धनगढी- सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुरमा डेंगु संक्रमण बढ्दै गएपनि स्थानीय तहको सक्रियता देखिएको छैन।
तराईका दुई जिल्लाका स्थानीय तहले डेंगु नियन्त्रणमा ध्यान नदिँदा संक्रमण बढ्दै गएको हो। नौ जिल्ला रहेको प्रदेशमा सन २०२३ को हालसम्म तराईका दुई जिल्लामा दैनिक जसो संक्रमण बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सन २०२३ को जुलाईसम्म कैलालीमा डेंगुका बिरामीको संख्या १६ थियो। अगस्टमा एक सय ६९ र सेप्टेम्बरको ११ सम्म ८२ जना थपिएसँगै डेगुका बिरामीको संख्या दुई सय ७७ पुगेकोे छ भने कञ्चनपुरमा जुलाइसम्म २३ रहेकोमा अगस्टमा ५८ र सेप्टेम्बरमा १६ गरि एक सय ३१ रहेको छ।
डेंगु संक्रमणमा बढी हुने दरमा प्रदेशमा पहिलो र देशभरमा दशौं स्थानमा कैलाली रहेको छ। महामारी तथा किटजन्य महाशाखाका अनुसार अहिले सुदूरपश्चिममा डेंगु संक्रमणको दर सात सय ३२ पुगेको छ। प्रदेशअन्तरगत सबैभन्दा कम कर्णालीमा डेंगु संक्रमण रहेको छ भने कोशीमा बढी रहेको छ।
देशभर डेंगु संक्रमण २४ हजार आठ सय ४२ रहेकोमा सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको प्रतिशत दुई दशमलब नौ रहेको छ। प्रदेशमा डेंगु संक्रमण बढी रहने दोस्रो स्थानमा दाचुला रहेको छ। सो जिल्लामा संक्रमित एक सय ९३ रहेको छ भने तेस्रोमा कञ्चनपुर रहेको छ।
हिमाली जिल्ला बाजुरामा ३२ र बझाङमा १२ जनामा डेंगु संक्रमण रहेको छ। पहाडी चार जिल्ला बैतडीमा ६, डडेल्धुरामा १०, डोटीमा १९ र अछाममा ५२ रहेको छ।
सन २०२३ को हालसम्ममा डेंगु संक्रमणका कारण दार्चुला, कैलाली र कञ्चनपुरमा गरी तीन जनाको मृत्यु भइसकेको भएपनि स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छैन। निर्देशनालयले नियमित जारी गर्ने तथ्यांकमा भनिएको छ –‘हालसम्म डेंगु संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन।’
सन २०२२ मा डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भएको थियो। डेंगु संक्रमण बढ्दै गए पनि स्थानीय तहले ध्यान नदिन नसकेको नोभा अस्पतालमा कार्यरत चिकित्सक डा रामचन्द्र पौडेलले बताए।
उनले भने –‘पूर्वाधार निर्माणका कारण सडकहरुमा पानी जम्ने, गमला, टायर लगायतमा जथाभावी फालिएका पानी जम्ने सामाग्रीका कारण डेंगु फैलाउने अण्डकोषहरुको निर्माण भइरहेको छ तर, स्थानीय तहहरुले त्यसमा ध्यान दिएका छैनन्।’
उनले डेंगु संक्रमण देखिँदा स्थानीय तहहरुले खोज तथा नष्ट अभियान गरेपनि संक्रमण दर बढ्ने समयमा कुनै पनि गतिविधि गरेको नपाइएको बताए।
स्थानीय तहको सक्रियताले मात्र तराईमा डेंगु संक्रमण बढ्ने दरमा नियन्त्रण गर्न सकिने उनले बताए। उनले भने –‘डेंगु नियन्त्रणमा तीन तहकै सरकारको सक्रियता आवश्यक छ। विशेषत स्थानीय तह बढी लाग्नुपर्ने देखिन्छ।’
एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ। यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य गर्नुका साथै निर्देशनालयले राति, बिहान र दिउँसो सक्रिय हुने किट र तिनीहरुका प्रत्येक घन्टाका गतिविधि केलाउदै आएको निर्देशनालयका सूचना अधिकारी हेमराज जोशीले बताए।
घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको निर्देशनालयले जनाइएको छ।
डेंगु रोगलाई फेवराइल, क्रिटिकल, र रिकभरी फेज गरी तीन अवस्थामा बाँडिएको स्वास्थ्यकर्मी बताउँछन्। फेवराइल फेज समानतय २ देखि ७ दिनको हुने गर्दछ। यो अवस्थामा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांशपेशीका र जोर्नी असाध्यै दुख्ने, शरीरमा स–साना राता बिबिरा देखिने आदि जस्ता लक्षणहरु देखिने गर्दछ। धेरैमा ज्वरो घटेपछि विस्तारै सुधारउन्मुख हुदै जान्छ।
क्रिटिकल फेज वा जटिल डेंगुको जोखिम २४ देखि ४८ घन्टाको हुने गर्दछ। तारन्तार बान्ता हुनु, असाध्य पेट दुख्नु, अति आलश्य हुनु, रक्तश्राप जस्तैः– गिजा, नाक आदिबाट रगत बग्नु जस्ता समस्या बिरामीले अनुभब गर्न सक्दछन भने प्रयोगशाला परिक्षण गर्दा रगतमा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्ने र हेमाटोकृत बढेको पाहिन्छ।
चिकित्सकले परीक्षण गर्दा कलेजोको आकार बढेको र पेट वा छातीमा पानी जमेको हुन्छ। तसर्थ घरमा संक्रमित भै बसेको अवस्थामा ज्वरो घटेसंगै तारन्तार बान्ता हुने, असाध्य पेट दुख्ने, अति अलश्य हुने, रक्तश्राप आधी देखिएमा त्यो जटिल डेंगु हुनसक्ने र तुरुन्त अस्पताल जानु पर्दछ।
तर ४८ घण्टा पार गरे वा सो अवधिमा जटिलताहरु देखिएन भने बिरामीले स्वस्थ्यलाभ गर्दै जानेछ। तसर्थ डेंगु संक्रमितले घरमा बसिरहेको अवस्थामा माथि उल्लेखित जटिल डेंगुका लक्षणहरुलाई बेवास्ता गर्नुहुँदैन। र सँगसँगै चिकित्सकको सल्लाह र आवश्यकता अनुसार रगतको जाँच पनि गर्नुपर्ने उनीहरुको भनाई छ।