नेपालको संविधान (२०७२) को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा स्थापित गरिएको छ। संविधानको धारा ५१(ज)(१५) मा राज्यको नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था अनुरुप राष्ट्रिय स्वास्थ्य बीमा नीति,२०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति,२०७१ बमोजिम स्वास्थ्य बीमा कार्यक्रमको थालनी भएको छ।
स्वास्थ्य बीमा ऐन,२०७४ र स्वास्थ्य बीमा नियमावली,२०७५ जारी भई कार्यान्वयन भैराखेको छ। हाल स्वास्थ्य बीमा ७७ जिल्लामै बिस्तार भैसकेको छ। राष्ट्रिय स्वास्थ्य बीमा नीति,२०७१ ले नेपाली जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दीर्घकालीन लक्ष्य लिएकोछ। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैको लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको छ।
स्वास्थ्य सेवाको लागि पूर्व भुक्तानी प्राप्त गरि जोखिम न्युनिकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप बित्तिय संरक्षण प्रदान गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तरीयता, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनु नै यस कार्यक्रमको उदेश्य रहेको छ। नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम क्रमिक रुपमा जनताको मन मनमा बस्दै आएको छ। सुधार गर्नुपर्ने थुप्रै पक्षहरु भएता पनि जनताले केही राहत महसुस गरिराखेका छन्। सम्बन्धित सबै पक्षको भूमिकालाई चुस्त दुरुस्त बनाउदै जानुपर्ने छ। उदाहरणको लागि रुकुम पश्चिम जिल्लामा आ.व.२०७९/८० सम्म ४६.४६ प्रतिशत जनता स्वास्थ्य बीमा कार्यक्रममा आवद्व भएका छन् भने यस जिल्लामा ६ वटा सेवा प्रदायक संस्थाले सेवा प्रदान गरिराखेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमका थुप्रै चुनौतीहरु छन्। ति चुनौतीमध्ये हाल आएर एउटा चुनौती बिकराल रुपमा देखा पर्दैछ त्यो हो जनशक्तिको अभाव। स्वास्थ्य बीमा बोर्डको आफ्नै स्थायी दरबन्दी संरचना बनेको छैन, जनशक्ति नपुग छ। केही समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका स्थायी कर्मचारी स्वास्थ्यकर्मी कामकाजमा खटिरहेका छन्। स्वास्थ्य बीमा बोर्डले पर्याप्त जनशक्ति करार लिन नसकेको अबस्थामा यसरी कामकाजमा खटिराखेका स्वास्थ्यकर्मीहरुको योगदानलाई कम ठानिनु हुँदैन।
हाल आएर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत विभिन्न जिल्ला सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुको एकमुष्ट काज फिर्ताको रमाना हातमा पर्दा यो कार्य समय सान्दर्भिक भएन कि भन्ने हो अहिले कै जनशक्ति अपुग भैराखेको अवस्थामा कार्यरत जनशक्तिलाई एकमुष्ट बिदा गर्नुले स्वास्थ्य बीमा कार्याक्रमलाई प्रत्यक्ष असर पर्ने देखिन्छ। साथै स्वास्थ्यकर्मीबिहिन, करार कर्मचारीको भरमा सम्पूर्ण स्वास्थ्य बीमा कार्यक्रम सुम्पिनु कति उपयुक्त हुन्छ होला। जनशक्तिको उचित व्यवस्थापन हुन आवश्यक छ। तत्कालका लागि जनशक्ति व्यवस्थापनको विषयमा समयसान्दर्भिक, औचित्यपूर्ण आदेशका लागि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युलाई हार्दिक अनुरोध छ।
(लेखक स्वास्थ्य बीमा बोर्ड,जिल्ला सम्पर्क शाखा कार्यालय रुकुम पश्चिमका संयोजक हुन्।)