धनगढी- २०७६ सालमा जननिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्दै गर्दा टीकापुरस्थित धनसिंहपुर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवाप्रति आम नागरिक सन्तुष्ट थिएनन्।
स्वास्थ्य चौकीको सेवालाई लिएर स्थानीयले सुरुमै गुनासो गरेका थिए। जब समायोजनमा परेर त्यही वर्ष केबलसिंह सार्की स्वास्थ्य चौकीको प्रमुख भएर आए, त्यसपछि भने परिवर्तनका संकेतहरु देखा पर्न थाले।
अहिले स्थानीय वडाका मात्रै होइन, अन्य ठाउँका समेत सेवा लिन त्यहाँ पुगिरहेका हुन्छन्। आर्थिक वर्ष २०७९÷८० को मूल्यांकनमा न्यूनतम सेवा मापदण्ड, सुशासन, व्यवस्थापन तथा सम्पूर्ण सेवाको एकीकृत मूल्यांकनमा ८५ दशमलब चार प्रतिशतबाट सुधार गर्दै ९२ प्रतिशत अंक प्राप्त गरी धनसिंहपुर स्वास्थ्य चौकी नगरकै उत्कृष्ट चौकी घोषित भएको छ।
सार्की सम्झिन्छन्, ‘मैले कार्यभार सम्हाल्दै गर्दा स्वास्थ्य चौकीप्रति नागरिकको विश्वास थिएन। सेवा केही पाइँदैन भनेर अन्य अस्पतालमा सेवा लिन जान्थे। अहिले बाहिरबाट पनि सेवाग्राही यहाँ आउँछन्।’
उनले काम सुरु गर्दा सो समयमा चौकीमा पोषण, खोप लगायतका स्वास्थ्य सूचकांक सन्तोषजनक पाएनन्। उनले काम त्यहीँबाट थाले। स्वास्थ्य चौकीलाई नमुना बनाउन उनले सरोकारवालाहरुसँग निरन्तर संवाद गरे। आफ्ना उपाय उनीहरुमाझ राखे र उनीहरुको सल्लाह लिए। स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, चौकीमा रहेका उपकरणहरुको सदुपयोग लगायतमा उनले काम गरे।
स्वास्थ्य चौकीलाई नमुना घोषणा गर्न नगरपालिकाले मापदण्ड तयार गरेको थियो। पूर्ण संस्थागत सुत्केरी हुनुपर्ने, खोपको पहुँच शतप्रतिशत हुनुपर्ने, वडामा पोषणको अवस्था सुधार भएको हुनुपर्ने, वडाको कुल बजेटको २५ प्रतिशत स्वास्थ्यमा लगानी हुनुपर्ने लगायत थिए।
स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा, अल्ट्रासाउण्ड, बर्थिङ सेन्टरसँगै आधारभूत सेवाहरु प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य चौकीमा सो वडाका मात्र नभई जानकी, जोशीपुर, लम्की, नेपालगञ्ज, बाँके, बर्दियासँगै भारतका विभिन्न स्थानका मानिस पनि सेवा लिन आउने गरेको सार्कीले बताए।
नसर्ने रोगमा केन्द्रित अभियान
सुदूरपश्चिमको तराई क्षेत्रमा पर्छ टीकापुर। जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोगको प्रकोप यहाँ पनि बढ्दै गइरहेको सार्कीले यसअघि टीकापुर अस्पतालमा काम गर्दा नै बुझिसकेका थिए। त्यसैले यहाँ आइपुगेपछि उनले आधारभूत सेवासँगै जनचेतना र विशेष अभियानतिर जोड गरे।
