विकास बढ्याे, विकासले सिमाना नाघ्याे, विकास यत्रतत्र फैलियाे। विकासले सबैतिर जरा गाड्याे। विकासले रूप फेर्यो। राम्रो र नराम्रो पनि। विकासले गर्दा नै हामी घरमा बसेर संसार जानी रहेका छौँ। संसार घुमिरहेका छाैँ। संसार बुझिरहेका हुन्छाैँ। तर के हामीले बुझेकाे सबै सत्य नै हाेला त? सत्य मात्रै बाहिर आउला त? यदि छैन वा हुँदैन भने सत्य र असत्यबीच छानबिन हाेला त? कसैले छानबिन गर्ला त? छानबिनकाे दायरामा समयमै आउला त? अनि छानबिन बिना नै तँ दाेषी हाेस् भन्न मिल्ला त? मिल्छ भने कसरी र मिल्दैन भने किन भनिन्छ त? प्रसंग- बढ्दाे स्वास्थ्यकर्मी कुटिएको घटना।
पहिले आकलझुकल सुनिने घटना अहिले दिनहुँ सुनिन र देखिन थालेका छन्। बढ्दाे यस्ता घटना सुन्दा आममानिसमा स्वास्थ्यकर्मीप्रती आक्राेश बढ्नु स्वाभाविकै हाे तर घटना घट्नुले परेकाे शारीरिक, मानसिक र सामाजिक यातना बारे बुझिदिने कसले? के बिरामीकाे मृत्युपश्चात् डाक्टर-नर्स कुटेर बिरामी जिउँदो हुन्छ त? के उपाचारकाे उद्देश्य बिरामीकाे ज्यान लिनु हुन्छ र? तपाईं जुनसुकै कुनामा जानुहोस् बिरामीकाे ज्यानकाे ग्यारेन्टी कुनै पनि अस्पताल र त्यहाँका कर्मचारीले लिन सक्दैनन्। स्वास्थ्यकर्मीले काेसिस गर्ने हाे। हरेक काेसिस सफल हुन्छ भन्ने छैन। यदि सफल नभएकै भरमा डाक्टर, नर्स कुट्ने प्रवृत्ति यही रूपमा बढ्दै गयाे भने हामी ती स्वास्थ्यकर्मी देश छाेडेर विदेशिन बाध्य हुन्छन्। अहिलेकाे परिस्थितिलाई नियाल्दा स्वास्थ्य क्षेत्रले स्वास्थ्यकर्मीलाई काम गर्ने सहज वातावरण दिन सकेकाे छैन। तलब, भत्ता, सम्मान त उस्तै हाे विदेशिन बाध्य बनाएकाे अवस्था नै स्वास्थ्यकर्मीकाे प्राेत्साहन भत्ता हाे।
यही र यस्तै विकास हुँदै जाने हाे भने भाेलिकाे दिनमा बिरामी उपचार गर्न धामीझाँक्रीकै भर पर्नुपर्ने हुन्छ। डाक्टर, नर्स र अन्य स्वास्थ्यका कर्मचारी कुट्ने प्रवृत्तिले दुःख पाउने हामी बिरामीले नै हाे। तर जति नै भने पनि न त याे प्रवृत्ति राेकिएकाे छ न राेकिएला जस्तो छ। जबसम्म छानबिन र न्यायकाे लागि कानुनकाे प्रयाेग हुन्न तबसम्म याे घटना बढ्दै जानेछ। वैदेशिक राेजगारीमा जानेकाे सङ्ख्या बढ्नेछ। विदेशबाट रेमिट्यान्स त आउला तर सीप भएका नेपालीले स्वदेशी भूमि छाेड्दा देशलाई पनि घाटा हाेला। बेलैमा बिचार नगर्ने हाे भने स्वास्थ्यकर्मी पनि विदेशबाट मगाउने दिन नआउला भन्न सकिन्न।