धनगढी- कैलालीको धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई निजी अस्पतालले बुधबारदेखि सेवा बन्द गरेका छन्।
मंगलबार दुई अस्पतालको अनुगमन गरेपछि कैलाली जिल्ला प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बुधबारभित्रै बन्द गर्न भनेको थियो। पत्रपछि उनीहरुले आफै सेवा बन्द गरेका हुन्।
जिल्ला अनुगमन समितिको अनुगमनका क्रममा ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरेका भए पनि अस्पताल सञ्चालनको अनुमति दिने निकायबाट स्वीकृति नलिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।
तर, ती दुई अस्पतालले सञ्चालन अनुमतिका लागि फागुनमै स्वास्थ्य कार्यालय कैलालीबाट सिफारिस गराई निर्देशनालयमा अनुमतिका लागि कागजपत्र पेश गरे पनि अहिलेसम्म अनुमति नदिएको भन्दै सेवा बन्द गरेका हुन्।
कानुनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ।