ, एकैपटक औषधि किन्दा छुटको व्यवस्था छ भन्नुपर्छ।
क्लिनिक सञ्चालकका कुरा सुनेर मैले खप्न सकिन। निर्धक्क खोलें मुख। के औषधि पनि मकै भटमास खाए जस्तो खाने हो र सर। हाम्रा औषधि पनि धेरै राम्रा छन्। कुनैले त केही दिनमानै रोग ठिक गर्दछन्। अनी कसरी तीन–चार महिनाको औषधि भिडाउने त? मेरा कुरा सुनेर उनी रातोपिरो भए। उनी अझ गडगडाएर म अरु कुरा जान्दिन विज्ञापनका लागि यत्रो खर्च गरेको छु, जसरी हुन्छ नयाँ – नयाँ जुक्ति लगाएर बिरामीलाई आफूतिर तान्नुपर्छ। खै तपाईमा जागिर खाने कला नै देखिदैन भने। यस्ता कुराहरुले मलाई बाँच्नको लागि सामान्य मन्त्रालय पुर्यायो। हुन त यता पनि नेतृत्व तहबाट कसरी पिल्सिएका छौ हामी। नीति नियमको पालना छैन कहा कता चुकिने हो पत्तो भएन। मिलेमा नियम नचाहिने, नमिले नियम लगाईने कस्तो कुपरम्परा बस्यो हरेक क्षेत्रमा। मात्र काम गर्छु भन्दापनि कमिसनको घेरामा पर्नुपर्ने बाध्यता पर्दोरहेछ। के गर्ने यहाँ पनि आफूभन्दा माथिल्लो तहको दबाबमा फाइल उठाउनु पर्दोरहेछ। ममा असल विचार भएर पनि असल काम गर्ने वातावरण पाइन। त्यसैले दिदी अब मैले पनि आइयल्स दिने सोच बनाएको छु। केही वर्ष विदेशीनुको विकल्प देखिन। डाक्टर पढ्दाको ऋण तिर्न र आमाको सपना पूरा गर्न।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित माथि उल्लेखित गरिएका जनशक्तिलाई कथाहरु प्रतिनिधिमूकल पात्र मात्र हुन्। यस्ता कैयौं कथाव्यथा दबिएका छन्। अब भने उत्खनन गरी समस्या समाधानतिर लाग्न ढिला भैसकेको अनुभुति हुन्छ। देशका अत्यावश्यक सक्षम, योग्य जनशक्ति यसरी स्वदेश नफर्कने गरी विदेश पलायन हुनबाट रोक्न नसके पछुताउनु बाहेक केही हुने छैन। सरोकारवाला निकायको ध्यान कहिले होला यता तिर जाने? म स्वास्थ्य क्षेत्रको हालत देखेर भौंतारीरहेकी छु। चुनाव खर्च महंगो छ। कमाउनका लागि राजनीति गर्नेहरूसँग के आशा गर्ने हो हामीले? सोच्नुस् त हामी भन्दा अघिल्ला पिँढीका हाम्रा बा आमाले त बाँकी हामीबाट उपचार सेवा पाउलान् तर तपाईं हामीले बिरामी भएमा उपचार गर्ने भावी सन्नतती नर्स, डाक्टर, स्वास्थ्यकर्मी खोई त? नेता र संभ्रान्तहरुले विदेशमा गएर उपचार गर्लान्, भष्ट्राचारका पैसा वर्षाउलान्।
तर सर्वसाधारणले जटिल बिरामी परेमा कस्तो हविगत व्यहोर्नु पर्ला? बनेका अस्पताल त रहलान् तर अस्पतालभित्र सेवारत स्वास्थ्यकर्मी रित्तिएलान्। यसर्थ नेतृत्ववर्गको ध्यान समयमै यतातिर पुगोस् भन्ने कामना गर्दछु। देशभक्तिको महिमा भएका स्वास्थ्यकर्मीहरूलाई सिप र दक्षताका लागि विदेश पठाउन सकिन्छ। परिस्थितिवश विदेशिएकाहरूलाई देश फर्किने वातावरणको सिर्जना गर्न सकियोस्। नेता र जनता एक भई काम गर्न सकौं।
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुखः भाग्भवेत्। ॐ शान्तिः शान्तिः शान्तिः।।।