काठमाडौं- भक्तपुरको बाल सुधार गृहबाट भागेका १७० जनालाई प्रहरीले पुनस् पक्राउ गरेको छ। सुधार गृहमा जम्मा २९७ जना रहेकोमा २२६ जना बालबालिका भागेका थिए। भक्तपुर प्रहरी परिसरका अनुसार ७६ जना बालबालिका भने भागेका थिएनन्।
भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
भागेकामध्ये ८७ जनालाई काठमाडौंबाट र ८३ जनालाई भक्तपुरबाट नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। अझै ५१ जना बालबालिका हराइरहेका छन्। उनीहरू उपत्यकाका तीनवटै जिल्लाबाट प्रहरी परिचालन भई खोजी जारी छ।
सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट बालबालिकाहरू भागेका थिए। रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमी मृत्यु भएपछि आइतबार दिनभर सुधारगृहमा तनाब भएको थियो।
मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेका थिए। उक्त प्रदर्शनमा सुधार गृहमा रहेका बालबालिकाहरूले पनि साथ दिएका थिए। सोमबार बालबालिकाहरूले ढोका तोडफोड गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाएको थियो।