धनगढी- बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी छन्।
बाजुराको जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माएकी हुन्।
अस्पतालमा चिकित्सकले जाँच गर्दा बच्चा जन्मिने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने भनेपछि अस्पताललाई खबर नगरी घर फर्केकी सुनारले बाटोमै बच्चा जन्माएको खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले जानकारी दिए।
श्रीमान भारतमा भएकाले अप्रेसन भारतमै गएर गर्ने गरी फर्केकी सुनारले घर पुग्न नपाउँदै बीचबाटोमा बच्चा जन्माएको रावतले बताए।
घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० स्थित पानीभुवाको सडकमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताइन्।
बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएकी थिइन्। अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।
उज्जली मात्र नभइ केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीय भाग्य चदाराले पनि बाटोमा बच्चा जन्माएकी थिइन्। त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माएकी थिइन्। सुत्केरी ब्यथा लागेपछि तीन घण्टा टाढा रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माएकी थिइन्।
त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माएकी थिइन्।
स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही समय पहिला बाटोमा बच्चा जन्माएकी थिइन्। सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा बच्चा जन्माएको स्थानीय बलबहादुर विकले बताए।