काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु भएका ८ जनामध्ये एक जनाको सनाखत भएको छ।
सनाखत हुनेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी रहेका छन्। अन्य सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये ६ जना पुरुष र ८ जना महिला रहेका छन्।
घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। जसमध्ये एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त पौडेलको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
अन्यको भने प्राथमिक स्वास्थ्य केन्द्र धादिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यहाँ उपचाररतमध्ये ६ जनाको काठमाडौंमा रेफर गरिएको छ। प्रहरीका अनुसार मध्यम अवस्थाका चालक म्याग्दीको बेनी नगरपालिका–३ का ३० वर्षीय दीपक थापालाई काठमाडौं रेफर गरिएको छ। उनको टाउकोमा चोट लागेको छ।
यस्तै बेनी नगरपालिका–३ का ३४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारी, नामथर र ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षीया महिला, अर्का ३० देखि ३५ वर्ष उमेरका दुई जना पुरुषको पनि काठमाडौं रेफर गरिएको छ।
यस्तै गजुरी अस्पतालमा उपचाररतमध्ये ६ जनालाई पनि काठमाडौं रेफर गरिएको छ। जसमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ की १६ वर्षीया गीता जंजालीमगर, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला पौडेल, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु रानामगर, रघुगंगा गाउँपालिका–७ का १९ वर्षीय प्रविन पुन, एक जना बंगलादेशी नागरिक ३२ वर्षीय मोहमद हजिरहुल, रघुगंगा–६ की २३ वर्षीया रिना रानामगर रहेका छन्।
बाग्लुङको गलकोटकी ६८ वर्षीय ज्ञानु बुढामगरको भने आँखामा सामान्य चोट लागेको थियो। सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।
सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको हो। बसमा २३ जना यात्रु सवार रहेका थिए।