एक वर्षअघि धनसिंहपुर स्वास्थ्य चौकीले आयोजना गरेको ३० वर्षमाथि उमेर समूहका व्यक्तिहरुमा नसर्ने रोग पहिचानको लागि समुदायस्तरमा अभियान चलाएको थियो। टीकापुर नगरपालिका वडा नम्बर ८ का जितराम चौधरी त्यही अभियानबाट आफू लाभान्वित भएर स्वास्थ्य लाभ लिइरहेको बताउँछन्। मोटोपनाको समस्या र त्यसले पार्ने असर बुझेपछि आफू अहिले तौल घटाउन सक्रिय रहेको बताउँछन्।
‘उचाई अनुसारको तौल नमिलेपछि खानपान र व्यवहारमा परिवर्तन गर्न सुझाव पाएँ। नियमित व्यायम तथा खानपानमा सुधार गरेपछि अहिले सुधार हुँदै गएको छ,’ उनले भने, ‘अहिले बिहान उठ्छु। ब्याडमिन्टन खेल्छु। व्यायाम गर्छु। पहिलेको जसरी मदिरा सेवन तथा मासुजन्य पदार्थ खानामा नियन्त्रण गरेको छु।’
धनसिंहपुर स्वास्थ्य चौकीले वडामा रहेका ३० वर्षमाथि उमेर समूहका व्यक्तिहरुमा नसर्ने रोग पहिचानका लागि स्क्रिनिङ, परामर्श र नियमित परीक्षणका साथै उपचार विधिहरु अपनाउन सुझाव दिँदै आएको छ। वडामा नसर्ने रोगका बिरामीको संख्यामा कमी ल्याउन स्वास्थ्य चौकीले नियमित स्क्रिनिङ गरी नसर्ने रोगका बिरामी पहिचान गर्ने काम गरिरहेको स्वास्थ्य चौकी प्रमुख सार्कीले बताए।
त्यहीँका स्थानीय भीमसिंह विकलाई पनि सोही अभियानका क्रममा परीक्षण गर्दा मोटोपनासँगै उच्च रक्तचाप देखा पर्यो। उनले भने, ‘उच्च रक्तचाप र मोटोपनाको समस्यालाई कम गर्न ध्यान (योग), शारीरिक अभ्याससँगै खानाका परिकारमा सुधार गर्दै गएको छु। स्वास्थ्य चौकीले नसर्ने रोगका बिरामी पहिचान गर्ने काम राम्रो गरिरहेको छ। यसले निरन्तरता पाउनुपर्छ।’
विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, जीवनशैलीमा आएको परिवर्तनसँगै नसर्ने रोग, दुर्घटना तथा मानसिक रोगमा व्यापक वृद्धि भइरहेकाले ग्रामीण तहमा काम गर्ने आफूहरुले त्यतातिर केन्द्रित हुन जरुरी रहेको सार्की बताउँछन्।
सर्ने रोगको नियन्त्रण खोप तथा अन्य उपायबाट गरिने भए पनि नसर्ने रोगको नियन्त्रणका लागि स्वयं व्यक्तिको व्यवहारमा भर पर्ने भएकाले आफूले अभियान चलाइरहेको उनले बताए।
परीक्षण र जीवनशैली परिवर्तनका लागि प्रेरित
वडा भित्र रहेका ३० वर्षभन्दा माथिका व्यक्तिहरुमा नसर्ने रोगको जोखिम बढ्दै गएको बुझेपछि त्यसको पहिचान गर्न वडामै स्क्रिनिङ सुरु गरिएको सार्कीले बताए।
उनले भने, ‘स्क्रिनिङ गर्दा ३० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिमा उच्च रक्तचाप, मधुमेह, मोटोपना लगायतका समस्याहरु देखिएका छन्,’ सार्कीले भने, ‘पछिल्लो समय वडामा नसर्ने रोगका बिरामीको संख्या बढ्ने क्रम रहेको छ। यसको नियन्त्रणका लागि वडामा स्क्रिनिङ गर्दै स्वस्थ खानपान तथा स्वस्थ जीवनशैलीका बारेमा उनीहरुमा परामर्श, उपचार तथा नियमित परीक्षण गर्ने काम गरिरहेका छौँ।’
