काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गुजरातमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सासम्बन्धी डब्लुएचओ विश्वव्यापी सिखर सम्मेलन, क्षयरोगसम्बन्धी सम्मेलन र ‘वान हेल्थ वान अर्थ’सम्बन्धी प्रदर्शनीमा सहभागी भई जनाइ मन्त्री बस्नेत आज नेपाल फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतका स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया नेतृत्वको टोली र नेपाली प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको जानकारी दिए। वार्तामा नेपालका विभिन्न अस्पतालको स्तरोन्नति र आयुर्वेद चिकित्साको विकासका लागि भारतीय सरकारको सहयोगको प्रस्ताव गरिएको थियो।
उनले विशेषत भारतका स्वास्थ्यमन्त्री डा मण्डावीयाको नेतृत्वको टोलीसँग द्विपक्षीय वार्तामा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रको संरचना एवं सेवा विस्तार र नारायणी अस्पतालमा विशेषज्ञ सेवाका लागि सहयोग गर्न आग्रह गरेका थिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारतीय प्राध्यापकले अध्यापन र विशेषज्ञ सेवामा सहयोग पुर्याउने विषयमा वार्तामा छलफल भएको थियो। वार्तामा टेलिमेडिसिनसम्बन्धी सम्झौता नवीकरण, औषधिको दर्ता र आयात निर्यात सम्बन्धमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए।
भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मूलनमा नेपालको प्रतिबद्वता जनाएक थिए। उनले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षीय अनुभव आदानप्रदान जानकारी दिए। मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा शाह अब्दुल्लाह माहिरसँग नेपालमा चिकित्सा र नर्सिङ अध्ययनका लागि सम्झौतापत्र नवीकरण गर्नेबारे छलफल भएको मन्त्री बस्नेतले बताए।
उनले भ्रमणका क्रममा भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन तथा भ्रमण गरेका थिए।