सानो छँदा नेपालकै वरिष्ठ डाक्टरलाई देखेर एउटा लक्ष्य बनाएँ- म पनि यस्तै बन्नुपर्छ, उहाँ जसरी नै सेवा गरेर आफ्नो नाम ठूलो बनाउनुपर्छ। त्यतिबेला म २ कक्षामा पढ्थेँ। मेरो आमा बाबा पनि स्वास्थ्य क्षेत्रकै भएकाले होला सानो हुँदादेखि नै म आमा बाबासँग स्वास्थ्यचौकी गएर उहाँहरुले बिरामी हेर्दा छेउमा बसेर हेर्ने गर्थें। कति बिरामीहरु त अहिले पनि याद छ। अहिले सोच्दा त यो समय करिब १९ वर्ष पहिलेको रहेछ। त्यो बेला समाजमा डाक्टरहरुलाई धेरै सम्मान थियो र भगवानकै अर्को रुप जसरी हेर्ने गरिन्थ्यो। यो सबै देख्दै गर्दा मेरो लक्ष्यमा झन् उर्जा थपिन्थो। आफ्नो लक्ष्य गाउँमा बेला बेला सुनाउँथे अनि सबैले झन् प्रेरणा दिनुहुन्थो। जसले गर्दा मेरो हिम्मत कहिले पनि कम भएन। लक्ष्यमा कुनै अर्को विकल्प राखिन।
अहिले एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर दाइदिदीहरुसँग राम्रो कुराकानी गर्ने मैका पाएँ। भाई नेपाल नै बस भन्ने थोरै भेटाएँ। 'बरु नेपालमा बसेर गल्ति गरेछु, नेपालमा न त सम्मान छ, न पढाई अनुसार कै तलब छ, न भौतिक सुरक्षा छ, न त स्वास्थ्य सुरक्षा नै। अर्को कुरा नेपालमा उन्नति प्रगति हुन नि राजनीतिक आड चाहिन्छ' भन्ने धेरै छन्।
एमबीबीएस सकाउँदा २६/२७ वर्षको उमेर हुने। अनि फेरि ३ वर्ष मास्टर गर्न अनि फेरि सरकारको लागि २ वर्ष काम गर्नुपर्ने। अनि फेरि ३ वर्ष डिम अथवा एमसिएच गर्ने पर्ने अनि फेरि २ वर्ष सरकारलाई काम गर्नुपर्ने। यो सबै तिमिले ५० हजारको स्केलमा गर्नुपर्छ। त्यतिबेलासम्म तिम्रो उमेर ४० वर्ष पुगिसकेको हुन्छ। तिम्रो ५० हजार महिनाको तलबले कसरी अबको १५ वर्ष थाम्न सक्छौ? आफूलाई नै पुग्दैन कसरी परिवार पाल्छौ? यो त तलबको मात्र कुरा भयो।
अब आउँछ स्वास्थ सुरक्षाको। तिमी बिरामी भए क्याम्पस पढ्दा त क्याम्पसले नै उपचार गर्न सहयोग गर्छ। आफ्नो पढाई नहुँदा कसले हेर्छ त भन न? सरकार लाचार छ। अझ झन ठूलो कुरा त बिरामीलाई केही भयो भने नि कुटपिट गरिहाल्छन्। कमसेकम कानून त राम्रो छ विदेशमा। सबै छ त्यही परिवार हुँदैन भन्ने हो त्यो नि बेला बेला बिदा लिएर आउँदा हुन्छ। झन नेपालमा त बिदा नि पाइँदैन। यस्तै यस्तै कुराहरु अहिले सुनिरहेको छू।
कोही दाईदिदिहरुले फेरि नेपालमा बस्दा गौरव गर्नुहुन्छ र नेपालमै बस्न प्रेरणा दिनुहुन्छ। हुन पनि हो 'हिमालको उचाईमा पुगेपनि तराई बिर्सनु हुँदैन'। आफू कुन ठाउँबाट आएको हो यदि सुधार गर्न छ भने त सुधार गर्नुपर्यो नि हैन र? सबै पढेलेखेका विदेश गएपछि परिवर्तन कसले ल्याउछ त? हामीबाट सुरु गर्नपर्छ विस्तारै सबै राम्रो भइहाल्छ नि। आफ्नो देशमा काम गर्नुको सान नै बग्लै हुन्छ नि। पैसा त भइहाल्छ नि हेर त उहाँले कति कमाउनु भएको छ। तर समय लाग्छ। बाबु आमा पनि सोध त के भन्नुहुन्छ। नेपाल मै बस भन्नुहुन्छ नि हैन र? सबैको लगि विदेश पनि त राम्रो हुँदैन। देखेको छौ नि कति त केही समयपछि नेपाल फर्किने गर्छन्। तर मुटु माथि ढुङ्गा राखेर बाबा आमाले नेपाल बाहिर जा भन्नुहुन्छ।
मैले तत्कालीन डाटा हेर्दा बर्सेनी विदेश जाने नेपाली चिकित्सकको सङ्ख्या बढ्दो छ। फेरि बिडम्बना के भने यो सङ्ख्या जो जेहेन्दार छ जो मेहनेती छ जो छात्रवृत्तिमा पढेको छ त्यो समूहमै धेरै छ। नेपालको स्वास्थ्य क्षेत्र धरापमा देख्दै छु म। केही समयपछि त सबै रितिन्छ। यो कुरामा ढुक्क हुँदा हुन्छ। यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ। नेता त उपचार गर्न विदेश गइहाल्छन जनता कता जाने? नेपालमा छिट्टै नै राम्रो डाक्टरको खडेरी लाग्नेवाला छ। आशा छ म जस्तो अझै नि नेपालमै बस्ने सोच बनाएकाको मानसिकता परिवर्तन नहोस्। सरोकारवालाको यो विषयमा ध्यान जाओस्।