उक्त परीक्षणले समस्याको पहिचान मात्रै गरेन, स्थानीयलाई जीवनशैली परिवर्तन गर्न समेत प्रेरित गर्यो। उनले भने, ‘अहिले नसर्ने रोगका समस्या देखिएका व्यक्तिहरुले स्वस्थकर खाना, मासुजन्य पदार्थ खानमा कमी, नियमित व्यायाम, योग, बिहानै आन्तरिक खेलहरु खेल्ने लगायतका काम गरिरहेका छन्। यसका कारण उनीहरुको स्वास्थ्यमा पनि सुधार भइरहेको छ।’ उनलाई अहिले टोलका मानिसहरुले आफूले गरिरहेको शारीरिक अभ्यासका बारेमा जानकारी दिने गरेका छन्।
नसर्ने रोगका कारण कतिपयले मानसिक समस्या समेत झेलिरहेको उनले पाएका छन्। सार्कीले भने, ‘मदिरा सेवन, धूमपान तथा अस्वस्थकर खानपिनका कारण मानिसमा समयमै निद्रा नलाग्ने, बिहान अबेरसम्म सुत्ने, मानसिक असन्तुलन हुने लगायतका समस्या देखिने गरेको छ। त्यसैले स्वास्थ्य चौकीबाट हामीले त्यहाँ आउने बिरामीको उपचारसँगै परामर्श दिने गरेका छौँ।’
उनले नसर्ने रोगको निदानका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनीतिक दल, स्वयंसेवक, ज्येष्ठ नागरिक, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल तथा अन्तक्र्रिया समेत गरिरहेका हुन्छन्। उनले भने, ‘नसर्ने रोगका बारेमा सरोकारवालाहरु सबैलाई जानकारी गराएपछि काम गर्न सहज भइरहेको छ।’
सार्कीले २०७१ सालदेखि स्वास्थ्य सेवा सुरु गरेका हुन्। बैतडीको मल्लेखस्थित जोशीढुङ्गा स्वास्थ्य चौकीबाट सेवा प्रारम्भ गरेका सार्की २०७३ सालमा टीकापुर अस्पताल पुगे। त्यहाँ उनले आकस्मिक कक्षको इन्चार्जको जिम्मेवारी निर्वाह गरे। त्यो समयमा पनि उनले दिने सेवालाई आमजनले प्रशंसा नै गर्थे। २०७३ देखि २०७६ सम्म तीन वर्ष त्यहाँ काम गरे। स्थानीय तहमा समायोजन भएपछि धनसिंहपुर स्वास्थ्य चौकी प्रमुख भएर आएका हुन्।
स्वास्थ्य चौकीको जिम्मेवारी सम्हालेपछि उनी नमुना स्वास्थ्य चौकीको अवधारणा सहित अघि बढे। सुदूरपश्चिमको तराईमा रहेको यो क्षेत्रमा नसर्ने रोगको समस्या बढ्दो रहेको उनले टीकापुर अस्पताल हुँदै महसुस गरेका गिए। त्यसैले आफू प्रमुख भएको स्वास्थ्य संस्थाबाट उनले यसको नियन्त्रणका लागि विभिन्न प्रयास गरेका छन्।
स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवामा गुणस्तर ल्याउन सरोकारवालाहरुसँग जनस्वास्थ्यका विषयमा छलफल र समन्वय गरी स्वास्थ्य प्रवद्र्धनमा सबैको सहयोग लिँदै सार्की अघि बढे।
कुषोषणमा कमी ल्याउन सुनौला हजार दिन पोषण प्रवर्धन कार्यक्रम सुरुवात स्वास्थ्य चौकीले गर्नुका साथै कृषि, विद्यालय, किशोर–किशोरी, स्थानीय सरोकारवालाहरुसँग पोषण र स्वास्थ्यका बारेमा अन्तर्क्रिया गर्दै स्वास्थ्य र पोषण प्रवर्धनका लागि गरिएको प्रयास सफल बन्दै गएको छ।
000
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा केबलको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।