चितवन- मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ। अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो।
यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन्। अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ। '८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो। भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ। भवनका लागि मात्रै अस्पतालले रू ६० करोड लगानी गरेको छ', उनले भने। भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए।
अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय शय्या छन्। भविष्यमा थप ५० शय्या बढाउने योजना रहेको उनले बताए। 'हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ शय्याको बाल सघन उपचार कक्ष, १० शय्याको सघन उपचार कक्ष, १० शय्याको पोष्टअप सञ्चालनमा छन्', उनले भने।
दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए। अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनको भनाइ थियो। केही दिनमै पाँच शय्याको डायलाइसिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए।
रू एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी रू ८५ करोड रहेको छ। विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो।