एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ। एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ। यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्छ।
एचपीभी संक्रमण कसरी सर्दछ?
एचपीभी मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ। यसको संक्रमण पुरुषमा पनि हुन्छ। पुरुषबाट महिलामा सर्ने गर्दछ।
एचपीभी संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छन्?
यसले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनांगमा आउने मुसा तथा यौनांग क्यान्सर समेत गराउन सक्दछ। पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा धेरै जसोमा लक्षण र चिन्हहरु देखिदैन। अन्ति अवस्थामा मात्र पहिचान हुन सक्छ। पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरु देखिन्छन्।
एचपीभी संक्रमणको कसरी परीक्षण गर्न सकिन्छ?
स्वास्थ्य संस्था तथा अस्पतालमा गई पाठेघरको मुखको पानीको परीक्षण गरेर एचपीभी संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।
एचपीभी संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ?
यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एचपीभी खोप लगाउने नै हो। यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएको छ।
संक्रमित पुरुषबाट महिलामा असुुरक्षित यौन सम्पर्क हुँदा सर्ने भएकाले सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउनु पर्छ। समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्दछ।
ह्युमनप्यापिलोमा भाइरसले गर्दा हुन सक्ने महिलाहरुको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा मुसाबाट बचाउँछ। एचपीभी संक्रमण भए पश्चात हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिचि खोप लगाएमा संक्रमण हुने सम्भावना अत्यन्त न्युन रहन्छ।
एचपीभी खोप लगाएपछि के कस्ता असर हुनसक्छन्?
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो। सधारणतया यो खोपको प्रयोग पश्चात अवान्छित घटनाहरु देखिने सम्भावना अत्यन्त न्युन रहेको छ।
यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु,टाउको दुख्नु, वाकवाकी लाग्नु, थकाल महसुस हुनु, रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी रियाक्सन आदि हुन्।
यी सामान्य असरहरु हुन्। केही समयमा आफै हराएर जान्छन्। खोप लगाएपश्चात देखा पर्नसक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तिमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नुपर्छ। यदी यस्ता असरहरु रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। हाललाई यो खोप १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरुलाई लक्षित गरिएको छ।
नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपीभी खोपलाई विस्तार गर्दै १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने सरकारको तयारी छ। सरकारले निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्यसंस्थाबाट उपलब्ध गराउने जनाएको छ।
कहाँ पाइन्छ?
हाल यो खोप संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार ७ वटा अस्पतालबाट मात्र लगाउन पाइने व्यवस्था गरिएको छ। मोरङको बिराटनगरमा रहेको कोशी अस्पताल, पर्साको विरगंजमा रहेको नारायणी अस्पताल, काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, कास्कीको पोखरामा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाँकेको नेपालगंजमा रहेको भेरी अस्पताल, सुर्खेतको विरेन्द्रनरमा रहेको प्रादेशिक अस्पताल सुर्खेत र डडेल्धुराको डडेल्धुरा अस्पतालबाट यो खोप दिइन्छ।
राष्ट्रिय खोप कार्यक्रबाट उपलब्ध यो खोप निशुल्क लगाउन पाइन्छ। हाल उपलब्ध भएको एचपीभी खोप ६ माहिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्छ। दोस्रो मात्रको खोप पनि पहिलो मात्र लगाइएको स्वास्थ्यसंस्थाबाटै लगाउनुपर्छ।
एचपीभी खोप दुई मात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ।
खोप लगाउन जाँदा उमेर खुलाउने आधिकारिक प्रमाण जस्तै जन्म दर्ता प्रमाणपत्र, नाबालिक प्रमाणपत्र, जन्म मिति खुलाउने अन्य कागजात लिएर जानुपर्छ। दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाउँदा प्राप्त हुने खोप कार्ड लिएर जानुपर्छ।